१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अटो चलाउँदै महिला

सिन्धुलीमाढी — जागिर खान पर्याप्त शिक्षा नलिएका र घरव्यवहारका काममा व्यस्त महिलालाई अटो चलाउने पेसाले भने राहत दिन थालेको छ । आर्थिक रूपले सबल बन्न उनीहरू सिन्धुलीमाढी बजारमा अटो व्यवसास अपनाउन थालेका छन् । सुरक्षित ढंगले यात्रुलाई गन्तव्य पुर्‍याउन थालेपछि उनीहरूप्रति यात्रुको विश्वाससमेत बढेको छ ।

‘यात्रुप्रति विश्वास थपिएको छ,’ जिल्लाको पहिलो महिला अटो चालक तथा भद्रकाली यातायात प्रालिकी अध्यक्ष रेखा गौतमले भनिन् । उनले दुई वर्षदेखि अटो चलाउन थालेकी हुन् । महिलाहरूले चालकको काम गर्न हुँदैन भन्ने परम्परागत सोचाइलाई तोड्न तथा आर्थिक रूपमा सबल बन्न अटो चलाउन थालेको उनले बताइन् ।


‘सुरुसुरुमा अटो चलाउँदा हेर्ने मान्छेहरूको लाइन हुन्थ्यो । महिलाले चालकको काम गर्न सक्छ भनेर विश्वासन नै गर्दैनथे । ग्राहकहरू पनि त्यति आउँदैनथे,’ उनको अनुभव छ, ‘अहिले पुरुषले भन्दा त झन् सुरक्षित तवरले चलाउँदा रहेछन् भन्न थालेका छन् ।’


महिलाले चालकको काम गर्न सक्दैनन् भन्ने गलत सोचाइलाई चिर्दै महिला चालक अटो चलाउन थालेका हुन् । सुरुसुरुमा महिलाले पनि चालकको काम गर्छन् र ? भनेर प्रश्न गर्नेहरूले नै अहिले हौसला दिन थालेको कमलामाई नगरपालिका ४ मल्लागाउँकी विनीता देवकोटा बताउँछिन् । अटो चलाउन थालेपछि घरव्यवहार चलाउन र छोराछोरी पढाउन सहज भएको देवकोटाको ठम्याइ छ । सबैले सम्मान गर्न थालेकाले उनलाई हौसला मिलेको छ ।


‘हामी महिलाले चालकको काम के गर्न सकौंला र भन्ने लागेको थियो,’ सुरुको अनुभव राख्दै कनपा ६ धुराबजारकी सुशीला बस्नेत आफूभन्दा अगाडि अटो चलाएका दिदीबहिनीलाई देखेर प्रेरणा मिलेको सुनाउँछिन् । जसका कारण अहिले सुशीला आर्थिक रूपमा सक्षम भएको बताउँछिन् । अटो व्यवसायबाट उनी अहिले खुसी छिन् । कनपा ४ मिलनचोककी एकल महिला सरिता सुनुवारले भने सबै जिम्मेवारी एक्लैले निर्वाह गर्नुपर्ने भएकाले बिहान घरधन्दा सकेर मात्र अटो चलाउन निस्किन्छिन् । दिउँसो फुर्सदको समय सदुपयोग गर्दा मात्रै पनि आफ्नो २ छोरीलाई पढाउन र घरव्यवहार टार्न सहज भएको उनी बताउँछिन् ।


अरू जागिर तथा काममा जस्तो १०(५ बजेसम्म अथवा ७(५ बजेसम्म काम गर्नै पर्छ भन्ने छैन । ‘आफ्नो घरधन्दा सकेर ढुक्कले दिउँसो फुर्सदको समयमा अटो चलायो फेरि साँझको काम गर्न घर पुग्यो । सहज छ,’ उनले थपिन् । महिलाले घरभित्रको काम मात्रै गर्नुपर्छ, अझ चालकको काम त गर्नै हुँदैन भन्ने सोचाइलाई गलत सावित गर्दै सिन्धुलीका महिलाहरू अहिले अटो चलाउन थालेका हुन् । जिल्लामा अहिले १५ जना महिलाह अटो चलाएर आयआर्जन गर्न थालेका छन् ।


सुजता लामा

– प्रशिक्षार्थी

प्रकाशित : चैत्र ५, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?