१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

स्कुलमा रोबोट पढाइ

‘सैद्धान्तिक पढाइका कारण निरस र झर्को लाग्दो बनेको कक्षा रोबोट पढाइले रमाइलो भएको छ । खेलेजस्तो गरी सिक्न पाइने हुनाले विद्यार्थी जाँगिरला बनेका छन् ।’

काठमाडौँ — तपाईंले रोबोट हातैले छुनु वा प्रत्यक्ष देख्नुभएको छ ? ललितपुरका विद्यालयहरूमा भने स्कुले नानीहरू रोबोटसँग खेलिरहेका र त्यसैबारे पढिरहेका हुन्छन्  । प्रयागपोखरीको यशोधरा बौद्ध मावि, धापाखेलको जलपा मावि र बालकुमारीको हिन्दु विद्यापीठमा हालै मात्र रोबोट प्रविधि पढाइ हुन थालेको हो  ।

स्कुलमा रोबोट पढाइ

नयाँ विषय थपिएपछि विद्यार्थीहरू कक्षामा रमाउन थालेका छन् ।


लगनखेलनजिकै प्रयाग पोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयले बालबालिकालाई युग सुहाउँदो ज्ञान दिन रोबोट प्रविधि छुट्टै विषय पाठ्यक्रममा समावेश गरिएको जनाएको छ । विद्यार्थीले पढ्ने रोबोट विभिन्न आकार र रङका प्लास्टिकबाट बनेका टुक्रा जोडेर कल्पनाअनुसार बनाइएका मोटर, जनावर, खेलौनाजस्ता वस्तु हुन् ।


यस्ता वस्तुलाई कम्प्युटरमा संयोजन गरी आफैं चल्ने बनाइन्छ । कक्षामा निर्जीव वस्तु सजीवझैं गतिशील बनाएर कुदाउँदा विद्यार्थीले रमाइलो मान्छन् । त्यो कसरी सम्भव भयो भन्ने ज्ञान पनि विद्यार्थीले सिक्छन् । ‘सैद्धान्तिक पढाइका कारण निरस र झर्को लाग्दो बनेको कक्षा रोबोट पढाइले रमाइलो बनाइदिएको छ । खेलेजस्तो गरी सिक्न पाइने हुनाले विद्यार्थी जाँगिरला बनेका छन्,’ बौद्ध माविका शिक्षक हेमचन्द्र रगाईले भने ।


कक्षामा हालका लागि कम्प्युटर र रोबोट किट बक्सको प्रयोग गरिएको छ । यस्ता उपकरण जापानबाट ल्याइएका हुन् । ललितपुर महानगरपालिकाले नेपाल र जापानका शैक्षिक अभियन्ताको सहकार्यमा सामुदायिक विद्यालयमा परीक्षणका रूपमा रोबोट प्रविधि विषय पढाउन सुरु गरेको हो । आउँदो शैक्षिक सत्रबाट यसलाई छुट्टै विषयका रूपमा अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना छ । ‘विद्यार्थीले सुनेर वा हेरेरभन्दा गरेर बढी सिक्छन्,’ जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्तिसमेत रहेका महानगरका सूचना प्रविधि अधिकारी सत्यनारायण महर्जनले भने, ‘त्यसैले हामीले कक्षामा रोबोट प्रविधि पढाउन थालेका हौं ।’


पछिल्लो समय मोबाइल र इन्टरनेटमा झुम्मिनाले पढाइबाट टाढा हुन थालेका बेला रोबोट भित्रिँदा विद्यार्थीको रुचि कक्षामा बढेको उनले बताए । ‘हामी पाठ्यक्रम परिमार्जन गर्दै छौं,’ महर्जनले कान्तिपुरसँग भने, ‘आउँदो शैक्षिक सत्रबाट सम्भव भएसम्मका विद्यालयमा पढाउँछौं ।’


रोबोट प्रविधि पढाउन नेपालमै पनि ४–५ हजार रुपैयाँमा यस्ता उपकरण तयार गर्न सकिने सुझाव पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले दिएपछि महानगरका अधिकारीहरू उत्साहित भएका छन् । अध्ययनहरूले देखाएअनुसार आधारभूत तह तथा माध्यमिक तहका विद्यार्थीले रोबोट प्रविधि सजिलै सिक्न सक्छन् । रोबोट प्रविधि पढाइले विद्यार्थीमा पढाइप्रति चासो बढ्ने मात्रै नभएर विज्ञानप्रति थप अभिरुचि जाग्ने गरेको महर्जनले बताए । नेपाली संस्थाहरू ओपन लर्निङ एक्सचेन्ज र साझा शिक्षा ई–पाटी तथा जापानको योकोहामास्थित सिटी नेट भन्ने संस्थाले ललितपुर महानगरपालिकाको रोबोट शिक्षा अभियानलाई प्राविधिक सहयोग गरेका छन् ।


रोबोट प्रविधि पढाइ हुन थालेका विद्यालयमा ६ देखि १० सम्मका प्रत्येक कक्षामा दुई–दुई रोबोट छन् । नयाँ शैक्षिक सत्र सुरु भएपछि प्रत्येक कक्षामा आठ–आठवटा थप गर्ने योजना महानगरको छ । ‘सरकारले देशैभर रोबोट विषय समावेश गरे राम्रो हुन्थ्यो,’ महर्जनले भने, ‘यसले सिकाइप्रति विद्यार्थीको आकर्षण बढाउने रहेछ ।’

(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?