छोराको पर्खाइमा ४ वर्ष

लीला श्रेष्ठ

भक्तपुर — ‘ऊ सधैं मेरो सपनामा आउँछ, हामी यहीं घर बनाउनुपर्छ आमा, यही ठाउँ राम्रो छ भन्छ’ कापेको स्वरमा उनी बताउँछिन् । ‘मरेको भए किन यस्तो भन्ने थियो होला ?’ सूर्यविनायक नगरपालिका ४ दधिकोटकी ५१ वर्षीय मञ्जु खड्कालाई लाग्छ भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोमा हराएका उनको छोरा सबिन खड्का फर्केर आउँछन् ।

भूकम्पका कारण लाङटाङमा आएको हिमपहिरोमा बेपत्ता भक्तपुरको सूर्यविनायक ४, दधिकोटस्थित सहसेनानी सबिन खड्काको घर र आमाबुबा । तस्बिर : लीला/कान्तिपुर 

सपनामा आफ्नो छोरा घर आएको देखेर मञ्जुले विपनामा छोरो घर आउने बाटोमा आँखा तन्काएको चार वर्ष भयो तर, अहिलेसम्म न त सबिन घर आएका छन् न त उनको कुनै खबर नै ।

२०७२ वैशाख १२ गते भूकम्प आउँदा नेपाली सेनाका सहसेनानी सबिनखड्का रसुवाको लाङटाङमा ड्युटीमा खटिएका थिए । भूकम्पले लाङटाङमा हिमपहिरो आएपछि उनको अत्तोपत्तो छैन । हिमपहिरोले सेना बस्ने ठाउँ नै बगाएको थियो । सबिनसहित १०
जना सैनिक हराइरहेका छन् ।

‘खाना त रुच्दैन तर पनि म कर बलले खान्छु, छोरा फर्केर आउने बेलासम्म म बाँच्नुपर्छ’ मञ्जु आशा व्यक्त गर्छिन्, ‘चिना देखाउँदा ज्योतिषीले उसलाई केही भएको छैन, त्यहाँबाट बाहिर निस्केर अन्त पुगेको छ भन्छन्, ऊ जुन घरबाट गएको हो, त्यहाँ आउँछ भनेका छन् ।’ चार वर्षदेखि उनको घरमा चाडपर्व समेत मानिएको छैन् ।

जाने सुनेका सयौं ज्योतिषीसँग पुगेकी मञ्जुलाई तिनै ज्योतिषीले बताएको भविष्य नै बाँच्ने आधार बनेको छ । आमा मञ्जुलाई ज्योतिषीले छोरा उत्तरी क्षेत्रमा पुगेको छ भनेकोले खोज्न पाए भेटिन्थ्यो जस्तो लाग्छ तर, खोजी गर्ने निकायले आज,भोली भन्दा भन्दै चार वर्ष बितिसक्यो ।

एक मात्र सन्तान सबिन हराएपछि मञ्जुमात्र होइन, बुबा देवराज खड्का उत्तिकै पीडामा छन् । आफ्नो क्षमताले भ्याएको जति प्रयास गर्दा पनि छोराको खबर नपाएपछि निराश भएका देवराज डिप्रेसनको सिकार भएका छन् । उनलाई मुटु, कलेजोको समस्याले समेत गाँजेको छ । डेढवर्ष अघि सवारी दुर्घटनाले दुवै खुट्टामा गहिरो चोट लागेका देवराजलाई ठमठम हिंड्न सक्दैनन् । देवराज मद्यपानको सहायतामा छोरा सबिनलाई भुल्ने प्रयत्न गर्छन् । उनको मद्यपान नैमञ्जुको थप पीडा बनेको छ ।

