ठडिँदै छ विद्यालय

‘अब चिसोको चिन्ता छैन, भवन बनेको छ, बल्ल बालबालिकाको सपना पूरा भएको छ’
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प गएको चार वर्षपछि जिल्लाभर विद्यालय पुनर्निर्माणले तीव्रता पाएको छ । गाउँदेखि नगरपालिकासम्म संघसंस्था र सरकारी निकायको पहलकदमीमा सुविधासम्पन्न विद्यालयको भवन ठडिन थालेका हुन् ।

सुनकोसीस्थित शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन । तस्बिर : कान्तिपुर

शुक्रबार टाटा ट्रस र सिप्रदियन सहायता संस्थाबाट बनेको बाह्रबिसे नगरपालिका–४ सुनकोसीस्थित शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन भयो ।

दुईतले सुविधा सम्पन्न भवन भारतीय राजदूत मञ्जिवसिंह पुरी, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित टाटा ट्रसका तारापुरीवाला, सिप्रदियन सहायता संस्थाका प्रतिनिधिले रिबन काटेर हस्तान्तरण गरे । ‘अब चिसोको चिन्ता छैन, भवन बनेको छ, बल्ल बालबालिकाको सपना पूरा भएको छ,’ विद्यालयका प्रधानाध्यापक तोयानाथ नेपालले भने । चार करोड ५० लाखको लागतमा भवन बनेको उनले सुनाए ।

सिप्रदियन सहायता संस्थाले भोटेकोसी गाउँपालिकाको कोदारीमा रहेको कोदारी माविको भवन बनाइरहेको जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शेरबहादुर पुजाराका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत दुई सय ४७ र निर्माण व्यवसायीबाट ३८ वटा विद्यालय बनिरहेका छन् । ‘जसमा एक सय २१ विद्यालयको भूकम्पप्रतिरोधी भवन ठडिइसकेको छ,’ पुजाराले भने ।

पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म धमाधम विद्यालय ठडिन थालेका छन् । सुगमभन्दा दुर्गम गाउँमा करोडौंको लागतमा भव्य भवन बन्न थालेको उनले प्रस्ट्याए । जिल्लाभर भत्केका ५ सय २८ मा झन्डै चार सय विद्यालयको सुविधासम्पन्न भवन ठडिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ । भूकम्पले जिल्लाभरको ३ हजार ६ सय २० कोठा काम नलाग्ने गरी भत्काएको थियो ।

‘दुई सयवटा विद्यालय विभिन्न संघसंस्थाले बनाए, अरू सरकारी तवरले बनेका हुन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख कृष्णप्रसाद सुवेदीले भने । स्थानीय तहको समन्वयको सहजताले गर्दा विद्यालय पुनर्निर्माणलाई तीव्रता दिइरहेको उनले प्रस्ट्याए । ‘मर्ज हुनेवाला २८ वटा विद्यालयलाई पुनर्निर्माणको प्रक्रियामा लगिएको छैन,’ उनले भने ।

नेपाल र भारत सँगै
बाह्रबिसे नगरपालिका–४ सुनकोसी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा पुगेका नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारत सँगै रहेको बताए । ‘नेपाल र भारत दु:खसुखका साथी हुन्, हामी सँगै अगाडि बढिरहेका छौं,’ उनले भने । बालबालिकालाई राम्रोसँग खटेर पढ्न र शिक्षकलाई बालमैत्री ढंगले पढाउन उनले अनुरोध गरे ।

प्रकाशित : माघ २६, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

आधारशिला ‘कम्युनिस्टको घर’

कम्युनिस्ट आन्दोलनमा लागेका पूर्णकालीन सदस्य र सहिद परिवारलाई राख्न ११ कट्ठामा ४ वटा घर बनाएर सुरु गरिएको आधारशिला पछि राजा ज्ञानेन्द्रको ‘कू’ सँगै कम्युनिस्टको सामूहिक घर बन्यो, जहाँ अहिले पनि ४३ जना बस्छन् । 
अजित तिवारी

बर्दिवास, महोत्तरी — पचासको दशकमा तत्कालीन नेकपा एकता केन्द्र दुई विचारमा विभाजित भयो । एउटा पक्ष जनयुद्धतिर लाग्यो, अर्को शान्तिपूर्ण राजनीतिमा । विभाजन भएपछि तत्कालीन महासचिव नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टी बन्यो ।

आधारशिलास्थित आफ्नो कोठामा दीपबहादुर योञ्जन । तस्बिर : सन्तोष सिंह/कान्तिपुर

त्यो पार्टीले पूर्णकालीन कार्यकर्ता बन्न आहवान गर्‍यो । त्यतिबेला केही पूर्णकालीन कार्यकर्ता बन्न आए । उनीहरूको व्यवस्थापन गर्नुपर्ने थियो । पार्टीले त्यसका लागि आधारशिला अर्थात् कम्युनिस्टको सामूहिक घर बनायो ।

