ठडियो माझी बस्ती

सिन्धुपाल्चोक — भूकम्पले सबै घर एकै साथ हल्लाएर ढाल्न थालेपछि इन्द्रावती किनारमा बसेका माझी परिवारमा हाहाकार मच्चियो । सुरक्षित स्थानमा दौड्दादौड्दै आफ्नै घरले पुरिएर बालबालिका र वृद्धवृद्धासहित १२ जना माझीले ज्यान गुमाए ।

ठडियो माझी बस्ती

झन्डै ३ वर्ष पछाडि फर्कंदा इन्द्रावती गाउँपालिका–११ बिस्देउटारकी १०६ वर्षकी मनु माझीको आँखा एकाएक रसाए । नब्बे साल होस् या ७२ सालको भूकम्प दुवै भोगिसकेकी उनले अबचाहिं दुःखको दिन सकिएको महसुस गरेकी छन् । ‘हाम्रो माझी गाउँ चिटिक्क बस्ती बनिसकेको छ, मनैबाट साह्रै हर्ष लागेको छ, सहयोग गर्नेलाई धन्यवाद छ,’ उनले वरिपरि हेर्दै भनिन् ।


महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले २८ लाख बराबरको आर्थिक सहयोगमा ५६ वटा आवास बनाएको हो । भूकम्प गएको चार वर्षपछि सुविधाजनक घर पाउँदा बिस्देउटारको माथिल्लो माझी टोलकी रत्नु माझीले ढुक्क महसुस गरेको सुनाइन् । ‘पहिले ५६ घरलाई दुइटा मात्रै शौचालय थिए, अहिले घरपिच्छै बनेको छ,’ उनले भनिन् । ढिलै भए पनि ५६ माझी परिवारको लागि एकीकृत बस्ती बन्नुले उमंग छाएको उनको अनुभव छ ।


भूकम्पमा बिस्देउटारमा मन्दिर, बस्तीदेखि सबै संरचना ढलाउनुका साथै १२ जनाले पुरिएर ज्यान गुमाए । ‘बालबालिका, वृद्धवृद्धा धेरै परे, यत्तिको बस्ती ठडिएला भन्ने त सोचेका थिएनौँ,’ ४९ वर्षका देवचन्द्र माझीले भने । शुक्रबार पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङसहित वडाअध्यक्ष मने माझीले एकीकृत बस्ती माझी परिवारलाई सुम्पिए ।


बस्ती पाएपछि माझी परिवारले अतिथिलाई भव्य स्वागत गरेर खुसी व्यक्त गरे । ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार बैठक कोठासहित ३ कोठे भवनको आकर्षक एउटा आवासमा झन्डै ५ लाख खर्च भएको छ । ‘बिउबिजन वितरण, सुधारिएको चुल्होजस्ता विभिन्न जीविकोपार्जनसम्बन्धी अभियान कार्यक्रम माझी परिवारलाई केन्द्रित गरेर सकेका छौँ,’ उनले भने । उनले एकीकृत बस्तीसँगै बाल र महिलामैत्री चेतनामूलक अभियान सम्पन्न गरिसकेको उनले प्रस्ट्याए ।


इन्द्रावती किनार छेउमा बनेको बस्तीलाई नमुना एकीकृत बस्तीको अवधारणा लैजान र बस्तीलाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन पहलकदमी लिने इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए ।


‘इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका छुट्याएर बग्ने झ्याडी खोला गएर मिसिने इन्द्रावतीले बस्तीको सौन्दर्य झनै बढेको छ,’ उनले भने । गाउँपालिका महासंघका महासचिव रहेका तामाङले एकीकृत बस्ती निर्माणमा माझी समुदायको संस्कृतिलाई ध्यान दिनुपर्ने जरुरी देखिएको प्रस्ट्याए ।


‘माझी समुदायको लोप भइरहेको संस्कृतिको जगेर्ना जरुरी छ , यसको लागि संस्था र गाउँपालिका समन्वय गरेर अगाडि बढने छौँ,’ उनले भने । बस्ती निर्माणमा संस्थाले सुरुआती समन्वय नगरिकन एकपाखे छत हालेपछि एकीकृत बस्तीप्रति स्थानीयको असन्तुष्टि बढेको थियो । त्यसप्रति एकीकृत बस्ती व्यवस्थापनमा गाउँपालिकाले सहजीकरण गरेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?