३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘स्मार्ट’ बन्दै धुलिखेल

काभ्रे — स्थानीयले आफूले तिर्नुपर्ने करबारे मोबाइलमै जानकारी पाउँछन् । मोबाइल एप्स र वेभसाइटबाट 
करदाताले आफ्नो सबै विवरण हेर्न सक्ने व्यवस्था मिलाएको छ । स्थानीय तहका जनप्रतिनिधि कार्यशैली र कार्यसम्पादनका कारण आलोचित भइरहनुपर्दा धुलिखेल नगरपालिकाले भने आशालाग्दा कामको थालनी गरेको छ ।

‘मोबाइल एप्स र वेभसाइटबाट करदाताले आफ्नो विवरण हेर्न सक्ने व्यवस्था गरेका छौं,’ नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले भने, ‘निकट भविष्यमा अनलाइनमार्फत कर तिर्न सक्ने व्यवस्था गर्न राजस्वसम्बन्धी कम्प्युटर सफ्टवेयरलाई अध्यावधिक गरी आवश्यक पूर्वाधार विकासको काम भइरहेको छ ।’


सबै वडा कार्यालयबाट सबै किसिमका कर तिर्न सक्ने गरी केन्द्रीय सर्भरसँग जोडिएको छ । प्रारम्भिक चरणमा वडा २ मा कम्प्युटर प्रणालीमार्फत राजस्व संकलन थालिएको उनले बताए ।


व्याञ्जुले नगरका सम्पूर्ण विषयहरूलाई सूचना प्रविधिसँग जोड्दै ‘स्मार्ट’ बनाउने प्रक्रियामा रहेको बताए । ‘पर्यटकीय नगर धुलिखेलमा आउने स्वदेशी, विदेशी पर्यटक तथा स्थानीय बासिन्दाको पहुँचका लागि नगरका महत्त्वपूर्ण स्थानमा निःशुल्क वाईफाई व्यवस्था गरिएको छ,’ उनले भने ।


नगरले कानुन निर्माणलाई पनि तीव्रता दिएको छ । १ वर्षको अवधिमा नगरले विभिन्न १६ ऐन, नियम र कार्यविधि तयार गरेको छ । थप कानुन निर्माणका लागि काठमाडौं स्कुल अफ लसँग सहकार्यसमेत गरिरहेको छ । पारदर्शितामा जोड दिँदै नगर कार्यपालिकाका निर्णयहरूको पुस्तक प्रकाशन गरी सबैको पहुँच सहज बनाएको छ ।


गरिबी न्यूनीकरणका लागि ‘मेयर गरिबी निवारण कोष’ स्थापना गरेको छ । लक्षित वर्गको नीति तथा कार्यक्रम स्वीकृत गर्न युवा, महिला, दलित वर्ग, आदिवासी जनजाति, आपांग वर्ग, कृषि विकास, उद्योग विकास, पर्यटन विकास योजना तर्जुमा परिषद् गठन गरी सम्बन्धित परिषद्का नीति, कार्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको छ । १२ वटै वडामा बालमैत्री पार्क निर्माण गरिएको छ ।


६५ पार्कका लागि डीपीआर तयार गरिरहेको नगरपालिकाले जनाएको छ । १५ पार्क निर्माण सम्पन्न भएको व्याञ्जुले जनाए ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?