प्रहरी अझै टेन्टमा

प्रताप विष्ट

हेटौंडा — नागरिकलाई सुरक्षा दिन दुर्गम बस्तीमा खटिएका प्रहरीहरू आफैं कष्टकर र असुरक्षित तवरले बस्न बाध्य छन् । भूकम्प गएको ४५ महिना बित्न लागिसक्दा पनि प्रहरी चौकीहरू पुनर्निर्माण नभएकाले त्रिपालमुनि बसेर सेवा प्रदान गरिरहेका छन् ।

भूकम्पले भवन भत्केपछि विगत साढे तीन वर्षदेखि मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीहरू बस्दै आएको टेन्ट । तस्बिर : प्रताप/कान्तिपुर 

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीहरू हिउँ, तुषारो र सिरेटो खेप्दै टेन्टमुनि बसेर सेवा प्रदान गरिरहेका छन् । २०७२ जेठ १२ गतेको भूकम्पले प्रहरीहरू बस्दै सिमभञ्ज्याङस्थित भवन भत्केपछि उनीहरू त्रिपालमुनि बस्दै आएका छन् । त्यो क्रम अहिले पनि जारी छ ।

‘राति उच्शृंखल र आपराधिक कार्यमा संलग्न भएका व्यक्तिहरूलाई पक्राउ गरेर ल्याए राख्ने स्थान छैन,’ चौकीका एक प्रहरीले भने, ‘टेन्टमुनि कोचाकोच गरेर सुत्ने गरेका छौं, थुनुवाहरूलाई राख्ने ठाउँ नै छैन ।’ टेन्ट सानो खालको छ । त्यसमा ६ जना प्रहरीहरू सुत्ने गरेका छन् । हतियार पनि त्यही नै राख्छन् । टेन्ट पुरानो भई च्यातिएपछि राति शीत चुहिन्छ । माघ लागेपछि झन् असिना र हिउँ पनि भित्र छिर्न थालेको छ । मकवानपुरको सबैभन्दा उचो भूभाग सिमभञ्ज्याङ हो ।उक्त क्षेत्रमा सधैं चिसो सिरेटो चल्छ ।

यसैगरी, बकैया गाउँपालिकामा पर्ने ठिङ्गनस्थित इप्रका साविकको गाविस भवनको एउटा कोठामा राखिएको छ । त्यसैमा प्रहरीहरू पनि कोचिएर बस्ने गरेका छन् । त्यस्तै भार्ता, कान्द्राङ, फाखेल, भोर्लेनी र डाँडाखर्कस्थित प्रहरी चौकी घर भाडामा लिएर राखिएको छ ।

उनीहरूको बसाइ असुरक्षित र कष्टपूर्ण छ । मकवानपुरस्थित चित्लाङ प्रहरी चौकी उपत्यकाबाहिरको पहिलो प्रहरी (थाना) चौकी हो । भवनको अभावमा प्रहरी जवानदेखि अधिकृतसम्म थाहा नगरपालिका ९ साविकको चित्लाङ गाविस ४ स्थित पुरानो ऐतिहासिक पाटीमा बस्दै आएका छन् । कुनै पनि बेला गल्र्यामगुर्लुम भत्कने अवस्थाको पाटीमा इप्रका पनि त्यही राखिएको छ र प्रहरीहरू पनि त्यही नै बस्छन् । भौतिक पूर्वाधारको अभावमा प्रहरी जवानदेखि अधिकृतसम्म पाटीमा गुजारा गर्न बाध्य छन् ।

उपत्यका र तराई आवतजावत गर्ने प्रवेशद्वारको रूपमा रहेकोचित्लाङमा यात्रुहरूको सुरक्षार्थ २००२ सालमा प्रहरी थाना राखिएको थियो भौतिक पूर्वाधार र जनशक्तिको अभावले दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीका प्रहरीले विविध खाले समस्या भोगेर पनि नागरिकलाई सुरक्षा प्रदान गरिरहेको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए । प्रदेश ३ सरकारले मकवानपुरमा ७ वटा प्रहरी चौकी भवनका लागि बजेट विनियोजन गरेको छ ।

