कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ऋण बोक्दै भूकम्पपीडित

अनिश तिवारी

सिन्धुपाल्चोक — नयाँ घरमा बस्ने हतारोमा लागेका भोटेकोसी गाउँपालिका लिस्तीकोट सिंगेरीका शुकवीर विक कसरी ऋण तिर्ने अन्योलमा छन् । सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन नसकेका उनलाई झ्यालसम्मको संरचनामा आइपुग्दासम्म ३४ प्रतिशत ऋणको ब्याजले लगातार थिच्दै गएको छ । 

‘घर त बनाउनु नै पर्‍यो तर अझै बाँकी ३ लाख ऋण कसरी तिर्ने आत्तिन थालेको छु,’ विकले बन्दै गरेको घर देखाएर दुःखेसो गरे । आवास अनुदानको पूरा किस्ता लिँदासमेत आवास बनाउन हम्मे परेको उनले सुनाए ।


भोटेकोसी–१ लिस्तीकोट पाउँगुम्बाका कामी शेर्पा छिमेकी र साहुबाट गरी सय कडा २ अर्थात् २४ प्रतिशत ब्याजको ऋण लिन बाध्य भए । ‘हामीजस्तालाई बैंक सहकारीले जग्गा धितो राख्दा पनि पत्याउँदैनन्, चर्को ब्याजमा ऋण नलिए घर कसरी बनाउनु ?,’ शेर्पाले प्रश्न गरे ।


पाँचपोखरी थाङपाल गाउँपालिका थाङपालधापकी सुनीता तामाङ यस्तै मारमा परिरहेको सुनाउँछिन् । ‘सरकारले अनुदान दिएकै हो, तर हामीजस्ता गरिबका लागि घर बनाउनु युद्ध बराबरकै काम भएको छ,’ आवास सम्पन्नको तरखरमा रहेकी उनले घर देखाएर भनिन् । बैंकबाट जग्गा धितो राखेर र सापटी लिएर चारकोठे घर बनाउन झन्डै सात लाख खर्चिएको उनको भनाइ छ ।


जिल्लाका ग्रामीण भेगका अधिकांश भूकम्पपीडितले ऋण लिएर पुनर्निर्माणलाई तीव्रता दिइरहेको पाइएको गाउँमा पुगेका इन्जिनियर बताउँछन् । सरकारी मापदण्डको अन्योलताबीच चटारोमा रहेका भूकम्पपीडित महँगीको कारण क्रमशः ऋणमा डुबिरहेका छन् । ‘ऋण नपाउनुको समस्या एकतर्फ छ, अर्को चर्को ब्याज र ऋण तिर्नुको मार । आवास पुनर्निर्माणमा यस्ता समस्या पनि देखिएका छन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने ।


त्यति बेला ध्वस्त आवास तीन नगरदेखि नौ गाउँपालिकाले सडक सञ्जालमा वडालाई जोडिदिएपछि अहिले पुनर्निर्माणले एकैसाथ फड्को मारेको निरौलाले बताए । पहिरोको जोखिममा भएका केही स्थानबाहेक अन्यत्र पुनर्निर्माणले गति लिइरहेको उनको भनाइ छ ।


अहिलेसम्म पहिचान गरिएका ८८ हजार दुई सय ४९ भूकम्पपीडितमा ८५ हजार ५ सय २३ ले सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् । भने ७९ हजार ३ सय ३८ ले दोस्रो र ६१ हजार चार सय २५ जनाले तेस्रो किस्ता पाइसकेका छन् ।


तत्कालीन जिल्ला दैवीप्रकोप उद्धार समितिको अध्ययनले (९५ प्रतिशत) ६६ हजार घर भत्काएको देखाएको छ । भूकम्पले जिल्ला ध्वस्त बनाउँदा ३ हजार ५ सय ७० ले ज्यान गुमाएका थिए ।


छुटेको गुनासो संकलन हुँदै

अहिले ७ हजार ८ सय ९२ परिवारको गुनासोको सर्वेक्षण विवरण संकलन भइरहेको जिल्ला आयोजना कार्यान्वय इकाई भवनले जनाएको छ ।


‘प्रत्येक नगर र गाउँपालिकामा तीन प्राविधिक इन्जिनियर खट्दै छन्,’ उनले भने । तीन नगरदेखि नौ गाउँपालिकाको प्रत्येक वडास्तरीय गुनासो सुनुवाइ समितिसँग समन्वय गरेर गुनासो जम्मा गरिरहेको उनको भनाइ छ । बजारभन्दा गाउँ क्षेत्रमा भूकम्पपीडितले ऋण गरेर भए पनि आवास ठड्याइसकेको पाइएको अनुगमनमा पुगेका प्राविधिक बताएका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?