निकुञ्ज क्षेत्रका सीसी क्यामेरा थन्किए

जथाभावी गाडी कुदाउँदा वन्यजन्तु किचिए
रमेशकुमार पौडेल

चितवन — कात्तिक, मंसिर र माघमा गरी टिकौली जंगलको राजमार्ग क्षेत्रमा ३ वटा भाले चित्तल मरे । फागुनमा एउटा पोथी चित्तल मर्‍यो । चारवटै चित्तल गाडीको ठक्करले मरेका हुन् । कुनै पनि गाडीलाई प्रशासनले नियन्त्रणमा लिन सकेन । यसका साथै जंगलबीचमा गाडी रोकेर दिसापिसाब गर्ने र सडक किनारमा फोहोर फाल्ने क्रम बढेको छ ।

महेन्द्र राजमार्गको टिकौली जंगलमा निषेध गरिएको काम र जरिवानाको विवरण खुलाइएको साइन बोर्ड । तस्बिर : रमेशकुमार/कान्तिपुर 

पहिले १६ लाख खर्चिएर राखिएका सीसी क्यामेर बिग्रिएर थन्किएका छन् । गाडीको ठक्करले जनावरहरू मर्न र फोहोर बढ्न थालेपछि साढे दुई वर्षअघि ०७३ सालको असारमा गते चितवन राष्ट्रिय निकुञ्जको सक्रियतामा सीसी क्यामेराहरू जडान भएका थिए । विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रमको सहयोगमा १० वटा सीसी क्यामेरा जडान गरिएको जानकारी भरतपुरको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दिए ।

बरन्डाभार जंगल चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारतसँग जोड्ने जैविक मार्ग हो । यो मार्गको बीचबाट गएको छ पूर्वपश्चिम महेन्द्र राजमार्गको भरतपुररत्ननगर खण्ड ।

भरतपुर गोन्द्रङदेखि रत्ननगरको टिकौलीसम्म सडक पार गर्दा गाडीको ठक्करले जंगली जनावर मात्रै मरेनन्, फोहोर फाल्ने समस्या पनि बढ्यो । यसलाई रोक्न राखिएको सीसी क्यामेरा बिग्रिएपछि जंगल क्षेत्र पुरानै अवस्थामा पुगेको छ ।

सडक पार गर्ने क्रममा गाडीको ठक्करले वर्षमा १५ को हाराहारीमा जंगली जनावरहरू मर्न थालेपछि यस्तो गरिएको थियो । ठाउँठाउँमा सीसी क्यामेरा राखेपछि ठक्कर दिएर भागे पनि त्यस्ता गाडी पत्ता लगाउन सजिलो भएको थियो । जंगलमा गाडी रोकेर बस्न पाइँदैन थियो । प्रतिघण्टा ४० किलो मिटरकोरफतारमा मात्रै गाडी कुदाउन पाइन्थ्यो ।

‘यी नियम मिचेको फेला परेमा सीसी क्यामेरामा हेरेर बसेका कर्मचारीहरूले हामीलाई जानकारी गराउँथे । तत्काल कारबाही हुन्थ्यो,’ टिकौलीमा रहेको सशस्त्र प्रहरी वन रक्षक तालिम केन्द्रका प्रमुख धनबहादुर थापाले बताए । सीसी क्यामेराको मुख्य नियन्त्रण कक्ष टिकौलीको तालिम केन्द्रमा नै थियो । तर असोजमा रूखको हाँगो झरेर सीसी क्यामेराको तार चुडाएपछि निगरानी कार्य बन्द भएको छ ।

‘१० वटा राखे पनि एउटा क्यामेरा सुरुमै बिग्रेको थियो । नौवटाले जेन तेन काम गर्दै थिए । रूखको हाँगो झरेर तार चुँडेपछि सबै काम रोकियो,’ तालिम केन्द्रका प्रमुख थापाले भने । सीसी क्यामेरा विश्व वन्यजन्तु कोषले राखे पनि सञ्चालन र मर्मतका लागि थप बजेट नभएको उनले बताए । त्यसैले सीसी क्यामेरा चल्न नसकेको बारेमा राष्ट्रिय निकुञ्ज विभागलाई पत्र लेखेर पठाएको उनले बताए ।
‘अहिले पनि राजमार्ग क्षेत्रमा हामीले र चितवन निकुञ्जका सुरक्षाकर्मीले पालो मिलाएर गस्ती गरेका छन् । तर गस्ती गरेका बेलामा ठक्कर दिएको र गाडी रोकेर दिसापिसाब गरेको तथा फोहोर फालेको भेटिँदैन । अरू बेला नियमविपरीतका काम गरे नगरेको हेर्नेलाई सीसी क्यामेराले काम गरेको छैन,’ थापाले भने । टिकौली मध्यवर्ती सामुदायिक वनका पूर्वअध्यक्ष बुद्धिबहादुर विक समस्या दोहोरिएकोमा चिन्तित छन् ।

‘बाटो पार हुँदा ठक्करले जनावरहरू मर्नुका साथै फोहोरले पनि पिरोलेको थियो । महत्त्वपूर्ण जैविक मार्गमा फोहोर थुप्रँदा नकारात्मक असर परेको थियो । सीसी क्यामेरा राखौं भनेर हामीले निकै वर्षदेखि भन्दै आएको हो । तर राखेपछि प्रभावकारी रूपमा चलाउन खोजिएन, अहिले त बन्द नै भएछ,’ विश्वकर्माले भने ।

