चिनियाँ लामा हटाउन बौद्धवासी सडकमा

काठमाडौँ — बौद्ध घ्याङ गुठीका पुजारी चिनियाँ लामा (भूपति बज्र) विरुद्ध बौद्धवासी आन्दोलनमा उत्रिएका छन् । युनेस्को विश्व सम्पदाको रूपमा सूचीकृत बौद्ध स्तूपमा प्वाल पार्ने, डिजिटल बोर्ड राख्ने र आफूलाई गुरु रिन्पोछे (पद्म सम्भव)को अवतारी भएको अफवाह फैलाउने जस्ता कर्तुत गरेको भन्दै बौद्धका विभिन्न २२ वटा नागरिक संघसंस्थाले ‘बौद्ध जोगाऔं, नक्कली गुरु रिन्पोछे भूपति बज्र हटाऔं संघर्ष समिति’ नै बनाएका छन् ।

चिनियाँ लामा हटाउन बौद्धवासी सडकमा

समितिको आह्वानमा बौद्धबासीले बिहीबार बौद्ध स्तूपभित्रै विरोध प्रदर्शन गरे । स्थानीय बासिन्दाहरू ‘विश्व सम्पदा जोगाऔं’, ‘नक्कली गुरु रिन्पोछे बर्खास्त गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित सडकमा निस्केका थिए ।


स्तूपभित्रबाट सुरु भएको विरोध र्‍याली बौद्ध पीपलबोट, टुसाल हुँदै पुन: स्तूपभित्रै कोणसभा गरी टुंगिएको थियो । केही स्थानीयवासीले चिनियाँ लामा भूपति बज्रको तस्बिरलाई आठौं शताब्दीको तिब्बती राजा लाङ दारमाको रूपमा प्रस्तुत गर्दै फ्लेक्स ब्यानर बनाएर विरोध जनाएका थिए ।


बौद्ध धर्मविरोधी राजा लाङ दारमालाई तिब्बतको सिभिल वारको बेला सन् ८४१ मा भिक्षु र सर्वसाधारणले मारेका थिए । र्‍यालीमा बौद्धवासी पूर्वराजदूत गणेश योन्जन, मानव शास्त्री मुक्तसिंह लामा, पूर्ववडाध्यक्ष नेपालजित लामा लगायतका प्रबुद्ध व्यक्तित्व पनि थिए । संघर्ष समितिका प्रवक्ता एवं बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले आफूहरूले पटकपटक विभिन्न सरकारी निकायमा चिनियाँ लामाको कर्तुतको विरुद्ध ज्ञापन पत्र बुझाए पनि सरकार मौन रहेको कारणले आन्दोलनमै उत्रिनुपर्ने अवस्था आएको बताए ।


विरोध र्‍यालीअघि स्तूप परिसरमै आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका सचिव भुवन लामाले सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गरे । नेपाल बौद्ध महासंघका उपाध्यक्ष आचार्य नोर्बु लामाले अवतारी लामाको धार्मिक प्रक्रियाबारे बताउँदै भूपति बज्र कुनै पनि धार्मिक प्रक्रियाबाट अवतारी नभएको जिकिर गरे । संघर्ष समितिले चिनियाँ लामा भूपतिमाथि विश्व सम्पदामा हजारौं प्वाल पारेको, ऐन विपरीत काम गरेको, गुठी र स्तूपलाई आफ्नो निजी सम्पत्ति जस्तो व्यवहार गरेकोदेखि आर्थिक अपारदर्शितासम्मको आरोप लगाएको छ ।


संघर्ष समितिमा चारवटै बौद्ध सम्प्रदाय समेटेर बनाइएको नेपाल बौद्ध महासंघ, बौद्ध तामाङ कल्याण गुठी, शेर्पा सेवा केन्द्र, खास्ती नेवा पुच:, ह्योल्मो समाज सेवा केन्द्र, चारुमती विहार, नेपाल तामाङ बौद्ध संघ, तीनचुले भज्यु गुठी, बौद्ध फुटबल संघ, देव भ्वय: गुठी, बौद्ध क्षेत्र संरक्षण उपभोक्ता समिति, बौद्धनाथ क्षेत्र विकास समिति, ह्यल्सा महिला समाज लगायत २२ संघसंस्थाहरू छन् । पत्रकार सम्मेलन भइरहेकै बेला भूपतिकी आमा दुर्गा लामा अवरोध खडा गर्न आएकी थिइन् । उनले बौद्ध घ्याङगुठीले ‘युवा चिनियाँ लामा पाएको भन्दै अरू आरोप असत्य रहेको’ दाबी गरिन् ।


हङकङ आईडी र तीनवटा नागरिकता

गुठी संस्थानले २०७३ असार ७ गते नियुक्त गरेको चिनियाँ लामा भूपति सम्बन्धी विभिन्न विवादास्पद कागजपत्रको प्रमाण पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो । प्रमाणअनुसार चिनियाँ लामाको हङकङ आईडी भएको देखिन्छ ।


अर्को देशको स्थायी बसोबास अनुमति पत्र (पीआर) भएको व्यक्तिले कानुन अनुसार कुनै पनि सरकारी नियुक्ति लिन पाइँदैन । त्यस्तै चिनियाँ लामा भूपतिका तीनवटा नागरिकताको प्रतिलिपि पनि संघर्ष समितिका अध्यक्ष खड्गजित लामाले प्रस्तुत गरे ।


प्रमाण अनुसार भूपतिले सुरुमा भूपति बज्र लामाको नाममा नागरिकता लिएको देखिन्छ । दोस्रोपटक उनले परम पूजनीय भूपति बज्र लामाको नामबाट नागरिकता लिएको र तेस्रोपटक परम पूजनीय गुरु रिन्पोछे भूपति बज्र लामाको नामबाट नागरिकता लिएको देखिन्छ । ‘यी सबै गैरकानुनी हुन्,’ संघर्ष समितिका अध्यक्ष लामाले भने, ‘तर, सम्बन्धित

निकाय मौन छन् ।’


के हुन् चिनियाँ लामा

बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्ण लामाका अनुसार बौद्ध घ्याङ गुठीमा लिच्छवि कालदेखि नै स्थानीय तामाङ पुजारी नियुक्त हुँदै आएको थियो । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा गुठीको पुजारी छेवाङ सिदार लामा (तामाङ) थिए । तिनै जंगबहादुरले वि.सं. १९१४ मा पशुपतिको गुह्येश्वरी गुफामा तपस्या गर्न आएका चिनियाँ लामा ताई फो मिङलाई तामाङ पुजारीको ठाउँमा नियुक्ति दिए ।


त्यसपछि क्रमश: ताई फो मिङको वंशले ‘चिनियाँ लामा’को उपाधिसहित पुजारी नियुक्ति पाउँदै गयो ।


तामाङहरू विस्थापित बने । ‘गुठी तामाङहरूको, पुजारी चाहिँ चिनियाँ बन्दै गयो,’ लामाले भने, ‘राणा शासन अन्त्य भएपछि चिनियाँ लामा प्रथाको पनि अन्त्य हुनुपथ्र्यो । तर, गणतन्त्रमा पनि वंशको शासन चलिरहेको छ बौद्धमा ।’ यो प्रथा अन्त्य गरेर स्थानीय जनभावना अनुरूप पारदर्शी व्यवस्थापन समिति बनाउने मागलाई साकार बनाउन संघर्ष समितिले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । शुक्रबार गुठी संस्थान घेराउ र पुरातत्त्व विभागमा ज्ञापन पत्र बुझाउने लामाले बताए ।


प्रकाशित : माघ १८, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?