एकीकृत बस्तीले ल्यायो खुसी

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प गएको चार वर्षपछि बल्ल मेलम्ची नगरपालिका १२ की सुन्तली तामाङको अनुहार उज्यालो भएको छ । एकीकृत बस्ती निर्माण धमाधम भइरहँदा सुन्तली छेउमा उभिएर हेरिरहेकी थिइन् ।

मेलम्ची नगरपालिका १२ थाक्ले गाउँमा निर्माणाधीन एकीकृत बस्ती ।तस्बिर : अनिश/कान्तिपुर 


‘बल्ल सबैको सपना पूरा हुन लागेको छ । यहाँ पनि सुन्दर एकीकृत बस्ती बन्दैछ,’ उनी वरिपरिको संरचना हेर्दै खुसी भइन् । सरकारले दिएको अनुदानमा कसरीबनाउने अन्योलमा रहेकी उनले एकीकृत बस्तीमा बस्ने सपनाबुनेकी छन् ।

थाक्ले तामाङ टोलका ६२ तोपबहादुर तामाङले एकीकृत बस्ती बन्न थालेलगत्तै गुम्बामा गएर बुद्ध र पदमसम्भवको स्तुति गाए । ‘दैवले बल्ल पुकार सुने, एकीकृत बस्ती बन्ने भएपछि खुसीले निन्द्रा पनि लाग्न छोडिसकेको छ,’ उनले भने ।

महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको सहयोगमा मेलम्ची नगरपालिका १२ थाक्ले गाउँमा ३१ परिवारका लागि एकीकृत बस्ती ठडिँदैछ । ‘१२ आवासको डीपीसी सकिइसकेको छ , ७ वटाको ‘सिल लेभल’ भइरहेको छ,’ मेलम्ची नगरपालिका १२ का वडाध्यक्ष रामबहादुर लामाले भने । धुर्मुस–सुन्तलीको गिरानचौर, अभिनेत्री श्वेता खड्काको माझी एकीकृत बस्तीजस्तै बनोस् भन्ने स्थानीयको चाहना रहेको उनले प्रस्ट्याए ।

मेलम्ची नगरपालिकाले थाक्ले जोड्ने सडकलाई मर्मत सम्भार गरेर अन्य पूर्वाधारमा पहलकदमी लिएको जनाएको छ । तामाङ समुदायको बस्ती छेउमा बौद्ध परम्परा संस्कृतिको एउटा गुम्बा र मन्दिर बनाउने योजना छ । ‘एकीकृत बस्तीसँगै युवावर्गले रोजगारीको सीप पाए, यसले उनीहरूलाई उत्साह थपेको छ,’ उनले भने । सरकारी मापदण्डनुसार ‘इन्टरलक इँटा’ प्रयोग गरेर बन्ने एकीकृत बस्तीको घर एउटै रङको भूकम्पप्रतिरोधी आवास हुनेछ ।

परिवार संख्या धेरै भएको आधारमा चार कोठा एउटै आकारको र हरियो रङको आवास बनाइनेछ । ‘मापदण्डमा बसेर उहाँहरूको इच्छानुसार आवास निर्माणको कार्य तीव्ररूपमा भइरहेको छ,’ महिला आत्मनिर्भरता केन्द्रका अनुगमन तथा मूल्यांकन अधिकृत राजेन्द्र चौलागाईंले भने ।

जिल्लाभर भूकम्पपछिको पुनर्निर्माणमा एकीकृत आवासको अवधारणा रुचाइएकाले यस्तो अभियान ल्याइएको उनले जनाए । ३१ परिवारबाट प्रत्येक दिन एकजना अनिवार्य श्रमदान गर्नका लागि आउने गरेका छन् । दुई वर्ष अगाडिको एकीकृत बस्तीको सपना पूरा हुन लागेकाले सबै रमाउन थालेको उनको कथन छ ।

‘इन्टरलक’ इँटा बनाउने तालिम पाएपछि तामाङ समुदायमा झनै जाँगर पलाएको थाक्ले एकीकृत बस्ती विकास समितिका अध्यक्ष खिलबहादुरतामाङ सुनाउँछन् ।

‘स्थानीयले एकीकृतआवाससँगै बस्तीमा प्रयोग भइरहेको इँटा बनाउने तालिमले सीप पाएका छन्,’ तामाङले भने । एकीकृत बस्तीसँगै अहिले प्राय: प्रयोगमा आइरहेको इँटा उत्पादन गर्ने सीपमूलक तालिम पाएपछि गाउँमा खुसी थपिएकोउनले प्रस्ट्याए ।
‘इन्टरलक इँटा बनाउने २० जनाले तालिम लिएका छन्,’ उनले भने । ३१ परिवारलाई एकीकृत बस्तीका लागि इन्टरलक इँटा बनाउने विधि सिकाइएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

