१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भरतपुरमा सूचना प्रविधि मेला

चितवन — कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ, चितवन जिल्ला शाखाको आयोजनामा भरतपुरमा शुक्रबारदेखि सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेक सुरु भएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलामा ८० वटा स्टलहरू रहेका छन् ।

भरतपुरमा सूचना प्रविधि मेला

मेला मंगलबारसम्म चल्नेछ । मेलाको उद्घाटन प्रदेश–३ का कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले गरे ।


क्यान चितवनका अध्यक्ष तथा मूल समिति संयोजक भानु शर्माका अनुसार मेलामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङका सामानहरू, सफ्टेयरहरू, सुरक्षासँग सम्बन्धित सामग्रीहरू, मोबाइल, स्मार्ट टीभीका स्टलहरू छन् । उच्च शिक्षा दिने कलेजहरू र परामर्शदाताका स्टल पनि मेलामा छन् । सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न ‘आइडिया हन्ट’ कार्यक्रम पनि हुनेछ ।


उत्कृष्ट आइडिया पेस गर्नेले ‘इनोभेसन आइडिया अवार्ड’ पाउने शर्माले जानकारी दिए । ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइड निर्माण प्रतियोगिता, कलेजस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि मेला अवधिमा सञ्चालन हुनेछन् । सूचना प्रविधि पढ्दै गरेका युवाहरूलाई नेपालमा नै केही गर्न सक्ने वातावरण बनाउन आइडिया हन्ट गर्न लागेको शर्माको भनाइ छ ।


आईटीमा रुचि राख्ने तथा पोख्त पुस्तालाई मात्रै नभएर मेला स्थानीय सर्वसाधारणलाई पनि लाभदायक हुने उनले बताए ।


‘मेलामा टोल विकास संस्थासँग समन्वय गरेर सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने योजना पनि छ,’ अध्यक्ष शर्माले भने । सूचना प्रविधिले मान्छेको दैनिक क्रियाकलापमा ल्याउने सहजता, सामाजिक सञ्जालको सदुपयोग र साइबर अपराधका विषयमा समुदायलाई जानकारी दिने उनले बताए ।

प्रकाशित : माघ २६, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?