कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखा पुग्छ आर्क पुलमा

उपत्यकाको तीनकुने र बिजुली बजारमा नयाँ प्रविधिका चारवटा पुल बन्दै छन् 
विमल खतिवडा

काठमाडौँ — बिजुलीबजारस्थित धोबीखोला पुगेपछि प्रायः सबैका आँखा पुग्छन् कलात्मक पुलमा  । नयाँ प्रविधिबाट बनेको फरक खाले पुलले सबैको ध्यान तानेको हो  ।

योसँगै तीनकुनेस्थित बाग्मती नदीमा समेत यस्तै पुल बनिरहेको छ । अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा निर्माण गरिएका ‘आर्क ब्रिज’ ले त्यहाँ आकर्षण थप्ने काम गरेको छ । ती देशमा कलात्मक रूपमा बनाइएका ती पुलले पर्यटकलाई लोभ्याउने गरेको छ । पछिल्लो समय यस्तै प्रविधि नेपालमा भित्रिएको छ । जुन प्रविधि परीक्षणकै क्रममा छ । निर्माण सुरु भएका पुल पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन् । केही बन्दै छन्, केही निर्माण पूरा भएर रंगरोगन हुन बाँकी छ ।


पहिला/पहिला मुख्य लोकमार्ग र सहर बजारभित्र रहेका नदी र खोलामाथि एकै प्रकृतिका पुल निर्माण गरिन्थ्यो । पुराना शैलीका पुल निर्माण गर्दा धेरै पिलर राख्नुपर्ने झन्झट थियो । अहिले भित्रिएको ‘आर्क ब्रिच’ सबै कुराले राम्रो भएको प्राविधिकहरूको दाबी छ । अहिले उत्यकाको तीनकुने र बिजुली बजारमा यस्तो प्रविधिका चारवटा पुल बन्दै छन् । बिजुली बजारस्थित धोबीखोलाको तल्लो भागमा पुल निर्माण पूरा भइसकेको छ ।


माथिल्लो भागमा निर्माण जारी छ । तीनकुनेमा अरू पुलको तुलनामा सोचेअनुरूपको निर्माण कार्य भइरहेको छैन । ‘यो नयाँ प्रविधिको नेटवर्क आर्क ब्रिज हो, बिजुली बजारको पुलमा तारलाई स्टिलले र्‍यापिङ गरेर कभर गरिएको छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने, ‘यसलाई क्रस गरेकाले नेटवर्क भनिएको हो, आर्च माथि झयो, आरसीसी क्रंत्रिट आर्च छ । लोड आर्चले लिन्छ, वायरले पुललाई उचाल्छ ।’


यस्तो आर्च ब्रिज अन्त पनि बनेका छन् । ‘तर नेटवर्क आर्च यो पहिलो हो,’ उनले भने, ‘मुग्लिन बजार र तनहुँको बेनीटार जोड्ने मर्स्याङी र त्रिशूली नदीको संगममाथि बन्दै गरेको पुल र यसमा फरक छ ।’


उनका अनुसार मुग्लिनको पनि आर्च ब्रिज नै हो । तर त्यहाँ सब(स्ट्रकचरमा आर्क छ । माथि गाडी हिँड्छ । पुलले लोड बोक्छ । यो ब्रिज १ सय २० मिटर लामो छ । यसको लुक राम्रो हुने छ । विचमा पिलर राख्नु पर्दैन । सपोर्टका लागि वारिपारि २ वटा छेउमा पिलर हुनेछन् । ‘हेर्दा आर्क हो, तर प्रविधि फरक छ,’ उनले भने, ‘बिजुली बजारको पुलको वायर केवलले लोडलाई ह्यांगिङ गरेर आर्कमा लोड ट्रान्सफर गर्छ, मुग्लिनको पुलमा सोझै माथिको लोड आर्कले लिन्छ ।’ उनका अनुसार सुरुसुरुमा सामान्य आरसीसी पुल मात्र बन्थे ।


‘अहिले नयाँ प्रविधि पनि भित्र्याउनुपर्‍यो, पुल राम्रो पनि देखियोस् भनेर नयाँ चलेको प्रविधिअनुसार बनाउन थालिएको हो,’ उनले भने, ‘इन्जिनियरिङ प्रविधि कति पुरानो मात्र लिने, नयाँ पनि लिनुपर्‍यो भन्ने हो ।’ उनका अनुसार आरसीसी पुलभन्दा यो पुल निर्माण गर्दा फाइदा छ ।


‘फाइदा आर्क ब्रिजमा छ, माथि, तल र बीचमा पिलर हाल्नु पर्दैन, पुराना पुलको बीचबीचमा पिलर हुन्छ यसको वारिपारि मात्र बनाए पुग्छ,’ उनले भने, ‘बीचको फाउन्डेसन बनाउनु नपर्ने भएकाले केही सस्तो पनि पर्छ भन्ने हो, साधरण आरसीसी ब्रिजभन्दा यो बलियो हुन्छ, यो पुल १ सय वर्ष टिक्छ भन्ने छ ।’ डिजाइन १ सय वर्षका लागि भनेरै गरिएको उनले सुनाए । ‘डिजाइनर, ठेकदार नेपाली नै हुन्, कस्तो बनिरहेको छ भनेर हेर्ने पनि हामी भयौं,’ उनले भने, ‘नयाँ प्रविधि भएकाले सुरुको डिजाइनको जाँच जसले यस्ता पुलहरू बनाइरहेको छ, उसलाई गराइएको हो ।’