सीसी क्यामेरा सञ्चालनको जिम्मा समुदायलाई दिएको भए यस्तो नहुने उनले बताए । ‘सामुदायिक वनलाई जिम्मा दिऊँ । गस्ती पनि वन हेरालुहरूले नै गर्छन्, जरिवाना पनि उठाउँछन् । उठेको जरिवाना सीसी क्यामेराको मर्मत र सञ्चालनमा खर्च गरौं भनेर प्रस्ताव गरेको हो । तर लागू भएन,’ पूर्व अध्यक्ष विश्वकर्माले भने ।

जरिवना सरकारी राजस्वमा नै दाखिला गर्ने गरेर सुरक्षाकर्मीले गस्ती गर्न सुरु गरेको उनले बताए । सीसी क्यामेरा राम्रोसँग सञ्चालन हुँदा समस्या कम हुँदै गएका कारण फेरि पनि मर्मत गरेर चलाउने पहलमा लागेको सशस्त्र वन रक्षक तालिम केन्द्रका प्रमुख धनबहादुरथापाले बताए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

अटो चलाउँदै महिला

कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — जागिर खान पर्याप्त शिक्षा नलिएका र घरव्यवहारका काममा व्यस्त महिलालाई अटो चलाउने पेसाले भने राहत दिन थालेको छ । आर्थिक रूपले सबल बन्न उनीहरू सिन्धुलीमाढी बजारमा अटो व्यवसास अपनाउन थालेका छन् । सुरक्षित ढंगले यात्रुलाई गन्तव्य पुर्‍याउन थालेपछि उनीहरूप्रति यात्रुको विश्वाससमेत बढेको छ ।

‘यात्रुप्रति विश्वास थपिएको छ,’ जिल्लाको पहिलो महिला अटो चालक तथा भद्रकाली यातायात प्रालिकी अध्यक्ष रेखा गौतमले भनिन् । उनले दुई वर्षदेखि अटो चलाउन थालेकी हुन् । महिलाहरूले चालकको काम गर्न हुँदैन भन्ने परम्परागत सोचाइलाई तोड्न तथा आर्थिक रूपमा सबल बन्न अटो चलाउन थालेकोउनले बताइन् ।

‘सुरुसुरुमा अटो चलाउँदा हेर्ने मान्छेहरूको लाइन हुन्थ्यो । महिलाले चालकको काम गर्न सक्छ भनेर विश्वासन नै गर्दैनथे । ग्राहकहरू पनि त्यति आउँदैनथे,’ उनको अनुभव छ, ‘अहिले पुरुषले भन्दा त झन् सुरक्षित तवरले चलाउँदा रहेछन् भन्न थालेका छन् ।’

महिलाले चालकको काम गर्न सक्दैनन् भन्ने गलत सोचाइलाई चिर्दै महिला चालक अटो चलाउन थालेका हुन् । सुरुसुरुमा महिलाले पनि चालकको काम गर्छन् र ? भनेर प्रश्न गर्नेहरूले नै अहिले हौसला दिन थालेको कमलामाई नगरपालिका ४ मल्लागाउँकी विनीता देवकोटा बताउँछिन् । अटो चलाउन थालेपछि घरव्यवहार चलाउन र छोराछोरी पढाउन सहज भएको देवकोटाको ठम्याइ छ । सबैले सम्मान गर्न थालेकाले उनलाई हौसला मिलेको छ ।

‘हामी महिलाले चालकको काम के गर्न सकौंला र भन्ने लागेको थियो,’ सुरुको अनुभव राख्दै कनपा ६ धुराबजारकी सुशीला बस्नेत आफूभन्दा अगाडि अटो चलाएका दिदीबहिनीलाई देखेर प्रेरणा मिलेको सुनाउँछिन् । जसका कारण अहिले सुशीला आर्थिक रूपमा सक्षम भएको बताउँछिन् । अटो व्यवसायबाट उनी अहिले खुसी छिन् । कनपा ४ मिलनचोककी एकल महिला सरिता सुनुवारले भने सबै जिम्मेवारी एक्लैले निर्वाह गर्नुपर्ने भएकाले बिहान घरधन्दा सकेर मात्र अटो चलाउन निस्किन्छिन् । दिउँसो फुर्सदको समय सदुपयोग गर्दा मात्रै पनि आफ्नो २ छोरीलाई पढाउन र घरव्यवहार टार्न सहज भएको उनी बताउँछिन् ।

अरू जागिर तथा काममा जस्तो १०(५ बजेसम्म अथवा ७(५ बजेसम्म काम गर्नै पर्छ भन्ने छैन । ‘आफ्नो घरधन्दा सकेर ढुक्कले दिउँसो फुर्सदको समयमा अटो चलायो फेरि साँझको काम गर्न घर पुग्यो । सहज छ,’उनले थपिन् । महिलाले घरभित्रको काम मात्रै गर्नुपर्छ, अझ चालकको काम त गर्नै हुँदैन भन्ने सोचाइलाई गलत सावित गर्दै सिन्धुलीका महिलाहरू अहिले अटो चलाउन थालेका हुन् । जिल्लामा अहिले १५ जना महिलाह अटो चलाएर आयआर्जन गर्न थालेका छन् ।

सुजता लामा
– प्रशिक्षार्थी

प्रकाशित : चैत्र ५, २०७५ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्