१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिजुलीको तारले खोस्यो खुसी

जितपुर, सिन्धुली — सानु अधिकारीको घरमा भोजका लागि सबै सामग्री तयार थिए । उनको छोराको विवाहको अवसरमा करिब हजार जनालाई निम्ता बाँडिएको थियो । दुलही लिन गएका ६ जन्ती चढेको बसमा करेन्ट लागेर मृत्यु भएपछि सायद अब त्यो भोज हुने छैन । 

बिजुलीको तारले खोस्यो खुसी

कान्छो छोराको विवाहले ६० वर्षीया सानु औधि खुसी थिइन् । शुक्रबार बिहानै घरभरि निम्तालुको भीड थियो । भीडभाडमै सानुले छोरा रामवरणलाई शृंगारपटार गरेर बेहुलो बनाई पठाइकी थिइन् । झन्डै दुई सयको संख्यामा जन्तीलाई धनुषा बेहुली लिनका लागि बिदा गरिन् । छोरा बेहुली लिएर घर आउने प्रतीक्षामा थिइन् । घरमा नाचगान चल्दै थियो ।


तर सानुको दिनभरिको खुसी साँझ बिजुलीको तार टुटेजस्तै टुट्यो । बेहुली लिएर घर फर्कंदै गर्दा जन्ती लिएर आउने छोरा घर आउनुभन्दा अगाडि जन्तीबस करेन्ट लागेर ६ जनाको मृत्युको खबरले सानुको खुसी क्षणभरमै पीडामा फेरियो ।


अधिकारी परिवारले विधिवत् रूपमा बेहुली भित्र्याउने काम अहिलेसम्म भएको छैन । गाउँका ६ जनाको मृत्यु भएपछि अहिले जितपुर गाउँ शोकमा डुबेको छ । झन्डै हजार जनालाई खुवाउने भोजका लागि तयार गरिएको ७ वटा खसी, चामल, चिउरा, तरकारी र अन्य सामग्री भण्डारमै छ ।


कान्छो छोराको बिहे भएकाले धुमधामसाथ भोज गर्ने सपना भए पनि दु:खद् घटनाका कारण गर्न नसकेको रामप्रसादले बताए ।


‘धुमधामसँग छोराको विवाह गर्ने काम पूरा हुन सकेन । आफन्त गुमाउनुको पीडा खपिनसक्नु छ,’ उनले भने, ‘६ बहिनी छोरी र जेठो छोराको विवाहमा गर्न नसकेको रमाइलो कान्छो छोराको बिहेमा गर्ने कुरा थियो ।’


सिन्धुली फर्कंदै गरेको बेला धनुषाको सबैलामा लत्रिएको तारमा जन्ती चढेको बसले छोएपछि करेन्ट लागेको थियो । घटनास्थलमा ६ जनाको मृत्यु र दर्जन बढी घाइते भए । घटना भएको चार दिनपछि पनि गाउँ शोकमा छ ।

‘घटना भएपछि गाउँमा उज्यालो नै भएको छैन,’ स्थानीय भरत अधिकारीको भनाइ छ ।


घटनामा बेहुलाका छिमेकी

ब्रह्मलाल अधिकारीका नाति सुरज र नातिनी लीलाको मृत्यु भएको छ । गाउँका अगुवा रामबाबु अधिकारीको मृत्युले सबैलाई पिरोलेको छ । जितपुरका बासिन्दाका लागि उनी अभिभावक थिए । बिजुलीको लत्रिएको तारले बस छोएपछि एक्कासि करेन्ट लाग्यो । ‘पहिले झड्का लाग्दा नै पूरै भूकम्प गएजस्तो भयो । त्यसपछि कोही बेहोस भए, कोही चिच्याउन थाले,’ भरतले भने, ‘धनुषा जाने बेला बिहान जाँदा पनि बिजुलीको तार उचाल्दै बेहुलीको घर पुगेका थियौं ।’ रातिमा बिजुलीको तार नदेखिएकाले बसमा करेन्ट लागेको उनको भनाइ छ ।


धनुषाको सबैला नगरपालिकाको केठिया बल्टियाका रामभरोस कुँवरकी २२ वर्षीया छोरी सरस्वती कुँवरसँग रामवरणको विवाह गर्ने तय भएको थियो । दिनभरि दनुवार परम्परा, संस्कार र संस्कृतिअनुसार रामवरण र सरस्वतीको विवाह कार्यक्रम भयो । विभिन्न विधिअनुसार विवाह भइरहेको थियो । अझै दुईवटा विधि बाँकी थियो । त्यसका लागि ढिला हुने भएकाले जन्तीलाई विवाह कार्यक्रम नसकिँदै बिदा गरी पठाइएको थियो । दुईमध्ये एक बसमा फर्कंदै गरेका जन्तीमध्ये एउटा बसमा करेन्ट लाग्यो ।


‘पहिलो झटका लाग्दै बसका चालक टेकबहादुर खत्री गाडी छोडेर भागे’ दुलहाका भाइ भरतले भने, ‘पहिलो झड्का लागेपछि बिजुली बन्द भयो, ड्राइभर भागे र कोही चिच्याउँदै बसबाट ओर्लिए । केही भित्रै ढले ।’ बेहुलीको घरबाट बिदा भएर केही पर नपुग्दै जन्ती चढेको ना५प १७५२ नम्बरको बसमा करेन्ट लाग्यो । घटनामा मृत्यु हुनेहरूमा ४५ वर्षीय रामबाबु अधिकारी, १९ वर्षीया लीलाकुमारी अधिकारी, २१ वर्षीया पूजा अधिकारी, १० वर्षीय सुरज अधिकारी, ८ वर्षीय आक्रोश अधिकारी र धनुषा सबैलाकी ६५ वर्षीया केशमदेवी कुँवर रहेका छन् । हाल उनीहरूको काजकिरिया चलिरहेकाले विवाहको सबै काम बन्द छ ।


‘चालकले लापरबाही गर्दा बसमा करेन्ट लाग्यो,’ बेहुलाका ६४ वर्षीय बुवा रामप्रसाद अधिकारीले भने, ‘बिहान बिजुलीको तार लत्रिएको देखेका थियौं, बेलुका चालकले ख्याल गरेनन् । चालकले मादक पदार्थ सेवन गरेकाले जबरजस्ती गर्‍यो,’ उनले भने, ‘जथाभावी नांगो तार छोडेर विद्युत् प्राधिकरणको लापरबाहीले गर्दा दु:खद् घटना भयो ।’

प्रकाशित : माघ १६, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?