१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

३ हजार ८ सय रुख काटिने

विद्युत विस्तार योजना
बलराम घिमिरे

रसुवा — थाम्बुचेत हबदेखि त्रिशुली थ्रिबिहबसम्म २ सय २० केभी प्रशारण लाइन निर्माण गर्दा ३ हजार ८ सय २५ वटा रूख काटिने भएको छ । रुख कटान गर्न र वनको जग्गा भोगाधिकार गर्न गत साता बसेको मन्त्रीपरिषद बैठकले स्वीकृति दिइसकेको छ । कटान गर्नुपर्ने रुखको गणना भइसकेको छ । 

रसुवा जिल्लातर्फ ३ हजार ३ सय १४ र नुवाकोट जिल्लातर्फ ५ सय ११ वटा रुख काट्नु पर्ने चिलिमे–त्रिशुली २ सय २० केभी प्रशारण लाइन आयोजनाले बताएको छ । रुख कटानका लागि अझै एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ । मन्त्रिपरिषद बैठकले रुख काट्न स्वीकृति दिए पनि आयोजनाले वन विभागसँग सम्झौता गर्नुपर्छ । वन विभागले आयोजनासँग गरेको सम्झौतासहित आवश्यक कारबाहीको पत्र डिभिजन वन कार्यालय रसुवा र नुवाकोटलाई पठाउने छ ।


त्यसपछि डिभिजन वन कार्यालयले रूख कटानका लागि आदेश दिएपछि मात्र काम सुरु हुने चिलिमे–त्रिशुली २ सय २० केभी प्रशारण लाइन आयोजनाका प्रमुख केदारराज सिलवालले बताए । डिभिजन वन कार्यालयसँग समन्वय गरेर खाली भएको ठाउँमा काटिएको एक रुख बराबर २५ वटा विरुवा रोपिने छ, उनले भने ।


आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतदेखि नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका त्रिशुली थ्रि बी सवस्टेसनसम्म निर्माण हुने २ सय २० केभी प्रसारण लाइनको दुरी २७ किलोमिटर लामो रहेको छ । थाम्बुचेतदेखि मैलुङसम्म २ सय २० केभि डबल सर्किट र मैलुङदेखि त्रिशुली थ्रिबि सवस्टेशनसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । उक्त प्रशारण लाइनमा ७९ वटा टावर रहने छन् । अहिले निजी जग्गा रहेको ठाउँमा प्रसारण लाइनको जग खन्ने काम भइरहेको छ । थाम्बुचेतमा रहने सबस्टेसन निर्माणका लागि जग्गा सम्याउने काम भइरहेको छ ।


मुअब्जा वितरण गर्ने काम पनि भइरहेको सिलवालले बताए । केहीले जग्गाको मुअब्जा बुझिसकेका छन् उनले भने । रुख कटान गर्न र वनको जग्गा भोगाधिकार गर्न मन्त्री परिषद बैठकबाट स्वीकृति भइसकेको छ अब प्रसारण लाइनको काम धमाधम अगाडि बढ्छ सिलवालले भने । प्रसारण लाइनको क्षमता करिब ५ सय मेगावाट रहेको छ ।


पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले प्रसारण लाइन निर्माणको जिम्मा पाएको छ । परामर्शदाताका रूपमा पावर ग्रिड इन्डियाले काम गरिरहेको छ । सन् २०१९ जुनसम्ममा प्रशारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन प्रसारण लाइनको लागत करिब २ अर्ब २५ करोड रहेको छ ।

प्रकाशित : माघ २७, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?