१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तातोपानी नाका : ‘तीन महिनामा खुल्छ’

अनिश तिवारी

(सिन्धुपाल्चोक) — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तातोपानी नाका तीन महिनामा खुल्ने बताएका छन् । सीमावर्ती तातोपानीको अवलोकन भ्रमणमा पुगेका महासेठले भौतिक संरचना तत्कालै मर्मतसम्भार सकेर नाका सञ्चालनमा ल्याउन माथिल्लो चीनको केन्द्रीय सरकारसँग आन्तरिक बलियो सम्झौता भइसकेको दाबी गरे । 

तातोपानी नाका : ‘तीन महिनामा खुल्छ’

‘कुनै हालतमा आगामी ‘मे’ मा नाका खुल्नेछ, कुनै अवरोध आएर यो काम रोकिनेवाला छैन,’ सिन्धुपाल्चोकबाट चीन जोड्ने सीमाक्षेत्रमा पुगेर महासेठले भने । चीन र नेपालबीच भौतिक संरचना कति बनाउने भन्ने बारेमा पूरा ‘एग्रिमेन्ट’ नै गरिएको उनको कथन थियो । कति नेपाल र चीन पक्षले भौतिक संरचना पुनर्निर्माण गर्ने भन्नेबारेमा व्यापक छलफल गरेर निचोडमा पुगिसकेको उनको भनाइ छ । ‘साधी खोल्सा, लार्चा जोड्ने पक्की मोटरेबल पुलका लागि ‘क्याबिनेट’मा उठाउनेछु,’ उनले भने । प्रदेश–३ का उद्योग तथा वनमन्त्री अरुण नेपाल, प्रतिनिधिसभा १ का सांसद अग्नि सापकोटा लगायतका जनप्रतिनिधिले बाह्रबिसेदेखि सीमासम्मको अवस्था निरीक्षण गर्दै नाका खुल्नुपर्ने

आवाज उठाए ।


बजारबाट तातोपानी जोड्ने साधी खोल्सा, सुक्खा बन्दरगाह, लार्चास्थित बेलिब्रिज हुँदै सीमासम्म क्रमश: अवलोकन गरे । भूकम्प, भोटेकोसी बाढी, बर्खे पहिरोले क्षतिग्रस्त बनेको कोदारी राजमार्ग र सुक्खा बन्दरगाहको काम गरिरहेको चिनियाँ कम्पनीका प्रतिनिधिसँग भेटेर समूहले यथार्थबारे बुझे । गएको दसैंअघि नाकासम्म निरीक्षणमा आएको महासेठसहितको टोलीले दसैंलगत्तै भौतिक पूर्वाधार निर्माण सकेर आगामी ‘मे’ मा नाका खुलाउने निक्र्यौल निकालेको थियो ।


चीनतर्फको भूभाग लगभग तयार हुने अवस्थामा पुगिसक्दा सीमाभेग सडकको हालै सामान्य मर्मतसम्भार मात्रै भइरहेको छ । तान सुन एन्ड ब्रिज कम्पनीले मितेरी पुल बनाइरहे पनि छेउकै लिपिङ क्षेत्र खण्डहरमा परिणत भइरहेको छ । बर्खा नजिकिइरहँदा पुन: नाकामा भौतिक संरचना क्षतिग्रस्त हँुदा अवरोध हुने देखिएको छ । लिपिङ जोड्ने पुल, बेलिब्रिजदेखि साधी खोल्सा पुल अझै पुनर्निर्माण नगरिँदा आउदो बर्खाले सम्पर्क टुटाउने पक्का भएको स्थानीय बताउँछन् ।


यसअघि दर्जनौं पटक सरकारी अधिकारीबाट नाका निरीक्षण गर्ने काम भइसकेको छ । औपचारिक र अनौपचारिक गरी झन्डै दसपटक बैठक भइसकेका नाका खोल्न सकेको छैन । चिनियाँ राजदूत यु होङले नाका खोल्न चीन सधैं तयार रहेको बताउदै आएकी छन् ।


चिनियाँ सरकारी अधिकृत भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी जुआनलिउले नाका खोल्ने संकेत दिएकी थिइन् ।


‘तर, नाका खोल्ने सुरसार स्पष्ट हुन सकेन, अब केही सुरसार देखिन्छ, ’भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले भने । अब सबै कुराको डायरी टिपोटसहित मन्त्रीको नेतृत्व टोलीले निर्देशन गरी नाका खुलाउन पहलकदमी लिएकाले नाका खुल्नेमा स्थानीय आशावादी रहेको उनले प्रष्ट्याए ।


‘नाका नखुल्दा युवा बिदेसिए, आयआर्जन शून्यमा पुग्यो,’ उनले भने । अन्तिम चरणमा पुगेको बन्दरगाहबाहेक सीमाको अन्य पूर्वाधार बलियो बनाइएको छैन । भूकम्पपछि हालसम्म बन्द रहेको तातोपानी नाका नचल्दा सीमाको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।


प्रकाशित : फाल्गुन ६, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?