भोगचलन नगरेको जग्गाको कर

अनिश तिवारी

सिन्धुपाल्चोक — स्थानीय तहले लगतकट्टा नगरेका कारणले ग्रामीण भेगका सयौ कृषक परिवारले आफ्नो हकभोगमा नरहेको जमिनको मालपोत शुल्क बुझाउँदै आएका छन् ।

जिल्लाका तीन वटा नगरपालिका र नौ गाउँपालिकाले लगतसम्बन्धी कार्यविधि, मालपोत कर मिनाह प्रक्रिया अगाडि नबढाउँदा सरकारी सडक क्षेत्रमा परेका जग्गाको शुल्क आफूहरू बाध्य भएको गुनासो किसानको छ । बाह्रबिसे–राम्चे ग्रामीण सडकका लागि २ रोपनी जग्गा दान दिएकी स्थानीय जैसीगाउँकी देवकी तिमल्सिनाले अहिले पनि उक्त जमिनको मालपोत शुल्क तिरिरहेकी छन् ।

‘स्थानीय सरकारले लगतकट्टा प्रक्रिया अझै अघि नबढाउँदा आफू मर्कामा परेको भनाइ उनको छ । आफूले भोगचलन नगरेको जमिनको कर तिर्न बाध्य बनेका छौं,’ उनले भनिन् । उनी मात्र होइन साविक राम्चे गाविस जोड्ने ८ वटा ग्रामीण सडकले ओगटेका खेतबारीको दर्जनौं परिवारले मालपोत तिर्दै आएका छन् । समस्या यथावत् रहेपछि बाह्रबिसे नगरपालिकाको १८ किमि सडकमा परेका जग्गा कर मिनाह गर्न स्थानीयले मेयर निमफुन्जोशेर्पालाई ज्ञापनपत्र बुझाए ।

सामुदायिक सारथीको सहजीकरणमा सिन्धुपाल्चोक नागरिक समाज र राम्चेका स्थानीयले जमिनको लगत कट्टा कार्यविधिको बनाउन नगरपालिकालाई दबाब दिएका छन् । ‘सडकमा जग्गा गुमाउनु पनि छ , उल्टै सार्वजनिक सडकको कर तिर्नुपरेपछि स्थानीय मकामा परेहको कृषकहरूको गुनासो छ । जिल्लाको पूर्वी भेग तातोपानीदेखि पश्चिम हेलम्बुसम्म गाउँगाउँसम्मका सडक बनाउन स्थानीयले जमिन दिएका छन् । तरउनीहरूले भोगचलन गर्न नपाए पनि मालपोत शुल्क तिरिरहेका छन् ।

सडकलाई फराकिलो बनाउने क्रममा यस्तो समस्या जिल्लाभर देखिएको सारथीका जिल्ला संयोजक हीरा खडकाले जानकारी दिए । ‘स्थानीय स्तरमा यो अभियानले कर पीडित कृषकलाई राहत पुग्ने उनको भनाइ छ । जिल्लाभर १२ स्थानीय तहको सबै १ सय ३ वडामा स्थानीयको २ हजार ५ सय ७५ रोपनी जग्गा सडकमा परिणत भएको सारथीको प्रारम्भिक अध्ययनले देखाएको छ । दुई हजारभन्दा बढी सडकको लगतकट्टा नहुँदा मालपोतकर संकलन भइरहेको छ ।

जमिनको यो समस्यालाई तत्कालै समाधान गर्न स्थानीय तहले लगत संकलन गरी लगत कट्टा प्रक्रियामा लाग्नुपर्ने तर्क मालपोत अधिकृत शान्ता बस्न्यातको छ । लगत संकलन अभिलेख लिएर भूमि मालिक पहिचानसहित कर मिनाहको प्रक्रियामा लाग्नुपर्ने हुन्छ,’ बस्न्यातले भनिन् । सार्वजनिक सडक ऐन २०३१, रोड बोर्ड ऐन २०५८, मालपोत ऐन २०३४ लगायतका ऐन एवं कानुनले सडकमा परेको जग्गाको मालपोत मिनाहबारे प्रस्ट रूपमा केही उल्लेख गरेको छैन ।

हालै जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर शीर्षकमा ‘संघीय तथा प्रदेशको कानुन’ को अधीनमा रही सम्पत्तिको कर, घरवाहलदेखि मनोरञ्ज करसम्मको नीति, कानुन, मापदण्ड कार्यान्वयन र नियम गर्ने प्रावधान छ ।

