सुनसान लिपिङ बजार

बाढी र भूकम्पपछि तातोपानी नाकाको बजार उठ्न सकेको छैन ।
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प, बाढीदेखि बर्खे पहिरोले ध्वस्त भएको सीमावर्ती तातोपानीस्थित लिपिङ बजार सुनसान बन्दै छ । सीमाक्षेत्रको मितेरी पुलदेखि सुक्खा बन्दरगाह, सडक बनिरहँदा क्षतिग्रस्त लिपिङ बजार सुक्खा पहिरोसँगै ओइरिएको चट्टानले अवरुद्ध छ ।

चीन जोड्ने व्यापारिक स्थलमार्ग तातोपानी नाकाको क्षतिग्रस्त लिपिङ बजार । तस्बिर : कान्तिपुर 

‘नाका चल्दा यहाँ पाइला राख्ने ठाउँ हुँदैनथ्यो । अनेक गरेर ठेलमठेल गर्दै मितेरी पुल पुग्नुपथ्र्यो । अहिले यो खण्डहर बनेको छ,’ लिपिङ क्षेत्र देखाउँदै भोटेकोसी गाउँपालिका लिपिङकी सुनमाया शेर्पाले भनिन् । नाका चल्दा झोले व्यापार गरेकी शेर्पाले अहिले गुजारा चलाउन सानो किनारा पसल थापेको सुनाइन् ।

‘उसबेला सबैले गुजारा चलाए । के गर्नु, यहाँको एउटा ढुंगा पनि सारिएको छैन,’ उनले भनिन् । नाका चल्दा सधैं व्यवसायी, पर्यटकले भरिने तातोपानी, लिपिङ बजार बन्द भएपछि अहिले सुनसान छ । भूकम्प, भोटेकोसी बाढी, पहिरोले एकैसाथ ‘ग्राउन्ड जिरो’ मा झरेको सीमागाउँ अझै तंग्रिन सकेको छैन ।

‘यहाँबाट उता जान निषेध छ, बजारछेउबाट उता निर्माण कार्य भइरहेको छ,’ तातोपानी भन्सार कार्यालयको गेटमा सुरक्षार्थ बसेका दुई सशस्त्र प्रहरीले भने । अन्य क्षेत्रमा व्यापक काम भइरहे पनि लिपिङ बजारको भूभागमा केही नगरिँदा जीर्ण बन्दै गइरहेको छ ।

‘यहाँको जोखिमपूर्ण भाग तत्कालै मर्मत जरुरी छ । बर्खामा जे पनि हुन सक्छ,’ सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले भने । तातोपानी भन्सार, प्रहरी चेक पोस्ट, अध्यागमन कार्यालयलगायतको संरचना दिनहुँ ध्वस्त हुँदै गइरहेको उनले जनाए ।

असुरक्षित बन्दै लिपिङ जोड्ने पुल
भोटेकोसी बाढीले ध्वस्त बनाएको सीमाको लिपिङ जोड्ने मोटरेबल पुलको छेउको भाग दिनहुँ भास्सिँदै गइरहेको छ । गएको बर्खामा लिपिङ खोलामा बाढी आउँदा छेउको भाग पूरा बगाएको मोटरेबल पुलमा सामान्य जाली/गारो लगाइँदै छ ।

दुई पटक जालीको पर्खाल जमिन भास्सिँदा भत्किएकाले पुन: त्यही काम थालिएको छ । ‘बजारक्षेत्र र सडकको संरचना पूरा कटान भएकाले एकदमै जीर्ण देखिन्छ । सामान्य मर्मत सम्भारले दीर्घकालीन हुने देखिँदैन,’ एक चिनियाँ
प्राविधिकले भने ।

बर्खाको त्रास
बर्खे पहिरोले ध्वस्त बनाएको लिपिङ जोड्ने पुरानो मोटरेबल पुल कटेपछिको कुनाको घरमा दुई परिवार बस्ने गरेका छन् । क्षतिग्रस्त बजारभन्दा परको कोदारी बजारमा भने बाक्लो बस्ती बसिसकेको छ । प्रहरी चेक पोस्टदेखि कोदारी बजारसम्म बस्ती बढे पनि आउँदो बर्खाको त्रास कायमै छ ।

‘बर्खा कता कुम्लो बोकेर भाग्नुपर्ने हो, थाहा छैन,’ कोदारी बजारका पदम तामाङले भने । दुई सय परिवारको बसोबास रहेको तातोपानीमा बर्खाको त्रास कायम उस्तै छ । ०७२ असारको बर्खे भोटेकोसी बाढीले कटानमा पार्दा सीमाको लिपिङ बजारमा ७६ घर पूर्ण रूपमा क्षति पुगेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

