चियाबारीले लोभ्यायो पर्यटक

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — तीन वर्षदेखि बन्द रहेको मेलम्ची नगरपालिका २ स्थित ‘एभरेस्ट टी गार्डेन ’ प्राकृतिक रूपमा व्यवस्थित बनाएर चाँडै सञ्चालनमा ल्याइने भएको छ  । पर्यटकीय आकर्षणको केन्द्रबिन्दु चिया बगान आउँदो वैशाखमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ ‘अर्गानिक सर्टिफिकेसनदेखि ईआईई’ को प्रक्रियामा लागिपरेको ‘एभरेस्ट टी गार्डेन’ का संञ्चालक मोहन गिरीले बताए  ।

चियाबारीले लोभ्यायो पर्यटक

‘बेस्ट क्वालिटीको चिया उत्पादन गरिरहेका छौं, त्यसैको ‘अर्गानिक सटिफिकेसन’ को प्रक्रियामा व्यस्त छौं,’ उनले भने । चिया बगानको माथिल्लो क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले त्यससम्बन्धी छलफलमा रहेको उनले सुनाए ।

भूकम्पले पछाडि धकेलेको चिया बगानसँगै होमस्टे, ‘टी टिचिङ स्कुल’ देखि विभिन्न पर्यटकीय अवधारण लिएर खुला गरिनेछ । ‘भौगोलिक रूपमा धुवाँधूलोरहित, प्राकृतिक वातावरणमा मात्रै चिया बगानलाई अर्गानिक पर्यटकीय क्षेत्रको रूपमा खुलाइने छ,’ उनले भने । उच्च स्तर ग्रेडिङको उत्पादन भएकाले १२ हजार किलो मात्रै चिया उत्पादन भएको एभरेस्ट टी गार्डेनले जनाएको छ । एक हजार ५ सय रोपनी प्रयोगमा ल्याइएकोमा नौ सय रोपनी क्षेत्रफलमा मात्रै चिया उत्पादन भइरहेको छ ।


२०५२ सालमा पहिलो पटक व्यवसायी सोमप्रसाद गौचनले यहाँको ८ सय रोपनीमा चिया खेती विस्तार गरेका थिए । त्यसको दुई वर्षलगत्तै बाजुरावासी मोहन गिरीले लिएपछि पर्यटकीय आर्कषण बोकेको भोटेचौरस्थित चिया बगान व्यवस्थित बनाइँदै छ । गार्डेनका फिल्ड इन्चार्ज राजकुमार खतिवडा ४५ वर्षका लागि स्थानीयको जग्गा लिइएकोमा २२ वर्ष बितिसकेको सुनाउछन् । ‘अर्गानिक चियासम्बन्धी खोज र अनुसन्धानको हब क्षेत्र बनाउन सबै कस्सिएका छौं,’ उनले भने ।


मेलम्ची नगरपालिकाको पर्यटकीय योजनासग समन्वय गरेर ‘टी गार्डेन’ को कार्ययोजना बनाइएको उनको कथन छ । दर्जनौं हिमशृंखलाले घेरिएको ‘गार्डेन’ ले झन्डै ७० जना लाई रोजगारी दिइरहेको छ । मेलम्ची नगरपालिका वडा २ स्थित चिया बगानको ‘अर्गानिक सटिफिकेसन’ भइसकेपछि वातावरणमैत्री तरिकाले पर्यटकीय प्रवर्द्धनमा जुट्ने उनको कथन छ । 'टी हब' बनाउने नगरको योजना राजधानीबाट नजिकै रहेको पर्यटकीय आकर्षणको केन्द्रबिन्दु एभरेस्ट चिया बगानजस्तै मेलम्चीलाई ‘टी हब’ बनाउने नगरको योजना छ ।

‘चिया बगान ‘द एभरेस्ट टी गार्डेन’ को समन्वयमा मेलम्चीलाई पर्यटकीय नगरीको रूपमा चिनाउने लक्ष्य राखेर दीर्घकालीन योजना बनाएका छौं,’ मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले भने । भोटेचौर, हैबुङ हुँदै धौलेगिरि, धुसेनीचौरसम्म चिया बगान बनाउने योजनाका लागि ५ करोड छुट्याइएको उनले प्रस्ट्याए । ‘द एभरेस्ट टी गार्डेन’ को योजना बनाएर व्यवस्थित रूपमा पर्यटकीय उन्नतिका लागि पहलकदमी लिएको उनको भनाइ छ । ‘द एभरेस्ट टी गार्डेन’ नगरसँग समन्वय गर्न सकारात्मक देखिएको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?