सोही ऐनको अनुसूची ३ को ११ मा स्थानीय सडक, ग्रामीण तथा कृषि, सडक–पुल झोलुंगे पुल, पुलेसा, सिँचाइलगायतका नियम भनिए पनि सडकमा परेको जग्गाको मालपोत कर कट्टीको बारे ऐन मौन छ । सडकमा परिणत भइसकेको जग्गाको पनि कर तिर्नुपरेको समस्या यथावत रहेको बताउँदै तीन नगरदेखि नौ गाउँपालिकाका जनप्रतिनिधिले यसका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘यो समय सामायिक समस्या पहिलेदेखि हो, यसबारे बुझेर पहल कदमी लिनेछौं,’ गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिकाका प्रमुख रहेका होमनारायण श्रेष्ठले भने । बाह्रबिसेनगरपालिकाका मेयर निमफुन्जो शेर्पाले समस्या समाधानमा लाग्ने बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जेब्राक्रसमा असुरक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीका व्यस्त सडकमा बाटो काट्नै डर मर्नु भएको पैदलयात्रुको अनुभव छ । उपत्यकाका साँघुरा र व्यस्त सडकमा भगवान सम्झेर बाटो काट्नुपर्ने शंङखमूलकी मीना थापाले बताइन् । ‘जेब्राक्रसबाटै बाटो काट्न डरलाग्दो अवस्था छ,’ उनले भनिन् ‘जेब्रामा मान्छे देखेर पनि सवारी चालकले गति नघटाएर उल्टै हुइँकिएर आउने गर्छन् ।’

राजधानीको बबरमहलमा बाटो काट्दै पैदलयात्री । राजधानीमा कतै जेब्राक्रसमा बाटो काट्न कठिन छ भने कतै जेब्राक्रसका संकेत नै छैनन् । तस्बिर : कविन अधिकारी/कान्तिपुर 

साँघुरा बाटो, अत्यधिक सवारी चाप अनि तीव्र गति पैदलयात्रुका लागि प्रमुख समस्या हो । यस्तो अवस्थामा बाटो काट्न जोखिमपूर्ण हुन्छ । नयाँ बानेश्वर चोकस्थित जेब्राक्रसमा बाटो काट्न १० देखि ३० मिनेट पर्खिनुपर्ने ललितपुर बस्ने अमित भण्डारीले बताए । ‘बाटो काट्न पाइयो भनेर के खुसी हुनु जेब्राक्रसमै हुइँकिएका गाडी देख्दा ज्यानैसिरिङ हुन्छ,’ भण्डारीले भने ।

ट्राफिक नियमविपरीत हिँडदा वा नियमको उल्लंघन गर्दा सवारी चालक आफैंले ज्यान गुमाएका छन् । उपत्यकामा पैदलयात्रुले मात्र नभएर सवारी चालकले पनि ज्यान गुमाएका छन् । कतिपय ठाउँमा यात्रुको गल्ती भए पनि चालकको गल्ती देखाउने गरेको दिनेश श्रेष्ठले बताए । ‘सार्वजनिक बसमा यात्रा गर्दा समयमा नपुग्ने हुँदा आफ्नै सवारी चलाउनुपर्‍यो,’ उनले भने ।

उपत्यकामा सबैभन्दा बढी सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको ट्राफिक विभाग प्रमुख एसएसपी वसन्तकुमार पन्तले बताए । ‘सवारी चालकलाई ट्राफिक नियमको जानकारी नहुँदा, तीव्र प्रतिस्पर्धा, ओभरटेक, मादक पदार्थ सेवनपछि सवारी चलाउँदा सडकदुर्घटना हुने गरेको छ,’ उनले भने । आव ०७२/७३ मा ६५ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

अघिल्लो वर्ष ७९ जना दुर्घटनामा परेका थिए । उपत्यकामा बर्सेनि बढ्दै गएको सवारी चापसँगै सडक दुर्घटना पनि बढ्दै गएको छ । साँघुरो अनि अस्तव्यस्त सडकमा ट्राफिक लाइट, सिग्नलको अपर्याप्तता, चालक तथा पैदल यात्रुले ट्राफिक नियम उल्लंघन गर्नु दुर्घटनाको मुख्य कारण हो ।

काठमाडौं उपत्यकामा करिब ३ सय जेब्राक्रस रहेको ट्राफिक महाशाखा प्रवक्ता जयराज सापकोटाले बताए । यस्ता जेब्राक्रस अझै नपुगेको उनको कथन छ । भएकाको पनि रङ खइसकेको छ । सडकको मर्मत, रंगरोगनको जिम्मेवारी पाएको सरोकारवाला गैरजिम्मेवार बनेका छन् । शान्तिनगर चोकमा रहेको जेब्राक्रसमा बाटो काट्न प्रहरीको सहयोग छ ।

सधैं र सबै ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा जोखिम उठाउँदै बाटो काट्नुपर्छ । गाडीको उच्च चाप, मर्मत नगरिएका सडक र अव्यवस्थित जेब्राक्रस, आकासे पुलको कमी, सवारीको तीव्र गति दुर्घटनाका कारण बनेका छन् । सवारी तथा यातायात व्यवस्था ऐनअनुसार जेब्राक्रसमा सवारी रोक्नुपर्छ । सवारी नरोकी हुइँक्याए ५ सय रुपैयाँसम्म जरिवाना हुन्छ । जेब्राक्रसमै ठक्कर दिएर मृत्यु भए सवारी ज्यानअन्तर्गत मुद्दा चलाएर २ देखि १० वर्षसम्म थुनामाराख्न सकिने कानुनी व्यवस्था छ ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ऐनअनुसार जेब्राक्रमा पैदल यात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाही हुन्छ । ऐनमा यो कसुरमा पर्ने चालकमाथि समितिले अनुगमन गरेर पहिलोपटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँजरिवाना हुने उल्लेख छ ।

सीमा तामाङ(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ८, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×