कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुर्गम गाउँमा बन्दै विद्यालय भवन

हेटौंडा — मकवानपुरको अत्यन्त दुर्गम राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडामा एक गैरसरकारी संस्थाले ५ वटा विद्यालय भवन पुनर्निर्माण गरेको छ । 

दुर्गम गाउँमा बन्दै विद्यालय भवन

भूकम्पले विद्यालय भवन भत्केपछि लिसा हिमालय जर्मनीको आर्थिक सहयोगमा दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले पुनर्निर्माण गरेको हो । राक्सिराङस गाउँपालिका ८ महाकांलस्थित जनज्योति प्राथमिक विद्यालयको भवन पुनर्निर्माणको कार्य सकिएको एकता नेपालका अनिल पौडलले बताए । ‘छिट्टै नै विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने छौं,’ उनले भने ।


३ कक्षासम्म पठनपाठन उक्त विद्यालयका छात्रछात्राहरू विगत ४५ महिनादेखि टहरामा पढ्दै आएका छन् । ४० जना छात्रछात्राहरू रहेको उक्त विद्यालयका विद्यार्थीहरू एउटै टहरालाई बारेर छुट्टाछुट्टै कोठा बनाएर पढ्ने गरेका छन । पाँचकोठे भवन र छात्रछात्राको अलग्गै शौचालय निर्माण गर्न ९७ लाख ४२ हजार रुपैयाँ खर्च भएको पौडेलले बताए ।

महांकालमा एक बोरा सिमेन्ट पुर्‍याउँदा २ हजार ५ सय रुपैयाँ खर्च हुने भएकाले विद्यालय भवनको पुनर्निर्माण गर्न समस्या परेको संस्थाले जनाएको छ । एक बोरा सिमेन्ट ढुवानी गरेको ज्याला मात्र १७ सय रुपैयाँ लिने गरेको छ । मानिसले बोकेर पुर्‍याउनुपर्ने भएकाले सिमेन्टमात्र होइन, निर्माणका सामग्रीहरू नै संस्थाले पुर्‍याएको पौडेलले भने ।


उक्त संस्थाले राक्सिराङ गाउँपालिका–६,७ र ८ नम्बरमा जनज्योति प्राथमिक विद्यालयको भवनसहित प्रजा कल्याण प्रावि, बाङराङ, दामराङ प्रावि दामराङ, जनसेवा प्रावि दामराङ र टिकेढुंगे प्रावि गरी ५ वटा विद्यालय भवन निर्मार्णाधीन अवस्थामा छन् । चार विद्यालयको पुनर्निर्माण कार्य चैतसम्ममा सकिसक्ने उनीहरूले बताए ।


करिब साढे ५ करोडको लागतमा ५ वटा विद्यालयका ३० वटा कक्षाकोठा र ५ वटै शौचालय निर्माण गरिएका छन् । नयाँ वर्षसँगै दुर्गम गाउँका ५ विद्यालयका छात्रछात्राहरूले नयाँ पक्की भवनमा पढ्न पाउनेछन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?