सम्बन्धविच्छेदका मुद्दा बढे 

पुरुषद्वारा ७५ थान
महिलाद्वारा १३३ थान

हेटौंडा — गत भदौ १ गतेदेखि मुलुकमा लागू भएको नयाँ संहिताले सहज बनाएपछि अदालत गएर सम्बन्धविच्छेद गर्ने पुरुष पनि बढेका छन् । भदौदेखि पुससम्मको ५ महिनामा जिल्ला अदालत मकवानपुरमा २ सय ८ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा महिलाका १ सय ३३ छन् भने ७५ पुरुषले उजुरी दर्ता गराएका छन । 

सम्बन्धविच्छेदका लागि अदालत जाने पुरुषको संख्या गत आर्थिक वर्षमा शून्य थियो । महिलाले दर्ता गराएका १ सय ३३ मुद्दामध्ये ७७ वटाको फैसला भइसकेको छ । पुरुषका तर्फबाट दर्ता भएका ७५ मध्ये ७ वटामात्र फैसला भएका छन् ।


६८ वटा फैसला हुन बाँकी छन् । ‘महिलाले सम्बन्धविच्छेदको निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिटै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ स्रेस्तेदार केशवराज कौशिकले भने, ‘पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसला हुन समय लागेको हो ।’ मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । पतिपत्नीबीच सम्बन्धविच्छेद नहोस्, मिलेर बसून् भन्ने उद्देश्यले एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो ।


‘सम्बन्धविच्छेदका बारेमा अदालतमा बुझ्न आउने पुरुषको संख्या बाक्लै छ,’ अदालतका एक कर्मचारीले भने, ‘महिलाका कारण पुरुषहरू थिचोमिचोमा परेका रहेछन् क्यारे, त्यसैले बुझ्न आउने र उजुरी दर्ता गर्ने पनि बढो नै छ ।’ पहिले महिलाका तर्फबाट सम्बन्धविच्छेदको उजुरीको ओइरो लाग्थ्यो । गत आवमा अदालतमा महिलाका तर्फबाट सम्बन्धविच्छेदका ४ सय १ उजुरी परेका थिए । तीमध्ये २ सय ९१ वटा मुद्दा फैसला भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।


नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् । लगातार तीन वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् । पत्नीले अरू कुनै परपुरुषसित यौनसम्बन्ध राखेको अवस्थामा पनि सम्बन्धविच्छेद हुन सक्छ ।


‘समानताका नाममा कानुनले पुरुषको सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता मदन दाहालले भने, ‘यसले सम्बन्धविच्छेद गर्न चाहने पुरुषको संख्या अदालतमा बढेको हो ।’ विगतमा स्वतन्त्र हुने नाममा ससाना मनमुटावमा पनि पतिपत्नीबीच सम्बन्धविच्छेद हुने क्रम बढेको छ । विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाको जोडी पनि छ । गत आवमा जिल्ला अदालत मकवानपुरमा विवाह गरेको ११ महिना पनि नपुग्दै ३ जोडीले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका थिए ।


‘सम्बन्धविच्छेदलाई महिला र पुरुष दुवैको हकमा खुकुलो बनाउँदा सामाजिक र पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीहरूको भविष्य अन्धकारमय वन्ने देखिन्छ,’ अदालतका एक कर्मचारीले भने, ‘यो नयाँ संहिताले समाजलाई थप विखण्डनतर्फ लैजान्छ कि जस्तो लाग्छ ।’ नयाँ संहिता कार्यान्वयनमा आएपछि जिल्ला अदालत मकवानपुरमा ६० वर्ष पार गरिसकेका २ वृद्धले पनि पत्नीसँग सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका छन् ।


५ सय ५९ मुद्दा फैसला

जिल्ला अदालत मकवानपुरमा चालू आवको ६ महिनामा ८ सय १३ वटा मुद्दा दर्ता भएका छन । गत आवको फैसला हुन बाँकी ६ सय ३९ मुद्दासहित जिल्ला अदालत मकवानपुरमा पुस अन्तिमसम्म १ हजार ४ सय ५२ मुद्दा थिए । तीमध्ये ५ सय ५९ अर्थात् ३८ प्रतिशत मुद्दा फैसला भइसकेका छन् । ८ सय ९३ मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार कौशिकले बताए । जिल्ला अदालतका अनुसार २ वर्ष नाघेका एउटा पनि मुद्दा छैनन् ।

प्रकाशित : माघ १०, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?