गैंडा गणना नहुने

प्रमिता ढकाल

भरतपुर — बजेट अपुग हुँदा निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैंडा गणना नहुने भएको छ । हरेक ४ देखि ५ वर्षमा गैंडा गणना हुँदै आएकोमा बजेटको टुंगो नलागेकै कारण यस वर्ष गणना नगरिने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार दाताको भर परेर लामो समय पर्खंदा आवश्यक बजेट नपाएपछि गणना प्रभावित भएको हो ।


गैंडाको संरक्षण र गणनामा हरियो वन, जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) लगायतले सहयोग गर्दै आएका थिए । गैंडा गणनामा १ करोडभन्दा बढी खर्च हुने गर्दछ । गैंडा कार्य योजनामा चारदेखि पाँच वर्षमा गैंडा गणना गर्नुपर्ने उल्लेख गरिएकाले आगामी वर्ष सरकारको बजेटमा नै छुट्ट्याउन आग्रह गरिने खडकाको भनाइ छ ।


‘यसपटक तयारी पनि पुगेन बजेट पनि भएन,’ खडकाले भने , ‘अर्को वर्षका लागि सरकारलाई नै बजेट छुट्ट्याउन भनेका छौं ।’ नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा फेला परेका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६ सय ४५ गैंडा रहेका थिए ।


दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीहरूमा बाढी आउँदा चितवनका धेरै गैंडा बगेर भारत पुगेका थिए । दसवटा गैंडा भारतबाट उद्धार गरिएको थियो भने तीनवटा गैंडा अझै भारतमा रहेको निकुञ्जले जनाएको छ । चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ४१ वटा गैंडा प्राकृतिक तथा कालगतिले मरेका छन् ।


गैंडाको संख्या यकिन नहुँदा उनीहरूको बासस्थान तथा आहारा व्यवस्थापनमा समेत समस्या हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताए ।


प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार अप्रिलको पहिलो साताभित्र गणना थालिसक्नुपर्ने हुन्छ । गणनाका लागि करिब एक महिना समय लाग्छ । आउँदो महिनाबाट घाँस र बुट्यान बढ्ने भएकाले गणना कठिन हुने उनले बताए । बाढीपछिको अवस्था थाहा पाउनको लागि संरक्षणकर्मीहरूले पनि यसै वर्ष गैंडा गणना गर्नुपर्नेमा जोड दिएका थिए ।


–प्रशिक्षार्थी

प्रकाशित : चैत्र २८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?