कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

खर मजुर ५ वटा मात्र

प्रमिता ढकाल

भरतपुर — चितवन राष्ट्रिय निकुञ्जमा खर मजुर लोप हुने अवस्थामा पुगेको छ । नयाँ घाँसे मैदानमा बस्न रुचाउने खर मजुर बासस्थान अभाव हुन थालेपछि संरक्षणमा चुनौती थपिएको हो ।

सन् २०११ को गणनामा १२ को संख्यामा रेकर्ड गरिएको यो चरा प्रजाति अहिले मुस्किलले ५ वटा देखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताए । केही वर्ष अघिसम्म सौराहको पूर्वी सेक्टरमा सजिलै देख्न सकिने खर मजुर अहिले पश्चिमी भेगमा फाट्टफुट्ट देखा परेको छ ।


पछिल्लो समय सुकेभारको हर्राबास, सुरुङखोला तथा नवलपुरको नमुना सामुदायिक वन क्षेत्रमा खर मजुर ट्रेस गरिएको छ । संरक्षित क्षेत्रमा सीमित भएर नबस्ने हुँदा संरक्षणमा चुनौती थपिएको खड्काको भनाइ छ ।


‘यसलाई संरक्षित क्षेत्रमा मात्र सीमित राख्न सकिन्न,’ उनले भने, ‘यसको बासस्थान संरक्षित क्षेत्रबाहिर पनि बनेको हुन्छ ।’ नदीमा बाढीले बगाएर ल्याएको बालुवाबाट बनेको बेल्ट खर मजुरको प्रिय र उपयुक्त बासस्थान हो । साना बुट्यान, सिरु, खरको घाँसे मैदानमा लुकेर बस्न र त्यहाँ पाउने किराफट्यांग्रा खान खर मजुर रमाउँछ । बाली पाक्ने बेला र मकैबारीमा आहारा खोज्दै मानव बस्तीमा पस्ने गर्छ ।


‘यो चरो एकलकाँटे स्वभावको हुन्छ,’ खड्काले भने, ‘यसका भाले र पोथीसमेत अलग अलग बस्न रुचाउँछन् ।’ भाले सानो घाँस र पोथी झाडी भएका ठाउँमा बस्न रुचाउँछ । नयाँ बनेको बासस्थान खोज्दै हिँड्ने खर मजुर बासस्थान अभाव बढ्दै गएपछि कम भएको हो ।


नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोसी टप्पु, शुक्लाफाँटा आरक्ष र बर्दिया निकुञ्जमा खर मजुर पाइन्छ । अन्यन्त्रको तुलनामा कोसी टप्पुमा केही बढी संख्यामा खर मजुर छन् । नेपालबाहेक भारत र कम्बोडियामा मात्रै खर मजुर पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ मा समेत अति संरक्षित चराको सूचीमा राखिएको छ । नेपालमा पाइने दुर्लभ चरा प्रजातिको अग्रपंक्तिमा परे पनि चितवन राष्ट्रिय निकुञ्जमा यसको संरक्षणका लागि हालसम्म कुनै कार्यक्रम सञ्चालन नगरिएको सहायक संरक्षण अघिकृत खड्काले बताए ।


बासस्थान, चरन क्षेत्र, आहाराको पहिचान र बानीव्यवहार अध्ययन गरी उचित व्यवस्थापन गर्न ढिलाइ गरे चितवनबाट यो प्रजाति लोप नहोला भन्न सकिन्न । चितवन राष्ट्रिय निकुञ्जमा ५ सय ७५ प्रजातिका चरा छन् । चितवनमा मात्रै ६ सय २८ चरा प्रजाति भेटिएका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?