‘मेरो सहारा भनेको नै त्यही एउटा छोरा हो, अर्को सन्तान भएको भएपनि म चित्त बुझाउँथे होला,’ आँसु पुच्छै मञ्जुले भनिन्, ‘भगवानले हामीलाई साथ दिएर नै छोराको राम्रो भएको थियो, मैले अझै आशा मारेकी छैन ।’ बुबा, आमाको करले छोरा सेनामा भर्ति भएका हुन् । सबिन २०७२ को शिवरात्रिमा घरबाट निस्केका थिए । मञ्जुले छोरासँग अन्तिम पटक वैशाख ७ गते कुराकानी गरेकी थिइन् । ‘टावर ढलेको छ ममी, मेरो मोबाइल पनि बिग्रेको छ भन्थे,’ चार वर्षअघि छोरासँग भएको फोन संवाद सम्झिँदा उनको गला अवरुद्ध हुन्छ ।

भूकम्पले सबिनको घर भत्किएको छ । सेनाको सहयोगमा भग्नावशेष हटाएर जस्ताले बारबेर गर्दै बसोबास गरिहेका छन् । बाटोको समस्याले क्षतिग्रस्त घर पुनर्निर्माण गर्न गर्न नसकेको बुबा देवराज बताउँछन् । ‘नक्सामा १८ फिटे बाटो छ, पटक/पटक बाटोको माग गर्दै नगरपालिका धायौं अझै ट्रयाक खोल्न सकेको छैन,’ उनले भने,‘सडक अभावकै कारण निर्माण सामग्री ओसारपसारमा समस्या छ ।’ ‘सबैको यस्तै हो, अरूका छोरा आएर हाम्रो उद्धार गरे, हाम्रो छोरा पनि कसैको उद्धारमा होला भन्ने ठानेर हामीले छोरालाई फोन पनि गरेनौं’ देवराज भने, ‘हामीले हाम्रो छोरा हराएको त १५ गतेमात्र थाहा पायौं ।’

छोराको पर्खाइमा मञ्जुले डोलेश्वर महादेव, अनन्तलिंगेश्वर महादेव मन्दिरमा करिब २ वर्ष अखण्ड दीप बालिन् । अहिले घरमै छोराको फोटो राखेर साँझ/बिहान दियोमा बत्ती बाल्छिन् ।

झस्किन्छिन् सविना
हेटौंडा (कास)– राति सुतेको अवस्थामा उनी सधैं आयो, आयो भनेर चिच्याउँदै उठ्छिन् । थुमथुमाएर आमाले सुताउने गर्छिन् । दिउँसै एक्लै हिँड्न पनि डराउँछिन् । कक्षाकोठामा पनि उनी बेला, बेलामा आत्तिएर रुने गर्छिन् । उनी सुस्तरी सोध्छिन्, ‘मलाई किन यस्तो हुन्छ ?’ महाभूकम्पले भत्केको घरले पुरेर २० घण्टापछि उद्धार गरिएकी थाहा नगरपालिका १२ मानडाँडाकी ११ वर्षीया सविना घलानलाई भूकम्पको त्रासले अहिले पनि छोडेको छैन ।

चञ्चले स्वभावकी घलान भूकम्पपछि एक्लै बस्न मन पराउँछिन् । धेरै बोल्दै बोल्दिनन् । बेलाबेलामा एक्कासि झस्किने गर्छिन् । आमा शान्तिमायालाई छोड्न चाहन्नन् । २० घण्टापश्चात् उद्धार गरेपछि उपचारको निम्ति उनलाई स्थानीय युवक अवतार लामाले काठमाडौं लगेका थिए । एक सातापछि उपचार गरेर उनलार्ई घर ल्याइएको थियो । उनको देब्रे हातको औंला दोब्रिएको थियो ।

देब्रे खुट्टाको कट्टी, टाउको र निधारमा ठूलो चोट लागेको थियो । निधार र टाउकोको घाउ निको भएर खत बसिसकेको छ भने देब्रे खुट्टाले राम्रोसँग टेक्न हुँदैन । बिस्तार हिँड्ने गरेकी छन् भने सानो स्वरमा आतिएको जसरी बोल्ने गर्छिन् । ‘घरले थिचेपछि छोरीको सातो नै गएको छ,’ आमा शान्तमायाले भनिन्, ‘कोहीसँग बोल्न मान्दिनँ, सधैं डराएको जस्तो देखिन्छे ।’

