३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यात्रा जोखिमपूर्ण

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–३ का दुगुनागढी टाँगाका ५३ वर्षका सुकलाल तामाङलाई सधैं टाँगा पुलको भत्केको संरचनाले सताउने गर्छ । शनिबार घाँसपात गरेर घर फर्किरहेका तामाङ जीर्ण काठको पुल तरी पारि जाने/नजाने दोधारमा परेका भेटिए ।

यात्रा जोखिमपूर्ण

‘बर्खा नजिकिँदै थाल्यो, झरीले पुल धेरै चिप्लो बनाएको छ, भारी बोकेर पारी कसरी तर्नु ?’ उनले प्रश्न गरे । २० वर्षअघि बनेको पुल दुई वर्षअघिदेखि कुहिन थालेपछि जीर्ण बन्दै गएको उनले सुनाए ।


पुल हुँदै भोटेकोसी गाउँपालिका लिस्तीकोट बगामका एक यात्रु सामग्री लिएर जाने क्रममा खसेर घाइते भएको उनले स्मरण गरे । ‘यस्तो पुलमा हिँड्नुपर्दा ज्यानकै जोखिम मोल्नुपर्छ, के गर्ने, अरू विकल्प छैन,’ उनले भने । तत्कालीन गाउँ विकास समितिले बनाएको झोलुंगे पुल दिनहँु काठ खस्दै गएपछि जीर्ण बनेको टाँगा गाउँका अगुवा वीरबहादुर तामाङको भनाइ छ । ‘स्थानीय सरकार जनप्रतिनिधिलाई धेरै गुहार माग्यौं, केही लछारपाटो लागेन,’ उनले भने ।


कोदारी राजगमार्गको सुक्खा बन्दरगाहबाट दुई किलोमिटरको दुगुनागढी महभीरबाट टाँगा झोलुंगे पुलले बगाम, छगाम गाउँको अघिल्लो क्षेत्र जोड्छ । ‘यो पुल मर्मतसम्भार नगर्दा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ,’ उनले भने । स्थानीय सरकारले केही नगरेमा स्थानीय आफैं जुटेर गर्ने योजनामा रहेको उनले जनाए ।


स्थानीयले घाँसदाउरा, चौंरी लैजाने एक मात्र माध्यम यही पुल मात्रै हो । भैरवकुण्ड तालको काखबाट आउने जुरुम्बा खोला तर्नका लागि अरू विकल्प छैन । पुलको समस्या बुझेकाले पहलको लागि लागिरहेको भोटेकोसी गाउँपालिका वडा ३ का दुगुनाका अध्यक्ष कैलाश पौडेलले बताए । ‘उहाँहरूको समस्या बुझेको छु, तत्कालै यसको समाधानमा लाग्नेछु,’ उनले भने । प्रत्यक्ष जनतासँग प्रभाव पार्ने भौतिक पूर्वाधार भएकाले झोलुंगे पुललाई चाँडै बनाइने पहलकदमी लिएको उनले प्रस्ट्याए ।


स्थानीयले वर्षैपिच्छै रुख कटान गरेर पुलको मर्मत गर्दै आएका छन् । जंगलको रुख काटे पनि पुलको अवस्था फेरिन सकेको छैन । बालबालिका, वृद्धवृद्धादेखि बिरामीलाई पुलले गर्दा आउजाउ गर्न समस्या बनेको छ । ‘पुल मर्मत गर्छौं भनेर रुख काटियो तर मर्मत गतिलो गर्ने काम भएन, अब आफैं लाग्दै छु,’ उनले भने ।

प्रकाशित : माघ २७, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?