उनका अनुसार बंगलादेशको बीपीएम कन्सल्टटेन्टलाई जाँच गराइएको हो । तीनकुने र बिजुली बजारको एकै किसिमको पुल हो । ठेकदार मात्र फरक हो । ‘तीनकुनेको सब स्ट्रकचरमा अलि डिजाइन फरक छ,’ उनले भने, ‘बाहिरबाट हेर्दै उस्तै देखिन्छ ।’ यसको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको छ । ठेक्का सम्झौता सकिइसकेको छ । तर निर्माण अझै पूरा हुन सकेको छैन । मुग्लिनको पुल १४ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।


मुग्लिनको पहिलाको पुल सन् १९७४ मा चिनियाँ सरकारले निर्माण गरेको हो । पुरानो पुलले समस्या थियो । पुल भएर दैनिक ७ हजार सवारीसाधन गुड्छन् । सामान्यतः एउटा पुलको आयु ७०/७५ वर्षसम्म हुन्छ । ओभरलोडले गर्दा पुलको आयु कम हुने गरेको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख दीपक झट्टराईका अनुसार काठमाडौंमा बनिरहेका २ वटा नेटवर्क आर्क ब्रिज हुन् । मुग्लिनको क्रंत्रिट आर्क ब्रिज हो ।


‘पहिला विल्ड अफ क्वान्टिटीका आधार गरेर ठेक्का लाग्थ्यो, यसमा एक/एक आइटमहरू हुन्थे, यसो नभएर हामीले डिजाइन एन्ड विल्ड गर्‍यौं, यसमा कन्ट्र्याक्टरलाई नै डिजाइनको जिम्मा दियौं, उनीहरूले एउटा डिजाइन पेस गरिसकेपछि त्यसलाई हेरेर स्वीकृत गरी बल्ल निर्माणमा जाने, एउटै ठेक्कामा डिजाइन र निर्माण दुवै हुने भयो ।’ पहिला विभागले डिजाइन गराउँथ्यो । पछि छुट्टै ठेक्का लगाउँथ्यो ।


‘अहिले डिजाइन एन्ड विल्डबाट ठेक्का गर्न थालेपछि पुलमा कन्ट्र्याक्टरहरूबाट पनि एडभान्स खालको डिजाइन आउन थाल्यो, त्यही क्रममा यो आर्क डिजाइन सुरु भएको हो,’ उनले भने, ‘नेपालमा आर्क ब्रिज एकदमै उपयुक्त छ, कालीगण्डकी, महाकाली, कोसीजस्ता नदीमा सकेसम्म बीच भागमा फाउन्डेसन गर्नु नपरोस्, एउटै स्पानमा पुल सकियोस्, फाउन्डेसन नै राख्नुपरे कमभन्दा कम राख्नुपरोस् भन्ने हो ।’ उनका अनुसार आर्क ब्रिज नेपालमा आवश्यकता छ । यो प्रविधिको पुल बनाउँदा समयमै सक्न सजिलो हुन्छ ।


पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर विजय जैसी सुनकोसीको फोक्सिङटारमा बन्दै र नारायणगढ मुग्लिन सडकअन्तर्गत तनहुँ जोड्ने घुमाउने घाटमा बनाउने गरी आर्क ब्रिजको डिजाइन भएको बताउँछन् । ‘अहिलेसम्म नेपालमा ८० मिटरभन्दा लामो यस्तो आर्क ब्रिज पुल बनेको थिएन,’ उनले भने, ‘मुग्लिनको १ सय २० मिटर लामो छ, यो नेपाली ठेकदारले बनाएको पुल हो, यो ठूलो उपलब्धि हो ।’


फाइदा खोलाको बीचमा जानुपर्ने छैन । वर्षभरि काम गर्न पाइन्छ । ‘यो प्रविधि सफल भयो, यदि काम गर्ने वातावरण भयो भने धेरै गर्न सक्ने देखेका छौं,’ उनले भने । उनका अनुसार मुग्लिनको पुल निर्माण अन्तिम चरणमा पुगेकाले वैशाखबाट सञ्चालनमा आउनेछ ।


