१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दमकललाई भ्याइनभ्याइ

प्रमिता ढकाल

भरतपुर — आगलागीको जोखिम बढदै गए पनि चितवनमा दमकल सुविधा भने कम छ । कुनै समय चारकोसे झाडीको जिल्ला भनेर चिनिने चितवनमा झाडी तथा वनमा लाग्ने डढेलोसँगै अव्यवस्थित सहरीकरण, अतिप्रज्वलनशील वस्तु र विद्युतीय आगलागीको जोखिम बढेको हो ।

चैत हावाहुरीको महिना । यसै पनि यो समयमा आगजनीको जोखिम निकै हुन्छ । चितवनमा चैत महिनामा मात्रै १७ ठाउँमा आगलागी भएको छ । एउटा गाउँपालिकासहित ७ वटा स्थानीय तह भएको चितवनमा भरतपुर महानगरका तीन र माडी नगरपालिकाको एउटा गरी चार दमकल छन् । भरतपुर महानगरको कार्यालयमै बारुणयन्त्र विभाग छ ।


दमकलको यो स्टेसनले भरतपुर मात्र नभई चितवन र नवलपुरक्षेत्र समेत हेर्ने गर्छ । सूचना पाउनासाथ कुद्ने दमकलले पनि मुस्किलले आगो नियन्त्रण गरी क्षति कम गर्न सकेका छन् । गैंडाकोट क्षेत्रमा गरी १७ ठाउँमा भएको आगलागी नियन्त्रणका लागि भरतपुर महानगरको बारुणयन्त्र विभागले दमकल पठाएको थियो ।


अन्तर्राष्ट्रिय अभ्यासमा दमकल सेवाका लागि १० किमिको दूरीमा एक स्टेसन अनिवार्य मानिन्छ । ६० हजार जनसंख्या बराबर १ दमकल चाहिन्छ । आफ्ना सबै वडाहरूमा समेत प्रभावकारी सेवा दिन नसक्ने भौगोलिक बाध्यतामा रहेको महानगरको दमकललाई भने आफ्नो जिल्ला र छिमेकी जिल्लामा समेत आगो निभाउन कुद्नुपर्ने बाध्यात्मक अवस्था छ ।


विगतका घटनालाई हेर्ने हो भने सूचना पाएलगत्तै कुदेका दमकलले भरतपुर १५, भरतपुर २, भरतपुर ९ का क्षेत्रमा समेत मुस्किलले आगो नियन्त्रण गरेको पाइन्छ । महानगरको बारुणयन्त्र विभागबाट केवल १ किमि पर रहेको अस्पताल रोडको होटल तथा पसलमा केही महिनापहिले आगलागी हुँदा लाखौंको क्षति भयो ।


तर महानगरको दमकललाई झन्डै ६० किमि परका क्षेत्रमा समेत आगो निभाउन कुद्नुपर्ने बाध्यता छ । दाउन्ने, मनहरीसम्म आगो लागेको खबर पाएपछि महानगरका दमकल साइरन बजाउँदै कुद्ने गरेका छन् । आगो लागेका टाढाका ठाउँमा दमकल पुग्न झन्डै ४५ मिनेटसम्म लाग्ने गरेको छ ।


चालु आवको २०७५/०७६ को फागुनसम्म महानगरका दमकल ५१ स्थानमा आगो निभाउन पुगेका थिए । यस्तै ०७४/७५ मा ४९ ठाउँमा लागेको आगो निभाउन महानगरका दमकल पुगेका थिए । ती मध्ये ३३ वटा आगलागी भरतपुर महानगरभित्र लागेका थिए भने ४ वटा रत्ननगर नगरपालिकामा, ३ वटा राप्ती नगरपालिका, कालिका नगरपालिकामा एउटा, खैरहनीमा दुई ठाउँ र नवलपुरको गैंडाकोटमा ६ ठाउँमा आगलागी भएका थिए ।


अघिल्ला वर्षको तथ्यांकलाई हेर्ने हो भने भरतपुरमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिन्छ । भरतपुर महानगरमा बढदो सहरीकरणसँगै बाक्लिएको बस्ती, अस्पताल तथा उद्योगको संख्यामा वृद्धि, विद्युतीय उपकरणको बढदो असुरक्षित प्रयोगले बाह्रै महिना आगलागीको जोखिम बढाइदिएको वारुणयन्त्र विभाग प्रमुख देवेन्द्र रेग्मीले बताए ।


जोखिमको तुलनामा आगलागी नियन्त्रणका लागि स्रोत साधनको अभाव र टाढासम्म पुग्नुपर्ने बाध्यताले चुनौती थपेको उनले बताए ।


(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र २५, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?