कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हवाई उडान माग

टीकाप्रसाद भट्ट

रामेछाप — बन्द रहेको रामेछाप विमानस्थलबाट काठमाडौंका लागि हवाई उडान सञ्चालन गर्नका लागि रामेछापका कार्यालय प्रमुखहरूले माग गरेका छन्  । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले तत्काल उक्त विमानस्थलबाट काठमाडौंका लागि यात्रुवाहक हवाई सेवा सञ्चालनको माग गरेको हो  ।

हवाई उडान माग

शर्माका अनुसार विमानस्थल, टर्मिनल उपकरण, एटीसी लगायतका प्राविधिक र हवाई इन्धन डिपोसमेत भएको रामेछापमा साताको कम्तीमा एक उडानका लागि माग गरिएको हो । २०३५ सालमा निर्माण भएको उक्त विमानस्थलमा २०६४ सालसम्म नेपाल वायुसेवा निगमले नियमित उडान गर्दै आएको थियो । त्यस बीचमा निजी क्षेत्रका एभरेस्ट, गोर्खा, लुम्बिनी र तारा एयरले समेत यात्रुलाई काठमाडौंका लागि सेवा दिएका थिए ।


२०६४ पछि ३ वर्ष बन्द भएको विमानस्थलमा यती एयरका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाले २०६७ देखि सातामा एक उडान राखेका थिए । विमानस्थल कालोपत्रे गर्ने योजना कार्यान्वयनका लागि उक्त उडान रोकिएको थियो । कालोपत्रे सकिएको ३ वर्ष बितिसक्दा पनि तारा एयरले यात्रु सेवा सुचारु गरेको छैन । रामेछाप विमानस्थलबाट सोलुको लुक्लाका लागि कार्गो उडान भने हुने गरेको छ । काठमाडौं विमानस्थल व्यस्त हुने, जाडो मौसममा बिहान हुस्सु लाग्ने र प्रतीक्षामा धेरै समय लाग्ने भएकाले रामेछापमा सामान ल्याएर त्यहीँबाटै हवाई कम्पनीले सोलुका लागि कार्गो उडान गर्ने गर्छन् । तारा, सीता र समिट एयरले पछिल्लो चरणमा सोलुका लागि रामेछापबाटै यात्रुसमेत ओसारेका थिए । तर काठमाडौंको उडान भने तीनैवटा कम्पनीले सञ्चालन गरेका छैनन् ।


जिल्लामा रहेको एक मात्र विमानस्थलबाट यात्रु सेवा नहुँदा बिरामी, वृद्धवृद्धा, गर्भवती महिला, अशक्तहरूले सडक मात्र हुँदै कष्टकर यात्रा गर्न बाध्य हुनुपरेको छ । ‘काठमाडौंका अस्पतालमा उपचारका लागि बिरामीलाई ओहोरदोहोर गर्नका लागि पनि सातामा एक उडान आवश्यक छ,’ स्थानीय नवीन घिमिरे भन्छन्, ‘सरकारले यत्रो लगानी गरेको पूर्वाधारबाट नागरिकले उचित लाभ लिन सकेनन् ।’


नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो अप्रिल १ देखि मर्मतसम्भार गर्ने योजना अघि सारेपछि फेरि रामेछापको विमानस्थलबाट सोलुका लागि उडान भर्ने तयारीमा ती कम्पनी जुटेका छन् । तारा, सीता र समिट एयरले रामेछापसम्म काठमाडौंबाट सडक मार्ग हुँदै यात्रु ओसार्ने र त्यसपछि हवाई मार्गबाट लुक्ला पुर्‍याउने योजना अघि सारेका हुन् । काठमाडौं विमानस्थल मर्मतका लागि करिब ३ महिना लाग्ने भएकाले उक्त अवधि तीनैवटा हवाई कम्पनीले रामेछापदेखि सोलुका नियमित उडान गर्ने तयारी भएको रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अमित चौरसियाले बताए ।

प्रकाशित : चैत्र १३, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?