खानेपानी आयोजना निर्माणमा ढिलाइ

कान्तिपुर संवाददाता

हेटौंडा — थाहा नगरपालिकामा खानेपानी आयोजनाको निर्माण कार्यले गति लिन सकेको छैन । मुलुक संघीय संरचनामा गएपछि केन्द्रीय सरकार वा प्रदेश कसले काम गर्ने भन्ने द्विविधा रहेकाले आयोजनाको निर्माण कार्यले गति लिन नसकेको हो ।

खानेपानी अभाव भएपछि स्थानीयवासीहरू निराश छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाले आव २०७४/०७५ मा काम गर्ने गरी स्वीकृत भएको आयोजना अहिले अलपत्र छ ।

साबिकको पालुङ गाविस ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा आयोजना सञ्चालनका लागि आवश्यक पर्ने कार्यालयसहितको पालेघर, इनार खन्ने काम र बोरिङको टेस्ट काम पनि भएको छ । आयोजनाका लागि एक हजार पाँच सय नब्बे मिटर फलामे पाइप खानेपानी डिभिजन हेटौंडाले पठाएको छ ।

पालुङमा सञ्चालन हुने खानेपानी आयोजना स्वीकृत भएपछि मुलुकमा संघीयता कार्यान्वयनको चरण सुरु भएकाले खानेपानी आयोजना सञ्चालनमा बाधा उत्पन्न भएको डिभिजन खानेपानी कार्यालयका एक अधिकृतले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर हरि पौडेलका अनुसार अहिलेसम्म थाहा बृहत् खानेपानी आयोजनाका लागि करिब ७५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

खानेपानीका लागि इनार खन्ने र रिङ हाल्नेदेखि पाइप खरिदसम्मको काम भएको इन्जिनियर पौडेलले बताए । खानेपानी आयोजनाहरू संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्न सक्ने अधिकार भएकाले कुन तहको सरकारले हेर्ने भन्न टुंगो नलाग्नाले ढिलाइ भएको उनको भनाइ छ । थाहा बृहत् खानेपानी आयोजना संघीय सरकारबाट सञ्चालन हुने भएको छ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडामा सञ्चालन भएका आयोजनाहरूमध्ये थाहासहित चारवटा खानेपानी आयोजना
संघीय सरकारमार्फत सञ्चालन हुने भएको हो ।

संघीय सरकारले सञ्चालन गर्ने आयोजनाहरूमा थाहा नगर बृहत् खानेपानी आयोजना, नामटार–१, बगुवाखोला हर्नामाडी र पदमपोखरी खानेपानी आयोजना रहेका छन् । ती आयोजनाका लागि गतसाता मात्र हेटौंडामा कार्यालय स्थापना भएको छ । बहुवर्षे आयोजनाअन्तर्गत पर्ने थाहा नगर बृहत् खानेपानी आयोजनाको चालु आर्थिक वर्षमा पनि काम उल्लेख्य हुन नसक्ने कर्मचारीहरूले बताएका छन् ।

सम्बन्धित कार्यालयमा हाजिर भएका कर्मचारीहरू समायोजन प्रक्रियामा सहभागी हुने हुनाले यसवर्ष पनि मापनयोग्य प्रगति हुन नसक्ने उनीहरूको प्रतिक्रिया छ । थाहा नगर पालुङका करिब आठ सयभन्दा बढी घरधुरीलाई मध्यनजर गरेर निर्माण कार्य सुरु गरेको उक्त आयोजनाको निर्माण तीव्रता दिनका लागि घच्घच्याउने काम भइरहेकोउपभोक्ता समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए ।

थाहा नगरको अहिलेसम्मको यो ठूलो खानेपानी आयोजना हो । खानेपानीको चरम समस्या झेलिरहेका पालुङका उपभोक्ताहरूका लागि योजना सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै स्थानीय निरोज प्रधानले भने, ‘स्थानीय सरकारले पनि यसतर्फ ध्यान दिनुपर्छ ।’ ‘यो समस्या टुंग्याउन सम्बन्धित निकायलाई दबाब दिइरहेको छु,’ नगर प्रमुख लवशेर विष्टले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्