‘अब छिट्टै नै भवनको निर्माण कार्य सुरु हुन्छ,’ प्रहरी उपरीक्षक गुरुङले भने । भौतिक पूर्वाधार बनाउन र जनशक्ति पूर्ति गर्न विभागमा माग गरेर पठाएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहत मकवानपुरमा ६ सय ६९ जना प्रहरीहरू छन् । एउटा प्रहरीले ६ सय ५५ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था छ । अन्य मुलुकमा एक जना प्रहरीले बढीमा ३ सयजनालाई सुरक्षा प्रदान गर्छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका १७ वटा प्रहरी चौकीका भवन भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये ६ वटा प्रहरी चौकी पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो भने ११ वटा चौकीमा आशिंक रूपमा क्षति पुगेको थियो । प्रहरीका अनुसार प्रहरी चौकी डाँडाखर्क, इप्रका ठिंगन, प्रहरी चौकी फाखेल र प्रहरी चौकी काँकडास्थित कान्द्राङको भूकम्पले पूर्ण क्षतिग्रस्त भएको हो । वैशाख २९ गतेको परकम्पले प्रहरी चौकी चौघडा र प्रहरी चौकी सिमभञ्ज्याङ क्षतिग्रस्त बनाएको थियो । प्रहरी चौकी चौघडालगायत ६ वटा चौकीको मर्मत र
पुनर्निर्माण भइसकेको छ ।

प्रकाशित : माघ १३, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

गलत विकास मोडल

कान्तिपुर संवाददाता

काठमाडौँ — माघ ११ गते प्रकाशित ‘पानीबिनाका पहाड’ सम्पादकीयले समकालीन नेपालले अँगालेको विकास निर्माण अवधारणाले समेटेका विपरीतधर्मी संस्कारलाई प्रस्ट गरेको छ ।

यसले विकास गाउँ पसेर सडक निर्माण गर्ने र गाउँका बासिन्दा भने सहर र विदेश भासिने यथार्थलाई उजागर गरेको छ ।

यो विषय ओझेलमा परेको र अहिलेसम्म सार्वजनिक बहसमा नआएको सडक निर्माणको अवधारणासँग जोडिएको छ । छिमेकी मुलुकहरूमा ‘आर्थिक दूरी’ घटाउने सोचसाथ यातायात पूर्वाधार निर्माण भइरहेको छ । अहिले भारत, चीन, मलेसियामा १०० किलोमिटर दूरी सालाखाला आधा घण्टाको यात्रा समय लाग्ने गरी यातायात पूर्वाधार निर्माण भएका छन् । नेपालमा सार्वजनिक पहुँचका आधारमा ।

अहिलेसम्म ८०,००० किलोमिटर हाराहारी सडक निर्माण भएको छ । तर सुविधासम्पन्न यात्रुबाहक बसलाई सहजतासाथ गुडाउने गरी निर्माण भएका सडक औंलामा गन्न सकिने मात्र छ । राजधानी काठमाडांैबाट तराई पुग्न पुरै दिन लाग्ने यथार्थ हाम्रासामु छ ।

प्रमुख सहरहरूमा ट्राफिक जामका कारण कछुवाको चालमा सवारीसाधन गुड्ने गरेका छन् । निर्माण गर्दा प्रयोगमा आएको डोजर नै त्यो सडकको पहिलो र अन्तिम सवारीसाधन भएको तीतो यथार्थ हाम्रासामु छ । यसर्थ सडक पूर्वाधार निर्माणको अवधारणालाई नै पुनर्विचार गर्नुपर्ने र यथास्थितिको विपरीतधर्मी संस्कार सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।
–डा. नवराज खतिवडा, पुल्चोक, ललितपुर

प्रकाशित : माघ १३, २०७५ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्