सुनकोसीका एक्ला विद्यार्थी

राजकुमार कार्की

फिक्कल, सिन्धुली — फिक्कल गाउँपालिका— ४ खाङसाङस्थित सुनकोसी माविको कक्षा ९ मा अध्ययनरत पासाङ तामाङलाई घरमै बसेर पढेको जस्तो अनुभव हुन्छ । ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्र हुन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा रहेको सुनकोसी माविका कक्षा ९ मा अध्ययनरत एक्ला छात्र पासाङ तामाङलाई अध्यापन गराउँदै शिक्षक ।तस्बिर : राजकुमार/कान्तिपुर

उनलाई अध्यापन गराउन शिक्षक सहेन्द्र यादव पुरापुर खटिन्छन् । छात्रा अञ्जना श्रेष्ठले पनि ऐच्छिक विषय गणित रोजेकी छन् । तामाङ सबै दिन उपस्थित हुन्छन् तर श्रेष्ठको उपस्थिति त्यति बाक्लो हुँदैन ।

विद्यालय प्रांगणमा अध्यापन गराइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जति जनाले जुन विषय रोज्यो त्यसमा पूरा समय दिएर पढाउनुपर्ने बताए । ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा होइन, चौरमा राखेर पढाउँछन् । त्यसो त विद्यार्थी संख्या नै कक्षा ९ मा १८ जना रहेको छ ।

विद्यार्थी कम भएर एक्लो पढ्न पाउँदा तामाङ भने दंग छन् । भन्छन्, ‘एक्लै पढ्दा नजानेको सबै सोध्न पाइन्छ, पूरा समयपढ्दा धेरै सिक्न पाइने रहेछ ।’ यसै शैक्षिक सत्रमा एसईई परीक्षामा सामेल हुने कक्षा १० मा भने उक्त माविमा ८ जना मात्र विद्यार्थी रहेका छन् ।
ती ८ जना विद्यार्थीलाई अध्यापन गराइरहेकी शिक्षिका कुन्ता दाहाल विद्यार्थी संख्या घट्दै गएकोमा चिन्तित छिन् । ‘हामीले पूरा समय पढाउने हो तर विद्यार्थी कम हुँदै जाँदा दिक्क लागेर आउँदो रहेछ,’ उनले भनिन् ।

८ जना विद्यार्थीमा पनि दुई छात्र र ६ जना छात्रा रहेका छन् । उनीहरूलाई समेत विद्यालयको प्रांगणमा नै राखेर अध्यापन गराउने गरेको तिनै शिक्षिका दाहालले सुनाइन् ।

भूकम्पपश्चात विद्यालय भवन चर्किएकाले कक्षाकोठाको समेत अभाव भएको छ । विद्यालयका अर्का शिक्षक दीपक बुढाथोकीका अनुसार सेवा क्षेत्र र जनसंख्या कम भएकाले विद्यार्थीको संख्या घट्दै गएको हो । हुनेखाने सबैले निजी विद्यालयमा छोराछोरी लैजाने भएकाले विद्यार्थी संख्या सरकारी विद्यालयमा कम हुनु उनी स्वाभाविक ठान्छन् । सुनकोसीपारि ओखलढुंगाका विद्यार्थीहरू नदी तर्ने समस्याले ल्याउन नसक्दासमेत विद्यार्थी कम हुनुको कारक मान्छन् उनी ।

पढाइको गुणस्तरका विषयमा अभिभावकलाई बुझाउन नसक्दा हुनेखाने सबैले निजी विद्यालय ताक्ने भएकाले समेत अब्बल विद्यार्थी कम भई एसईईको नतिजामा कमजोर आउने भएकाले आकर्षण घटेको विद्यालयका प्रअ केशव पहाडीको बुझाइ छ । विद्यालयका १ देखि १२ कक्षासम्ममा २ सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको तथ्यांकमा देखिन्छ । तर विद्यार्थीको उपस्थिति भने आधाजसो मात्रै हुने गरेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

तेलभन्दा पानी महँगो

टीकाप्रसाद भट्ट

रामेछाप — तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको ३ सयले भान्सामा तेल पुर्‍याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ । 

जलवायु परिवर्तनले परम्परागत स्रोतहरू सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको खानेपानी खान स्थानीय बाध्य छन । बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेलभन्दा खर्चिलो हुन थालेको हो ।

जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौं, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने । भुजेलजस्ता सामान्य आय नभएका परिवारलाई मुख रसाउने कुरा असामान्य बन्दै गएको छ । मन्थलीमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी तथा उपभोक्ता समितिले गत महिनासम्म ५ सयमा महिनामा न्यूनतम पानी वितरण गर्ने गरेको थियो । मासिक २० हजार लिटर पानीका लागि उक्त शुल्कले नधानेपछि १ सय थपिएको छ ।

‘बिजुलीको भाउ अत्याधिक भएकाले पानी महसुल बढाउनुपरेको हो,’ समितिका व्यवस्थापक जगदीश सुवेदीले भने । सुवेदीका अनुसार मन्थलीमा वितरण भएको करिब ९ सय धारामा महिनाभरि पानी दिन झन्डै ४ लाख रुपैयाँ बिजुलीको महसुल मात्र तिर्नुपर्छ । कर्मचारी र अन्य सञ्चालन खर्चका कारण योजनाको सञ्चालन कठिन बन्दै गएको हो । बिजुलीका सहायताले विभिन्न ३ स्थानबाट पानी लिफ्ट गरी माथिको लगेर उक्त समितिले उपभोक्ताको धारामा पानी पुर्‍याउने गरेको छ ।

समितिको स्वामित्वमा भलुवाखोला र मचवारी खोला मुहान भएका दुईटा खानेपानी संरचना भएपछि त्यसबाट हिउँदमा पानी झर्दैन । हिउँदमा पूरै बिजुलीको सहयोगले पानी लिफ्ट गर्नुपर्ने भएकाले वर्षायामको भन्दा तेब्बर महँगो पर्ने सुवेदीले बताए ।

विद्युत् प्राधिकरणले सिँचाइ प्रणालीका लागि विद्युत् महसुलमा छुट दिने प्रावधान अंगिकार गरेको छ । तर सिँचाइभन्दा पनि महत्त्वको खानेपानी प्रणालीका लागि भने महसुल छुटको व्यवस्था गरेको छैन । ग्राहस्थ उपभोगकै रूपमा पानी तानेको शुल्क तिर्नुपर्ने बाध्यताले उपभोक्तामाथि भार थोपरिएको हो ।

पानी तान्ने बिजुलीको मूल्यका अतिरिक्त विद्युतीय उपकरणले उपभोक्ता थप हैरानीमा छन् । लाखौं रुपैयाँ पर्ने पानी तान्ने पम्प जल्दा उपभोक्ताले नसोचेको पैसा जोहो गर्नुपर्छ । विद्युत्मा हुने गडबडी र दक्ष जनशक्ति खानेपानी उपभोक्ताहरूले व्यवस्था गर्न नसक्दा मेसिन जल्ने समस्या बढ्दो छ ।

‘खानेपानी प्रणालीमा जडान भएको बिजुलीको महसुल सिँचाइकै हाराहारीमा झार्नका लागि हामीले धेरैपटक विभिन्न स्थानमा अनुरोध गरेका छौं,’ रामेछापको छतिवने खानेपानी उपभोक्ता समितिका कमलबहादुर कार्की भन्छन्, ‘तर सम्बन्धित निकायले कानमा तेल हालेर बसेको छ ।’ तेलभन्दा महँगो खानेपानी खान बाध्य सर्वसाधारणलाई राहत हुने काम गर्नका लागि स्थानीय सरकारले समेत चासो नदिएको उनले बताए ।

दक्षिणी क्षेत्रमा १० वर्ष यता अधिकांश स्रोत सुकेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा आउने ८० प्रतिशत योजना लिफ्ट प्रणालीकै आउने गरेको इन्जिनियर नवराज सत्यालले बताए । योजना बनाउनका लागि लिफ्ट प्रणाली असाध्यै महँगो पर्छ । बिजुलीका विकल्पको रूपमा सोलार प्रणालीबाट पानी तान्ने योजनाअघि सारेका उपभोक्ता समितिले पनि बिजुलीकै भर पर्नुपरेको छ । सोलार प्रणालीका ब्याट्री फेरिरहनुपर्ने र घाम नलागेको बेला पानी तान्न नसकिने समस्या छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्