कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

डा. प्रह्लाद योञ्जन रेडपाण्डा पदमार्ग

रसुवा — प्रदेश सरकारले लाङटाङ पदमार्गलाई डा. प्रह्लाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा गरेको छ । मुलुकको तेस्रो पर्यटकीय पदमार्गको रूपमा रहेको लाङटाङ पदमार्गलाई मंगलबार प्रदेश—३ सरकारले डा. प्रह्लाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा गरेको हो ।

करिब २६ किलोमिटर यो पदमार्ग रसुवाको स्याफ्रुदेखि क्यान्जिनसम्म छ । २४ औं वन्यजन्तु सप्ताहको अवसरमा आयोजित १० औं रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता र सातौं लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको मंगलबार धुन्चेमा उद्घाटन गर्दे प्रदेश—३ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले नयाँ पदमार्गको घोषणा गरेका हुन् ।


प्रदेश सरकारले रसुवाको स्याफ्रुबेंसीदेखि क्यान्जिन उपत्यकासम्मको पदमार्गलाई डा. प्रह्लाद योञ्जन रेडपाण्डा पदमार्ग नामकरण गर्न आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रममा राखेको थियो । हिमाली क्षेत्रको पर्यटन विकासमा डा. योञ्जनले पुर्‍याएको योगदानको कदर स्वरूप पदमार्गको नामकरण गरिएको प्रदेश सरकारले बताएको छ । उक्त पदमार्गको स्तरोन्नति गर्न प्रदेश सरकारले पर्यटन विकास आयोजनामार्फत ५० लाख रुपैयाँ विनियोजन गरेको छ । स्याफ्रुबाट करिब दुई दिनको पैदल यात्रामा क्यान्जिन पुगिन्छ ।


पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्नका लागि पर्यटक पुग्छन् । भोलिपल्ट बिहानै खाजा खाएर हिँड्दा रिभर साइड, उडल्यान्ड, घोडा तबेला थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक लाङटाङमा नै बस्छन् भने केही पर्यटक मुण्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् ।


काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा लाङटाङ पर्छ । छोटो र सजिलो पदमार्ग भएकाले पनि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । लाङटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकैपटक धेरै कुरा हेर्न र घुम्न सक्छन् । त्यसैले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको होटल व्यवसायी बताउँछन् 

प्रकाशित : वैशाख ४, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?