वैशाख १२ गतेको भूकम्पले छिमेकी कालु घलानको घर भत्केर उनलाई पुरेको थियो । घरको आँगनमा खेलिरहेको अवस्थामा घर भत्केर पुरेको हो । स्थानीय प्रशासनले घलानलाई मृतकको सूचीमा राखेको थियो । भत्केको घरमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयवासीले वैशाख १३ गते सावधानीपूर्वक भग्नावशेषहरू पन्छाएर उनको उद्धार गरेको थियो । आर्थिक अभावले गर्दा राम्रोसँग उपचार नपाएकाले बालिका ठमठम हिँड्न सक्दिनन् ।

काउन्सिलिङको अभावमा भूकम्पको त्रासले उनलाई छोडेकै छैन । देब्रे खुट्टाले टेक्न नसकेकाले सुरुमा दिदीले बोकेर उनलाई स्कुल लैजाने–ल्याउने गर्थिन् । विगत २ वर्षदेखि आफैं विस्तारै स्कुल आउजाउ गर्न थालेकी थिइन् । फेरि अहिले खुट्टाको घाउ बल्झेर उपचारका लागि उनलाई वैशाख २ गते काठमाडौं लगिएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

शुल्क वृद्धिको निर्णय फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले गत चैत २६ गते अनधिकृत रूपमा बढाएको निजी विद्यालयको शुल्क वृद्धिलाई खारेज गरेको छ । मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगर बैठकले खारेजीको निर्णय गरेको हो । 

अभिभावक महासंघ, विभिन्न निकायले कानुनी आधारविना शुल्क बढाइएप्रति आपत्ति जनाएपछि साबिक शुल्कमात्र लागू गर्ने महानगरपालिकाले निर्णय गरेको छ । ‘महानगरमा रहेका निजी विद्यालयहरूको शुल्क बृद्धि कार्यकारी परिषदले मात्र निर्णय गर्न सक्छ,’ वडा नं.१६ का अध्यक्ष मुकुन्द रिजालले भने, ‘महानगरको शिक्षा ऐन, नियमावलीविपरीत कार्यपालिकालाई छलेर भएको शुल्क वृद्धिको निर्णय खारेज गरिएको छ । साबिककै लागू हुनेछ । कुनै विद्यालयले बढाएको भए अभिभावकलाई बढेको
शुल्क फिर्ता गर्नुपर्नेछ ।’

यसअघि महानगर शिक्षा समिति र निजी विद्यालय संगठन प्रतिनिधिहरूले करिब २७ प्रतिशत शुल्क बढाउने निर्णय गरेका थिए । गत चैतमा ‘क’ श्रेणी विद्यालयले १ देखि ५ कक्षा २ हजार ८ सय १२ रुपैयाँ शुल्क तोकिएको थियो ।

त्यसैगरी कक्षा ६ देखि ८ मा ३ हजार २ सय ५१ तथा कक्षा ९ र १० को शुल्क ४ हजार ३ सय ७३ रुपैयाँ कायम गरिएको थियो । उक्त शुल्क खारेजीपछि साबिक ‘क’ श्रेणीका विद्यालयले कक्षा १–५ मा २ हजार ३ सय ६३, कक्षा ५–८ ले २ हजार ७ सय तथा कक्षा ९ र १० मा ३ हजार ६ सय ७५रुपैयाँमात्र अशुल्न पाउने छन् ।

‘अधिकांश निजी विद्यालयले शुल्क बढाइसकेका छन्,’ अभिभभावक महासंघका संयोजक सुप्रभात भण्डारीले भने, ‘त्यसैले बढाइएको शुल्क इमानदारीपूर्वक फिर्ता गरिनु पर्छ । अटेर गर्नेलाई महानगरले कारबाही गर्न जरुरी छ ।’ महानगरमात्र नभएर अन्य नगरपालिका र गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरूको अवस्थाबारे निगरानी र नियम गर्नआवश्यक रहेको बताए ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्