कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खानेपानी आयोजना निर्माणमा ढिलाइ

कान्तिपुर संवाददाता

हेटौंडा — थाहा नगरपालिकामा खानेपानी आयोजनाको निर्माण कार्यले गति लिन सकेको छैन । मुलुक संघीय संरचनामा गएपछि केन्द्रीय सरकार वा प्रदेश कसले काम गर्ने भन्ने द्विविधा रहेकाले आयोजनाको निर्माण कार्यले गति लिन नसकेको हो ।

खानेपानी अभाव भएपछि स्थानीयवासीहरू निराश छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाले आव २०७४/०७५ मा काम गर्ने गरी स्वीकृत भएको आयोजना अहिले अलपत्र छ ।


साबिकको पालुङ गाविस ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा आयोजना सञ्चालनका लागि आवश्यक पर्ने कार्यालयसहितको पालेघर, इनार खन्ने काम र बोरिङको टेस्ट काम पनि भएको छ । आयोजनाका लागि एक हजार पाँच सय नब्बे मिटर फलामे पाइप खानेपानी डिभिजन हेटौंडाले पठाएको छ ।


पालुङमा सञ्चालन हुने खानेपानी आयोजना स्वीकृत भएपछि मुलुकमा संघीयता कार्यान्वयनको चरण सुरु भएकाले खानेपानी आयोजना सञ्चालनमा बाधा उत्पन्न भएको डिभिजन खानेपानी कार्यालयका एक अधिकृतले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर हरि पौडेलका अनुसार अहिलेसम्म थाहा बृहत् खानेपानी आयोजनाका लागि करिब ७५ लाख रुपैयाँ खर्च भइसकेको छ ।


खानेपानीका लागि इनार खन्ने र रिङ हाल्नेदेखि पाइप खरिदसम्मको काम भएको इन्जिनियर पौडेलले बताए । खानेपानी आयोजनाहरू संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्न सक्ने अधिकार भएकाले कुन तहको सरकारले हेर्ने भन्न टुंगो नलाग्नाले ढिलाइ भएको उनको भनाइ छ । थाहा बृहत् खानेपानी आयोजना संघीय सरकारबाट सञ्चालन हुने भएको छ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडामा सञ्चालन भएका आयोजनाहरूमध्ये थाहासहित चारवटा खानेपानी आयोजना

संघीय सरकारमार्फत सञ्चालन हुने भएको हो ।


संघीय सरकारले सञ्चालन गर्ने आयोजनाहरूमा थाहा नगर बृहत् खानेपानी आयोजना, नामटार–१, बगुवाखोला हर्नामाडी र पदमपोखरी खानेपानी आयोजना रहेका छन् । ती आयोजनाका लागि गतसाता मात्र हेटौंडामा कार्यालय स्थापना भएको छ । बहुवर्षे आयोजनाअन्तर्गत पर्ने थाहा नगर बृहत् खानेपानी आयोजनाको चालु आर्थिक वर्षमा पनि काम उल्लेख्य हुन नसक्ने कर्मचारीहरूले बताएका छन् ।


सम्बन्धित कार्यालयमा हाजिर भएका कर्मचारीहरू समायोजन प्रक्रियामा सहभागी हुने हुनाले यसवर्ष पनि मापनयोग्य प्रगति हुन नसक्ने उनीहरूको प्रतिक्रिया छ । थाहा नगर पालुङका करिब आठ सयभन्दा बढी घरधुरीलाई मध्यनजर गरेर निर्माण कार्य सुरु गरेको उक्त आयोजनाको निर्माण तीव्रता दिनका लागि घच्घच्याउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए ।


थाहा नगरको अहिलेसम्मको यो ठूलो खानेपानी आयोजना हो । खानेपानीको चरम समस्या झेलिरहेका पालुङका उपभोक्ताहरूका लागि योजना सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै स्थानीय निरोज प्रधानले भने, ‘स्थानीय सरकारले पनि यसतर्फ ध्यान दिनुपर्छ ।’ ‘यो समस्या टुंग्याउन सम्बन्धित निकायलाई दबाब दिइरहेको छु,’ नगर प्रमुख लवशेर विष्टले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?