फलाम खानी चुनावी नारा मात्रै

टीकाप्रसाद भट्ट

रामेछाप — ठोसेमा पनि फलाम खानी थियो र ? धेरैले त्यस्तै आश्चर्य मानेर सोध्ने गर्छन् । चुनावमा तातो मसला हुने फलाम खानी चुनाव सकिनेबित्तिकै फेरि सेलाउँछ । अहिले ठोसे फलाम खानी सेलाएको छ । चर्चा छैन । कहिलेकाहीं फेरि सञ्चालन हुने खबर सुन्दा स्थानीय छक्क पर्न थालेका छन् । 

उत्तरी रामेछापको ठोसेमा मुलुककै दोस्रो ठूलो परिणाममा फलाम निकाल्न सकिने क्षमताको खानी थियो ।

फुलचोकीपछिको ठूलो फलाम खानी हो । खानीबाट निकालेको धाउ प्रशोधन गर्ने मेसिन थिए । प्रशोधित फलामबाट सामग्री निर्माण गर्ने उद्योगसमेत थियो ।


अहिले ती कथाजस्तै भएका छन् । त्यतिबेला धाउ निकाल्न खानीमा पस्नका लागि बनाइएका प्वाल ( सुरुङ) पुरिँदै गएका छन् । फलाम निर्माण गर्ने मेसिनका टुक्राका कतै अवशेष बाँकी छन् । ठोसेकै फलाम पिटेर स्थानीय मजदुरले कैयौं पुल बनाएका थिए । कतिपयले पुलमा प्रयोग भएका सामान लगेर कोदालो र फाली बनाए ।


निकाल्न सकिनेजति सबै निकालेर लगे । चुचुरेको शिवालय, ठोसे, खिम्तीखोलाको रस्नालु, दोलखाका विभिन्न स्थानमा ठोसेको फलाम प्रयोग गरेर बनाइएका झोलुंगे पुलले आवागमन सहज बनाएका थिए । आधुनिक पुल बनेपछि ती ओझेलमा परे तर ठोसे र शिवालयमा अझै फलामको साङ्लोको लट्ठो इतिहास बनेर रहेको छ ।


शारदा मावि ठोसेका पूर्वप्रअ भगवान् कार्कीले तत्कालीन अवस्थामा फलाम कारखानामा प्रयोग भएका मेसिन औजारका अवशेषलाई संग्रह गर्ने सोच अघि सारेका थिए । बजारमा यत्रतत्र छरिएका विभिन्न मेसिनका पार्टपुर्जालाई सँगालेर कार्कीले एकै थलोमा राखेका छन् । ‘त्यो ठोसेको पहिचान दिलाउने चिज हो,’ कार्कीले भने, ‘स्थानीय सरकारले संरक्षण गर्नुपर्छ ।’


ठोसे फलाम खानी पुनः सञ्चालनको कुरा पञ्चायतकालदेखि हरेक चुनावमा उठिरहेको छ । ‘पञ्चायत, बहुदल, लोकतन्त्र र गणतन्त्रका प्रायः सबै चुनावका नारा यही ठोसेको फलाम खानी हुन्थ्यो ,’ स्थानीय भुवनबहादुर कार्कीले भने, ‘पञ्चायातपछिका यतिका वर्षसम्म पनि चुनावी मुद्दा फलाम खानी हुँदै आएको छ ।


कार्कीका अनुसार राणा प्रधानमन्त्री जुद्धशमशेरका पालासम्म ठोसेमा फलाम कारखाना सञ्चालनमा थियो । ठोसेको म्याक्चेनमा रहेको उक्त उद्योगमा दैनिक १२ बोर बन्दुक बनाएर दिनको १२ बजे परीक्षणका लागि पडकाइन्थ्यो । परीक्षण सफल भएका बन्दुक भरियालाई बोकाएर राणा सरकारलाई बुझाउन काठमाडौं पठाइन्थ्यो । ठोसेमा बनेको बन्दुक नेपाल र भोटको युद्धमा प्रयोग भएको कार्की बताउँछन् ।


साबिक ठोसे गाविसका दर्जनभन्दा बढी स्थानमा फलामका खानी छन् । दांगरदिंगर, सिंगटी, टगम, आरुबोटे, लाप्चानेडाँडालगायतका खानीमा ठूलो परिमाणमा फलामको धाउ पाइने स्थानीयको दाबी छ । ठोसेको पानीमा फलामको धाउ बग्ने गर्छ । धाउकै कारण ठोसेमा पानी र जमिन भएपछि धान खेती हुँदैन ।


फलाम खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभागले केही वर्षदेखि कार्यक्रम सञ्चालन गरे पनि परीक्षणमै सीमित छ । गोकुलगंगा गाउँपालिका २ ठोसेका वडाध्यक्ष शेखरमान श्रेष्ठका अनुसार चालु आवमा पनि करिब ४७ लाख ठोसेको फलाम खानीको डीपीआर निर्माणका लागि केन्द्र सरकारले विनियोजन गरेको छ । ‘डीपीआर बनाउने काम भइरहेको होला,’ श्रेष्ठले भने, ‘स्थानीय सरकारको भने केही कार्यक्रम छैन ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?