कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अवैध बालुवा उद्योगमा प्रहरी छापा

धादिङ — बूढीगण्डकी जलविद्युत् आयोजनाले खरिद गरेको जग्गामा बालुवा खानी तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन गरिरहेका अवैध उद्योगहरूमा प्रहरीले छापा मारेको छ ।

सशस्त्र प्रहरीको कमान्डमा ज्वालामुखी ५ बुङ्गकोट घाट, मस्तेखोलामा रहेका एक दर्जन बालुवा प्रशोधन केन्द्रमा छापा मारी विद्युतीय उपकरण नष्ट गरिएको हो ।


आयोजना मातहत गइसकेको जग्गामा विभिन्न स्थानमा ८ वटा बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपर बालुवा बेचबिखन गरिरहेको गुनासो आएपछि प्रहरीले छापा मारेको हो । स्थानीय तहका पदाधिकारीहरूकै मिलोमतोमा विगत १ वर्षदेखि नै अवैध बालुवाखानी सञ्चालन हुँदै आएको थियो ।


‘हामीले स्थानीय प्रशासन र स्थानीय तहहरूलाई आयोजना स्थलबाट बालुवाको अवैध ओसारपसार रोक्न पत्राचार गरे पनि रोकथाम नभएपछि केन्द्रमै सम्पर्क गर्नुपरेको हो,’ आयोजनाका संयोजक कृष्णबहादुर कार्कीले बताए ।


सशस्त्र प्रहरीका जिल्लास्थित प्रहरी नायव उपरीक्षक दर्शन गिरीको नेतृत्वमा गएको जनपदसहितको ३ वटै सुरक्षा निकायको टोलीले बालुवा उद्योगमा छापा मारेको हो । प्रहरी पुगेलगत्तै फिरफिरेका मजदुर र स्काभेटर, टिपर लगायत उपकरणरका चालकहरू उद्योग छोडेर भागेका थिए ।


गत वर्षको चैतमा पनि स्थानीय प्रशाासन र जिल्ला वन कार्यालयले पटकपटक छापा मारेर बन्द गराए पनि राजनैतिक दबाब र आर्थिक लेनदेनमा सञ्चालनमै रहेका थिए । गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालि ठूला आधुनिक लाखौं मूल्य पर्ने वुमरलगायतका उपकरणहरू जडान गरेका छन् ।


बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेका बालुवा व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गरेका छन् । कम्पनी रजिस्ट्रार कार्यालयले बालुवा प्रशोधन तथा धुलाइ गर्ने बालुवा खरिद गर्ने दर्तावाला खानीको लिखित सहमतिबिना नै बालुवा प्रशोधन उद्योग दर्ता गरिएको फेला परेको छ ।


राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन र बालुवा प्रशोधन बारम्बार विवादमा आएपछि बूढीगण्डकी किनारमा बालुवा तस्करहरूले आँखा गाडेका थिए । यसै मौकामा बूढीगण्डकी किनारमा रातारात उद्योग सञ्चालन गर्न पुगेका तस्करहरूले सदरमुकाम लगायतका काठमाडौंका बजारमा पुर्‍याएर महँगो मूल्यमा बालुवा बेच्दै आएका थिए ।

प्रकाशित : पुस २०, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?