पहिरोमुनि बास

अनिश तिवारी

लिस्तीकोट, सिन्धुपाल्चोक — कालो बादल, चट्याङको ठूलो आवाजसँगै एक्कासि असिना पानी दर्कियो । ‘छम्’ अर्थात् ध्यानपूजामा व्यस्त लिस्तीकोट पाउँ गुम्बाबासीमा एकै पटक भागभाग मच्चियो । बस्तीको माथिल्लो नोकाङ डाँडाको छेउको माटो झर्न थालेपछि भोटेकोसी गाउँपालिका–१ लिस्तीकोट पाउँगुम्बाका कामी शेर्पा आत्तिँदै निर्माणाधीन घरको माथिल्लो तल्लामा उक्लिए ।

‘पहिरो ओइरिएलाजस्तो लाग्छ, त्यसैको त्रासले दिनरात चैन छैन,’ शेर्पाले भने । रातभर उज्यालो बालेर पहिरो हेर्दै बस्ने शेर्पाले अन्योलबीच पुनर्निर्माणमा जुटेको सुनाए ।


‘सरकारले छिटो घर बना भन्छ, जे भए पनि होस् भनेर घर बनाइयो, अहिले पहिरोमुनि घर बनाइरहेछु अब जाने पनि कहाँ ?,’ उनले भने । छिमेकीसँग सय कडा २४ प्रतिशत ब्याजमा चार लाख ऋण लिएर घर बनाइरहेका शेर्पा परिवार राति निदाउन सकेको छैन । भूकम्पले एकै पटक लिस्तीकोटको पाउँगुम्बा, गुम्बाडाँडा, गुम्बाटोल, सिल्दुङ, दथाली, गेञ्जुङको एक हजार एक सय ५२ घर ध्वस्त बनायो । ज्यान बचाउन भागाभाग गर्दा आफ्नै घरमा पुरिएर ६१ जनाले ज्यान गुमाए ।


तीबाहेक दाउरा काट्न गएका दुई जना पहिरोले थिचिए, दर्जनौं घाइते भए । बिहेघरमा छोरीको दुई घण्टापछि मात्रै उद्धार गरेको सम्झँदा लिस्तीकोट दथालीकी ६७ वर्षीया छिङडोमा लामा भावुक देखिइन् । घर बनाउन सरकारले त्यसबेला पनि केही सहयोग नगरेको सुनाउँदै अहिले पनि अन्योलमा पारेको उनले आरोप लगाइन् ।


‘अब नबसेर कहाँ जाने, सरकारले पहिरोमुनिको बस्तीलाई आँखा चिम्लेर बसेको हो ?,’ उनले प्रश्न गरिन् । केही समयअघि विदेशी भूभर्गविद् र इन्जिनियरले अनुगमन गरी बस्ती जोखिमपूर्ण भएको दाबी गरेका थिए । सरकारले यहाँको जस्तै हिमाली वातावरणमा सारे स्थानीय जान तयार छन् । ‘अहिले पाउँगुम्बा ६३ परिवारको बासै उठ्ने अवस्था छ, कहाँ जाने समस्या छ,’ वडाध्यक्ष शेर्पाले भने ।


लिस्तीकोट, मार्मिङ, झिर्पू, तातोपानी, दुगुनाका बाह्रबिसे नगरको सिर्गाचेका हजारौं परिवार अझै पहिरोमुनि बस्न बाध्य छन् । जिल्लाभरका नौ सय १३ जना विस्थापित रहेको र दुई सय ३२ परिवारको लागि विभिन्न स्थानमा जग्गा खरिद प्रक्रिया भइसकेको उनको भनाइ छ । लिस्तीकोटजस्तै विभिन्न स्थानका एक सय ५४ परिवारले पहिरोमुनि घर बनाइसकेका छन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?