२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विद्यालय बनाउन अभियान

टीकाप्रसाद भट्ट

रामेछाप — भूकम्पबाट क्षतिग्रस्त रामेछापका सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि चटारो छ । भूकम्पले भत्काएका अधिकांश विद्यालयहरूमा पुनर्निर्माणको अभियानै चलाइएको छ । 

विद्यालय बनाउन अभियान

जिल्ला ३ सय ९७ मध्ये अधिकांश विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त विद्यालयमध्ये अधिकांशमा पुनर्निर्माणको काम पुगेको छ । एसियाली विकास बैंक, यूएसएआईडी, नेपाल सरकार र गैरसरकारी संस्थामार्फत क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण र सुधारको काम भइरहेको हो ।


राष्ट्रि्रय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्तकुमार बुढाथोकीका अनुसार क्षतिग्रस्त विद्यालयहरूमध्ये कुनै ठेक्कामार्फत र कुनै व्यवस्थापन समितिमार्फत पुनर्निर्माण गरिँदै छ । उनका अनुसार एसियाली विकास बैंकको लगानीमा २१ वटा विद्यालय भवन निर्माण थालिएकोमा ९ वटा हस्तान्तरण भइसकेका छन् ।


पछिल्लो पटक प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले हिमगंगाको रेणुकादेवी माविको नवनिर्मित भवनको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । अन्य केही विद्यालयहरू फागुन मसान्तसम्म हस्तान्तरण हुने अवस्थामा छन् । यसैगरी, उपभोक्ता समितिमार्फत ८१ वटा विद्यालय भवनहरूको निर्माण कार्य पूरा भएको छ । प्राधिकरण कोषको लगानीमा उक्त विद्यालयहरूको निर्माण भएको हो । त्यस्ता विद्यालयको भवनहरूमा २ देखि ८ वटासम्म कक्षाकोठा रहेका छन् ।


यसैगरी, जिल्लाका विभिन्न गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैससको सहयोगमा समेत विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्पपछि तत्काल सेमिपर्मानेन्ट प्रकृतिका केही भवनहरूमा समेत गैससले सहयोग गरेका थिए । बुढाथोकीका अनुसार जिल्लाका ७० वटा विद्यालयहरूको पुनर्निर्माणमा गैससको लगानी भित्रिएका छन् ।


इकाईका इन्जिनियर सुन्दरश्याम घिमिरेका अनुसार एसियाली विकास बंैकको लगानीमा पुनर्निर्माण भएका विद्यालय भवनमा फर्निचर, ल्याब, अपांगमैत्री शौचालयसहित सुविधा उपलब्ध छन् । आधुनिक भूकम्प प्रतिरोधी भवनहरूको निर्माणपश्चात ३ वर्षसम्म कठिनाइ भोगेर शिक्षा आर्जन गर्दै आएका कलिला बालबालिकाहरूले सुविधा उपयोग गर्न थालेका घिमिरेले बताए ।

रामेछापमा एसियाली विकास बैंककै लगानीमा पुनर्निर्माण हुने विभिन्न १२ वटा सामुदायिक विद्यालयको निर्माणका लागि एक साताअघि सम्झौतामा हस्ताक्षर भएको छ । घिमिरेका अनुसार अन्य १८ विद्यालयहरूको सर्भेक्षण पूरा भएकोले उक्त विद्यालयहरूसमेत केही दिनभित्रै बोलपत्र आहवानको चरणमा जानेछन् । क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणको क्रममा भारतीय सरकारले निर्माण गर्ने जिम्मा लिएको चुचुरेको जटेश्वर र दुरागाउँको चण्डेश्वरीलगायत १० वटा विद्यालयको पुनर्निर्माण कार्यमा भने अझै अन्योल छ ।


सुरुमै पुनर्निर्माण गर्नुपर्ने सूचीमा समावेश भएका उक्त विद्यालयहरूको पठनपाठन बाँसकै कटेरामा हुँदै आएको छ । भारतीय पक्षसँग सम्झौता गरिसकेकाले उक्त विद्यालयहरूमा अन्य स्रोत परिचालन गर्न कठिनाइ भएको बुढाथोकीले बताए । ‘जहाँ अति आवश्यक छ, त्यही काम हुन सकेन,’ बुढाथोकी भन्छन् । यसैगरी विभिन्न १ सय १३ वटा विद्यालयमा ट्रस्टबाट भवनको सुधार भएको बुढाथोकीले बताएका छन् ।


भूकम्पले क्षति पुगेका जिल्लाका ५२ वटा विद्यालयमा भने अझै पनि पुनर्निर्माणको कार्य सुरु हुन सकेको छैन । विद्यार्थी संख्या न्यून भएका र भवन बनाउनका लागि उपयुक्त स्थानमा जग्गा नभएका विद्यालयको पुनर्निर्माण कार्य धकलिएको छ ।


यसैबीच, एसियाली विकास बैंकको लगानीमा पुनर्निर्माण भएका रामेछापको शीतलादेवी मावि देउराली र चण्डेश्वरी मावि गोठपानीका भवन विद्यालय व्यवस्थापन समितिलाई

हस्तान्तरण गरिएको छ ।

प्रकाशित : पुस २५, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?