१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बस्ती बग्ने डरले विकल्प खोजी

कृष्ण थापा

नुवाकोट — भारी वर्षा र भुकम्पले किम्ताङ गाउँ पहिरोको उच्च जोखिमा छ  । स्थानीय बासिन्दाले गाउँ जोखिममा परेको गुनासो गरेपछि प्रशासनले शनिबार स्थलगत अवलोकन गरेको छ  ।

बस्ती बग्ने डरले विकल्प खोजी

निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगर, स्थानीय जनप्रतिनिधिहरूसहितको टोलीले म्यागङ गाउँपालिका–४ स्थित किम्ताङ पहिरो र बस्ती निरीक्षण गरेको हो । बस्तीमुनि ठूलो पहिरो छ । पहिरो नजिककै गाउँलेका भत्केका केही घर छन् । भत्केका घरनजिक पनि स्थानीयवासी अझै बसिरहेका छन् । अलि पर कच्ची सडक छ । कच्ची सडक किनारमा स्थानीयले गुम्बा बनाएका छन् । केहीले पक्की घर निर्माण गरेर पसल र होटलसमेत सञ्चालन गरेका छन् ।


माथिबाट झट्ट हेर्दा गाउँमुनि पहिरो आएको देखिँदैन । गाउँको पूर्वीभेगबाट पहिरो गएको छ । पारि घना जंगल छ । ‘बस्तीमुनि ठूलो पहिरो रहेछ,’ निमित्त प्रजिअ अधिकारीले निरीक्षणपछि, ‘वर्षात्मा पहिरो नजाला भन्न सकिन्न ।’ किम्ताङ पहिरोले चिनिएको उक्त स्थानमा बर्सेनि पहिरो जाने गरेको छ । २०२८ सालदेखि किम्ताङवासी पहिरोको चपेटामा पर्न थालेको स्थानीयले बताए । ‘बर्खा लागेपछि बस्न सकिन्न,’ पहिरोनजिक घर भएकी एक महिलाले भनिन्, ‘पानी पर्न थालेपछि पल्लो गाउँमा बनाएको कटेरोमा बस्न जान्छौं ।’ पहिरोमाथि ४ सय ३० भन्दा बढी घरधुरी छन् । ती घर पहिरोको उच्च जोखिममा छन् ।

‘स्थानीयवासी वर्षात्को समयमा रातभरि सुत्नै सक्दैनन्,’ वडा सदस्य सन्तबहादुर घलेले पहिरो देखाउँदै भने, ‘२४ घरलाई माथि सुरक्षित ठाउँमा सार्ने तयारीमा छौं ।’ ४ वर्षअघि पहिरो पीडितलाई स्थानान्तरण गरी हालको टुडी मदानमा सार्ने प्रक्रिया अघि बढाइएको थियो । पछि विकल्पका रूपमा हाल केन्द्रीय कारागार निर्माण भइरहेको विदुर नगरपालिका ६ चण्डीपोखरी राख्ने भनियो । चण्डीपोखरीका स्थानीयले विरोध गरे । त्यसपछि पहिरोपीडित र चण्डीपोखरीवासीबीच झगडा पनि भयो । पहिरोपीडितले बास माग्दै आन्दोलन समेत गरे ।


आन्दोलन त्यत्तिकै सेलायो । हाल केन्द्रीय कारागार बनाउन लागिएको ठाउँमा ०३१/३२ सालमा तिब्बतबाट भागेर नेपाल सरकारको शरणमा आएका तिब्बती खम्पा राखिएको थियो । अहिले खम्पाहरू छैनन् । तर उक्त स्थान किम्ताङ पहिरोपीडितले भने पाउन सकेनन् । गत असार दोस्रो साता भारी वर्षाले किम्ताङका १७ धुरी स्थानीयवासीलाई १ किलोमिटर माथि सुरक्षित स्थानमा विद्यालयमा राखिएको थियो । त्यतिबेला स्कुल बन्द गरेर चन्द्रदेवी माविमा उनीहरूलाई स्थानान्तरण गरिएको थियो । किम्ताङ पहिरोपीडितले भौगौर्भिक स्थानको अध्ययन गरेर सुरक्षित बासस्थानको माग गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?