कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

वनकरियाको घर होमस्टे

प्रताप विष्ट

हेटौंडा — लोपोन्मुख वनकरिया समुदायको बस्तीमा गाउँपालिकाले होमस्टे (घरवास) सञ्चालन गर्ने भएको छ । मकवानपुरको मनहरी गाउँपालिकाले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई बास बसेको माया वनकरियाको घरमा होमस्टे सञ्चालन गर्ने तयारी गरेको छ ।

वनकरियाको घर होमस्टे

मनहरी गाउँपालिका–४ हाँडीखोलास्थित वनकरिया समुदायको बस्तीमा ६ वर्ष अघि डा. भट्टराई एक रात बास बसेका थिए ।


‘सोही घरबाट होमस्टे सञ्चालन गर्न तयारी गरेका छौं,’ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । तत्कालीन प्रम भट्टराई २०६९ माघ २२ गते माया वनकरियाको घरमा बेलुकाको खाना खाएर बास बसेका थिए । उनले वनकरियाले खाने गिट्ठा, भ्याकुर र कोदाको ढिँडो भोर्लाको पातमा राखेर खाएका थिए ।


उपाध्यक्ष मनिला विष्टले भनिन्, ‘प्रधानमन्त्री बास बसेको घर ऐतिहासिक भएकाले होमस्टे त्यहींबाट सञ्चालन गर्न लागेका हौं ।’


वनकरिया बस्तीमा होमस्टे सञ्चालन गर्नका लागि आइतबार वनकरिया बस्तीमा गापाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पुगेका थिए । वनकरिया समुदायसँग लामो अन्तरक्रिया गरेर उक्त घरमा होमस्टे सञ्चालन गर्ने निधो गरेको वडाध्यक्ष ध्रुव खड्काले बताए ।


होमस्टे सञ्चालनका लागि माया वनकरियाकै संयोजकत्वमा होमस्टे (घरवास) सञ्चालन व्यवस्थापन समिति गठन गरिएको छ । गाउँपालिकाले वनकरिया बस्तीमा होमस्टे सञ्चालन गर्न ५ लाख रुपैयाँ विनियोजित गरेको छ । प्रभावकारिता हेरेर बस्तीमा थप होमस्टे स्थापना गर्ने सोच रहेको अध्यक्ष उप्रेतीले बताए ।


फागुन ५ गतेसम्ममा वनकरिया बस्तीलाई सफा र स्वच्छ बनाउने अभियान सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । होमस्टेका बारेमा व्यावहारिक ज्ञान हासिल गर्नका लागि मकवानपुरको चित्लाङस्थित होमस्टेमा समितिले अवलोकन गर्न जाने निर्णय गरेको संयोजक मायाले बताइन् ।


‘नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् आगामी चैतको अन्तिम सातामा होमस्टे सञ्चालनमा ल्याउने तयारी छ,’ वडाध्यक्ष खड्काले भने । मुलुकको अन्य भागमा वनकरिया समुदायको बसोबास छैन । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा वनकरिया बस्ती छ । उक्त बस्तीमा १८ घरधुरीमा ८९ जना वनकरिया छन् ।


करिब २० वर्षअघिसम्म चुरेघाँचमा फिरन्ते जीवन बिताउँदै आएका वनकरिया समुदाय २०५५ सालदेखि मुसेधापमा छाप्रो हालेर बस्न थालेका हुन् । सरकारले उक्त समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यले २०६६ सालदेखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : माघ २९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?