प्रकाशित : चैत्र ६, २०७५ ०८:५६

प्रतिक्रिया
पठाउनुहोस्

स्कुलमा रोबोट पढाइ

‘सैद्धान्तिक पढाइका कारण निरस र झर्को लाग्दो बनेको कक्षा रोबोट पढाइले रमाइलो भएको छ । खेलेजस्तो गरी सिक्न पाइने हुनाले विद्यार्थी जाँगिरला बनेका छन् ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईंले रोबोट हातैले छुनु वा प्रत्यक्ष देख्नुभएको छ ? ललितपुरका विद्यालयहरूमा भने स्कुले नानीहरू रोबोटसँग खेलिरहेका र त्यसैबारे पढिरहेका हुन्छन्  । प्रयागपोखरीको यशोधरा बौद्ध मावि, धापाखेलको जलपा मावि र बालकुमारीको हिन्दु विद्यापीठमा हालै मात्र रोबोट प्रविधि पढाइ हुन थालेको हो  ।

नयाँ विषय थपिएपछि विद्यार्थीहरू कक्षामा रमाउन थालेका छन् ।


लगनखेलनजिकै प्रयाग पोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयले बालबालिकालाई युग सुहाउँदो ज्ञान दिन रोबोट प्रविधि छुट्टै विषय पाठ्यक्रममा समावेश गरिएको जनाएको छ । विद्यार्थीले पढ्ने रोबोट विभिन्न आकार र रङका प्लास्टिकबाट बनेका टुक्रा जोडेर कल्पनाअनुसार बनाइएका मोटर, जनावर, खेलौनाजस्ता वस्तु हुन् ।


यस्ता वस्तुलाई कम्प्युटरमा संयोजन गरी आफैं चल्ने बनाइन्छ । कक्षामा निर्जीव वस्तु सजीवझैं गतिशील बनाएर कुदाउँदा विद्यार्थीले रमाइलो मान्छन् । त्यो कसरी सम्भव भयो भन्ने ज्ञान पनि विद्यार्थीले सिक्छन् । ‘सैद्धान्तिक पढाइका कारण निरस र झर्को लाग्दो बनेको कक्षा रोबोट पढाइले रमाइलो बनाइदिएको छ । खेलेजस्तो गरी सिक्न पाइने हुनाले विद्यार्थी जाँगिरला बनेका छन्,’ बौद्ध माविका शिक्षक हेमचन्द्र रगाईले भने ।


कक्षामा हालका लागि कम्प्युटर र रोबोट किट बक्सको प्रयोग गरिएको छ । यस्ता उपकरण जापानबाट ल्याइएका हुन् । ललितपुर महानगरपालिकाले नेपाल र जापानका शैक्षिक अभियन्ताको सहकार्यमा सामुदायिक विद्यालयमा परीक्षणका रूपमा रोबोट प्रविधि विषय पढाउन सुरु गरेको हो । आउँदो शैक्षिक सत्रबाट यसलाई छुट्टै विषयका रूपमा अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना छ । ‘विद्यार्थीले सुनेर वा हेरेरभन्दा गरेर बढी सिक्छन्,’ जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्तिसमेत रहेका महानगरका सूचना प्रविधि अधिकारी सत्यनारायण महर्जनले भने, ‘त्यसैले हामीले कक्षामा रोबोट प्रविधि पढाउन थालेका हौं ।’


पछिल्लो समय मोबाइल र इन्टरनेटमा झुम्मिनाले पढाइबाट टाढा हुन थालेका बेला रोबोट भित्रिँदा विद्यार्थीको रुचि कक्षामा बढेको उनले बताए । ‘हामी पाठ्यक्रम परिमार्जन गर्दै छौं,’ महर्जनले कान्तिपुरसँग भने, ‘आउँदो शैक्षिक सत्रबाट सम्भव भएसम्मका विद्यालयमा पढाउँछौं ।’


रोबोट प्रविधि पढाउन नेपालमै पनि ४–५ हजार रुपैयाँमा यस्ता उपकरण तयार गर्न सकिने सुझाव पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले दिएपछि महानगरका अधिकारीहरू उत्साहित भएका छन् । अध्ययनहरूले देखाएअनुसार आधारभूत तह तथा माध्यमिक तहका विद्यार्थीले रोबोट प्रविधि सजिलै सिक्न सक्छन् । रोबोट प्रविधि पढाइले विद्यार्थीमा पढाइप्रति चासो बढ्ने मात्रै नभएर विज्ञानप्रति थप अभिरुचि जाग्ने गरेको महर्जनले बताए । नेपाली संस्थाहरू ओपन लर्निङ एक्सचेन्ज र साझा शिक्षा ई–पाटी तथा जापानको योकोहामास्थित सिटी नेट भन्ने संस्थाले ललितपुर महानगरपालिकाको रोबोट शिक्षा अभियानलाई प्राविधिक सहयोग गरेका छन् ।


रोबोट प्रविधि पढाइ हुन थालेका विद्यालयमा ६ देखि १० सम्मका प्रत्येक कक्षामा दुई–दुई रोबोट छन् । नयाँ शैक्षिक सत्र सुरु भएपछि प्रत्येक कक्षामा आठ–आठवटा थप गर्ने योजना महानगरको छ । ‘सरकारले देशैभर रोबोट विषय समावेश गरे राम्रो हुन्थ्यो,’ महर्जनले भने, ‘यसले सिकाइप्रति विद्यार्थीको आकर्षण बढाउने रहेछ ।’

(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र ६, २०७५ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×