२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विश्वसम्पदा नबिगार्ने प्रतिबद्धता

काठमाडाैं — विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपमा कुनै पनि किसिमको क्षति पुर्‍याउने काम नगर्ने प्रतिबद्धता सरोकार निकायले गरेका छन् ।

विश्वसम्पदा नबिगार्ने प्रतिबद्धता

‘ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, मौलिक, धार्मिक स्तूप प्रवद्र्धन तथा सम्वद्र्धनमा हामी सबै उत्तरदायी र प्रतिबद्ध छाैं’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठी, काठमाडौं महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति लगायतको संलग्नतामा स्तूपमा राखिएका आधुनिक बत्तीसमेत हटाइएको छ । बत्ती हटाउन मेलम्ची घ्याङ गुठीका

पदाधिकारी अघि सरेका थिए । त्यहाँ राखिएका किलासमेत उप्काउन सुरु गरिएको छ । किला उप्काउन महानगर, गुठीका पदाधिकारीलगायत पेन्चिस बोकेर गएका थिए । अभियन्ताले यसलाई ‘पेन्चिस अभियान’ नाम दिएका थिए ।

घ्याङ गुठी र क्षेत्र विकास समितिलाई बत्ती झिक्ने काममा प्रदेश ३ का सांसद छिरिङ दोर्जे लामाले समन्वय गरेका थिए । ‘एकअर्कामा समन्वय नहुँदा सम्पदा खतरामा पर्‍यो,’ लामाले भने, ‘क्षेत्र विकास समिति, घ्याङ गुठी र महानगर वडा कार्यालय एकै ठाउँमा बस्ने हो भने बौद्धनाथलाई कायापलट पार्न सकिन्छ ।’

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सम्पदालाई अब व्यवस्थित बनाइने बताइन् । ‘जनप्रतिनिधि नहुँदा १८ वर्षसम्म जे भयो भयो,’ खड्गीले भनिन्, ‘अब व्यवस्थित हुनेछ ।’ बौद्ध घ्याङ गुठीले बत्ती राख्न ‘ड्रिल मेसिन’ ले खोपेको थियो । त्यसको चौतर्फी विरोध भएको थियो ।

गुठीले बत्ती बाल्न जेनेरेटर राखेको थियो । त्यसलाई हटाउन पुरातत्त्व विभागले पत्राचार गरेको थियो । तीनपटक पत्र पठाएपछि गुठीले जेनेरेटर हटाएको छ । ‘अब बौद्धनाथमा कुनै पनि नयाँ संरचना बन्ने छैनन्,’ महानगर वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामाले भने, ‘अब बत्ती बाल्दा पनि नयाँ तरिका अपनाएर बाल्छौं । अब सम्पदा मासिने कुनै पनि गतिविध हुन वडा कार्यालयले दिने छैन ।’

यी दुई निकायको विवादले विश्वसम्पदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । एकले गर्न लागेको काममा अर्काेले अवरोध गर्ने प्रवृत्ति छ । पुनर्निर्माण पनि मापदण्डविपरीत भएको छ । कंक्रिट मिसाएर ढलान गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । विरोध हुँदा हुँदै पनि कंक्रिट झिकिएन । चाँडो बनाइयो भनेर प्रचार गरियो तर पुरातात्त्विक मापदण्ड मिचियो ।

बत्ती निकालेपछि शान्तिको प्रतीक १० जोर परेवा उडाइएको थियो । स्थानीयवासी, अभियन्ता, विद्यार्थीलगायतले मानव साङ्लो बनाएर स्तूपलाई घेरा लगाएका थिए । समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षणका लागि बौद्धनाथबाट महत्त्वपूर्ण काम थालनी भएको प्रतिक्रिया दिए ।

बौद्धनाथ क्षेत्र विकास समिति र गुठीले बेला बेलामा स्तूप खोपेर कुरूप पार्दै आएका थिए । स्तूपको मेरुदण्ड मानिने ‘सोक्सिङ’ (रष्ती) देखि नै खोप्न सुरु गरेका छन् । १३ तलाको बीचमा हुने ‘सोक्सिङ’ मा अग्राखको काठ हुन्छ । त्यसमा स्वर्ण अक्षरले बुद्धमन्त्र लेखिएको हुन्छ ।

‘सोक्सिङ’ को चारै दिशामा पञ्चबुद्ध (बहिलोचन, रत्नसम्भव, अमिताभ र अमोकसिद्धिसहित पञ्चबुद्ध) को प्रतिमा राखिएको हुन्छ ।

यहाँका बिजुलीका सर्किट जीर्ण हुँदा त्यसले स्तूपमा खतरामा परेको छ । जुनसुकै बेला आगलागीको खतरा रहेको भन्दै पुरातत्त्व विभागले त्यसलाई व्यवस्थित गर्न ७ महिनाअघि पत्र पठाएयो । जडान गरिएका विद्युत् सर्किट जीर्ण भएको, तार यत्रतत्र नांगै पल्टिएको हुँदा विश्व सम्पदामा आउने पयर्टन, धर्माबलम्वीलाई समेत अप्ठेरो परेको भन्दै पुरातत्त्व विभागले विद्युत् प्राधिकरणलाई मर्मत गर्न पत्र पठाएको थियो ।

प्रकाशित : पुस २०, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?