एक्ला हीराबहादुर

प्रताप विष्ट

हेटौंडा — उनी अहिले लोरौको सहारामा बल्लतल्ल भित्र–बाहिर गर्छन् । घरको पेटीमा घाम पर्न थालेपछि उनी लठ्ठी टेकेर बाहिर आउँछन् । 

भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउने एकमात्र जिउँदो इतिहास ८८ वर्षीय हीराबहादुर घलान ।तस्बिर : प्रताप/कान्तिपुर 

घाम डुबेपछि मात्र घरभित्र पस्छन् । बिहानको भात र दिउँसोको खाजा उनी घरको पेटीमा घाम तापेर खान्छन् । आकाशमा बादल लाग्यो भने उनी चिसोले बाहिर नै निस्कँदैनन् । घरभित्र अगेनामा आगो तापेर बस्छन् । बुढ्यौलीले घुँडा दु:खेर अहिले यताउता हिँडडुल गर्न नसक्ने विगतमा भीमफेदीबाट दर्जनौं गाडी बोकेर राजधानी पुर्‍याउने एकमात्र जिउँदो इतिहास हुन् हीराबहादुर घलान ।

५/६ वर्ष भइसक्यो, उनी घर छाडेर टाढा जान सकेका छैनन् । दुवै खुट्टाका घुँडा दु:खेर उनी अहिले लौरोको सहारामा घर भित्र/बाहिर मात्र गर्छन् । उमेरले नेटो काटिसकेको भए पनि हक्की स्वभावका घलान नयाँ पुस्ताका निम्ति भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउने उनीमात्र एक जिउँदो इतिहास हुन् । ‘आफूसँग गाडी बोक्नेहरू सबै मरिसके,’ घलानले भने, ‘अब म मात्र बाँकी छु । मेरो पनि अब धेरै समय छैन ।’

छिमेकीमात्र होइन, सँगै गाडी बोक्ने जुक्तबहादुर वाइबाको सोमबार मृत्यु भएपछि अब उनलाई एक्लो महसुस भएको छ । घलानको घरबाट जुक्तबहादुरको घर पुग्न १५ मिनेट मात्र लाग्छ । तर घलान जुक्तबहादुरको मृत्यु हुँदा जान सकेनन् । अहिले गाडीले मान्छे बोक्छ । त्यति बेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी एक मात्र जीवित पात्र हुन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा–५ पुरन्डीका ८८ वर्षीय घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका हुन् । उनले २५ वर्ष लगातार भीमफेदीबाट काठमाडौं गाडी बोकेर पुर्‍याए । त्यही हिँडाइले होला, अहिले उनलाई आँगन नै परदेश बनेको छ । अहिले उनी विगतको जिन्दगी सम्झेर आफैं दंग पर्छन् ।

‘सयको हाराहारीमा गाडी बोकेर काठमाडौं पुर्‍याइयो,’ घलानले ठूलो स्वरमा भने, ‘अहिले आफैंलाई अरूले बोकेर भित्रबाहिर गर्दिन पर्ने भो ।’

गाडी बोकेकै कमाइले उनले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । त्यही जग्गा घरको माथिल्लो तलाको झ्यालबाट हेर्दै चित्त बुझाउने गरेका छन् । ‘गाडी बोकेको कुरा गर्दा नातिनातिनाले पत्याउँदैनन् । गाडी पनि बोक्न सकिन्छ भनेर उल्टै जिस्क्याउँछन्,’ घलानले भने, पहिला पैसाको पनि दु:ख थियो, कामको पनि दु:ख थियो, अहिलेको जस्तो सजिलो कहाँ थियो र ?’ घलानलाई गाडी बोक्न मार्खुका नाइकेले लगेका हुन् ।

बलियो र अग्लो भएका कारणले उनलाई नाइकेले सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टिममा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टिमलाई नाइकेमार्फत राणाजीले २० रुपैयाँ बक्सिस दिएको घटना उनको दिमागमा अझै ताजा छ ।

पहिलो पटक नै गाडी बोकेर पुर्‍याउँदा बक्सिस पाएर उत्साहित बनेका घलानले जीवनको यौवन अवस्था नै झन्डै गाडी बोक्नेमा नै बिताए । गाडी बोक्दाबोक्दै उनले विवाह गरेका हुन् । उनका दुई छोरा र तीन छोरी छन् ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्