२०५९ माघ २५ गते सिरहाको गोलबजारमा स्थापना गरिएको आधारशिला ६ वर्षपछि महोत्तरीको बर्दिवासमा सारियो, जहाँ ११ कट्ठामा ४ वटा घर बने । त्यहाँ कम्युनिस्ट आन्दोलनमा लागेका पूर्णकालीन सदस्य र सहिदका परिवारलाई राखियो । त्यहाँ सबै काम सामूहिक हुन्छ ।

१५ परिवारका ४३ सदस्यको बसोबास रहेको आधारशिलाको एउटा कोठामा कम्युनिस्ट आन्दोलनका पुराना नेता दीपबहादुर योञ्जन पनि बस्छन् । ‘राजनीतिक जीवनमा लाग्दा घरपरिवार अनुकूल हुन्न,’ आधारशिलामा बस्नुको कारण योञ्जनले यसरी प्रस्ट्याए, ‘दोहोरो जीवनले राजनीति चल्दैन । सामाजिक र पारिवारिक जीवनमा फरक हुन्छ । त्यसैले आधारशिलाको कन्सेप्ट ल्याएका हौं ।’

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको घर पनि त्यही आधारशिला नै हो । उनी आफ्नो निर्वाचन क्षेत्रमा आउँदा आधारशिलामै बस्छन् । त्यहीँ खान्छन् । नेता–कार्यकर्ता भेट्नुपर्दा त्यहीँ बोलाउँछन् । पोखरेलले आफ्नो अंशको ७ कट्ठा बेचेर आधारशिलाको जग बसालेका हुन् । ‘होलटाइमर कार्यकर्ता व्यवस्थापन गर्ने नयाँ सोचअनुसार आधारशिला स्थापना गरियो,’ पोखरेलले भने, ‘सामूहिकताको यो नयाँ अभ्यास थियो ।’

बर्दिवासबाट सिन्धुली जाने बाटोको गौरीडाँडामा आधारशिला छ । ४ वटा घर, जय गोविन्द अध्ययन केन्द्र र भान्सा छन् । त्यहाँ बस्ने सबैजनाको एउटा भान्सा छ । खानेकुरा उनीहरू सबैले आ–आफ्नो तरिकाले जुटाउँछन् । उत्पादनमूलक काम गर्छन् । त्यहीँबाट आर्जन गरेको पैसा भान्सामा खर्च गर्छन् । खाली जग्गामा सामूहिक खेती गरिन्छ । खेतकै बीचमा गोठ छ ।

४ छोराछोरी र श्रीमतीसहित आधारशिलामै बस्ने धु्रव कार्कीका अनुसार आयआर्जनका विभिन्न माध्यमले आधारशिला चलेको छ । आधारशिलाको रुचि मसला उद्योग, सर्लाहीको लालगढमा ठेक्कामा खेतीपाती, सर्लाहीकै हरिपुरमा खसीपालन र त्यहाँ बसोबास गर्नेले जागिरबाट आर्जन गरेको पैसा नै आधारशिला चलाउने मुख्य आम्दानी हो ।

‘हाम्रो आम्दानीले दुई छाक धानेको छ । पढाइको खर्च जुटाउन समस्या छ,’ कार्कीले कान्तिपुरसँग भने । पूर्णकालीन कार्यकर्ता र सहिद परिवारका १८ छोराछोरी राखेर होस्टेल मोडेलमा सुरु भएको आधारशिलामा पछि परिवारसहितको बसोबास हुन थालेको हो । ‘सांस्कृतिक–सामाजिक रूपान्तरणका लागि आधारशिलाको सुरुवात गरियो,’ संरक्षकसमेत रहेका मन्त्री पोखरेलले भने, ‘अब यसलाई पार्टीको अंग बनाउनुपर्छ । र, नयाँ बहस–छलफल थाल्नुपर्छ ।’

आधारशिलाले शुक्रबार स्थापनाको १६ औं वर्षगाँठ मनाएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र आधारशिलाका अर्का परिकल्पनाकार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्षगाँठमा सहभागी भए । ‘आधारशिला नयाँ प्रयोग हो, यसबारे पार्टीमा छलफल गर्नुपर्छ,’ नेपालले भने, ‘संविधानले पनि समाजवादको दिशा लिएको छ । नेकपाको पनि त्यही निर्देश छ । खुसी परिवार र सम्पन्न देश बनाउन आधारशिला राम्रो प्रयोग हो ।’

‘कू’ पछिको सामूहिकता
आधारशिला तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ पछि सामूहिकतामा प्रवेश गरेको हो । राजनीतिक पार्टीलाई लगाम लगाइएपछि आधारशिलालाई महिला संगठनको ब्यानरमा सञ्चालन गरियो । मन्त्री पोखरेलले त्यसपछि मातृत्व र पितृत्व गुणले नै बालबच्चाको प्रस्फुटन हुने भएकाले आधारशिलालाई सामूहिकतामा बदलिएको बताए ।

०६२/६३ को जनआन्दोलनपछि नेताहरू खुला जीवनमा आए । त्यसपछि आधारशिलालाई फेरि नयाँ ढंगमा ढालियो । त्यसको नाम दिइयो, पुनर्जागृत आधारशिला । ‘त्यो भनेको आवासीय मोडेल हो,’ पोखरेलले भने ।

प्रकाशित : माघ २६, २०७५ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्