कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ऋणको भारमा भूकम्पपीडित

टीकाप्रसाद भट्ट

रामेछाप — सरकारले दिएको ३ लाखले घर पुनर्निर्माण गर्न नपुगेपछि रामेछापेलीलाई ऋणको भार थपिएको छ । हरेक परिवारले २ देखि ३ लाखसम्म ऋण गरेर घरको धुरी हालेका छन् । 

‘भूकम्पले ऋणमा पार्‍यो,’ गुम्देल पेकरनासका निरज बस्नेतले सुस्केरा हाल्दै भने, ‘तिर्ने बाटो छैन ।’ उनले सडक सुविधा नहुँदा सामान बोक्नु परेको, डकर्मीको ज्याला उचाइमा पुगेका बेला घर बनाएकाले सरकारले दिएको अनुदानले नपुगेको बताए । ‘जन हुने र सुविधा भएको ठाउँमा भएको भए त्यही अनुदानको पैसाले नै बन्थ्यो होला तर मेरो बनेन,’ बस्नेतले भने, ‘१ लाख ऋण बोकाएर घर ठडियो ।’


भूकम्प जानुअघि बस्ने घर लडेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने सूचीमा राखेका अधिकांशलाई ऋण लागेको छ । सीमित परिवारलाई मात्र अनुदानको पैसाले पुग्यो । प्राधिकरणको मापदण्डबमोजिमको संरचना बनाउँदा खर्चिलो भएकोले अनुदानको पैसा बचाउने विरलै छन् ।


केहीले अनुदानकै पैसाले पुग्ने गरी एककोठे घर हाले । एककोठे घर मापदण्डमा परे पनि त्यसले परिवारको आवश्यकता धानेको छैन । त्यस्ता घर हुने पुरानो घरमा बसेका छन् । जुन भूकम्पीय जोखिममा छन् । परिवारमा ज्यामी काम गर्दै आएका र गाउँमा अर्मपर्मको चलन हुनेले पनि अनुदानकै पैसाले जेनतेन पुर्‍याए । ‘सीप नभएको र अर्मपर्म नचल्ने परिवार सबैमा ऋण लाग्यो,’ बस्नेतले भने ।


गाउँघरमा रड र सिमेन्टको चलन थिएन । यसअघि डिपिसी के हो थाहा थिएन । ढुंगा र माटोको जोडाइमा परम्परागत घरले चलेको थियो । भूकम्प प्रतिरोधी के हो र कसरी बनाउने भन्ने कुरा पत्तो थिएन । फुलासीका मानबहादुर तामाङ्गले भने, ‘जस्तो कर्मीले बनायो त्यस्तै घर लिपपोत गरेर बसियो । अहिले ती कुनैले काम दिएनन् । इन्जिनियरले फेल गर्ला भनेर सबैले मापदण्डबमोजिमकै घर बनाए । सिमेन्ट, रडको भाउ खपिसक्नु थिएन । कर्मीलाई मासु र बियर दिएर भनेजति ज्याला तिर्दा अनुदानको पैसा सकिएको पत्तै भएन । एकातिर अनुदानको ३ लाखले लोभ्यायो, के के न पाइयो भन्ने भाकोथ्यो त्यसले ऋणको भारी बोकाइदियो ।’


फुलासीकै मोहनबहादुर बस्नेतका अनुसार २ कोठे घर सक्नका लागि २ लाखै ऋण लाग्यो । सयकडा २० प्रतिशतको पैसा ल्याएर घर बनाए बस्नेतले भने, ‘आधा जस्तो तिरिसके अब आधा बाँकी छ । उनले गाउँमा चलन चले अनुसारको प्लास्टरसमेत गरेर घर बनाएका छन । उनी जस्तै छिमेकमा ऋण मागेर घर बनाउने हरु गाउँमा थुप्रै छन् । उनका अनुसार गाउँमा वैदेशिक रोजगारीमा गएका, पेन्सन खाने पूर्व कर्मचारी, शिक्षक संग ऋण खोज्ने चलन छ । जग्गाजमिन धेरै भएकाले पनि खनखाँचो टारेका छन् ।


‘सरकारले भूकम्प पीडितलाई ऋण दिन्छु भन्यो तर दिएन,’ पकरवासका ढालबहादुर कार्की भन्छन्, ‘समूहबाट ऋण मागेर काम चलाएको छु ।’ प्राधिकरणले भूकम्प पीडितलाई सुलभ ऋण उपलब्ध गराउने निर्देशिका बनाएको छ । रामेछापमा भने उक्त निर्देशिकाबमोजिम कुनै बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरेका छैनन् । निर्देशिकामा पीडितले अन्य सबै प्रकृया बैंकले भनेबमोजिम गर्नुपर्ने नियम राखेकैले पीडितहरु ऋणको पहुँचमा नपरेका हुन् ।


बैंकहरुले बाटो नपुगेको र सहर बाहिर गएर गाउँको जग्गाको मूल्यांकन नै गर्ने चलन नै छैन । रामेछापमा सञ्चालनमा रहेका ८ वटा बंैकमा कुनै पनि पीडितको नाममा सहुलिएर कर्जा प्रवाह भएको तथ्यांक छैन ।

प्रकाशित : माघ १०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?