चन्दा उठाएर विद्यालय

नगेन्द्र अधिकारी

काभ्रे — नेपालसँग सम्बन्ध जोडिएका दुई जर्मनी नागरिकले आफ्नो देशमा चन्दा उठाएर विद्यालय भवन बनाइदिएका छन् ।

दुई जर्मन संस्थाको सहयोगमा बनेको कालीगंगा प्राविको तीनकोठे आरसीसी विद्यालय भवन । तस्बिर : नगेन्द्र/कान्तिपुर

डा. माथियास वाउमेन र मिखाइल होस्लेले जर्मनमा विभिन्न खेलकुद प्रतियोगिता गरेर, चन्दा उठाएर र सामान बेचेर जम्मा गरेको रकमले नमोबुद्ध ६, चरङगेफेदीस्थित कालिगंगा प्राविमा ३ कोठे आरसीसी पक्की भवन निर्माण गरिदिएका हुन् ।

शेर्पा नेपाल हेल्फी नामक फाउन्डेसन खोलेर माथियासले र हिमालय प्रोजेक्टमार्फत होस्लेले रकम जम्मा गरेका थिए । माथियास पेसाले ट्रमा सर्जन हुन् । पर्वतारोहणको क्षेत्रमा काम गर्ने उनी सन् २०१४ मा हिम पहिरोमा परी १६ जना शेर्पाको मृत्यु हुँदा नेपालमा नै थिए । त्यसो समयमा पनि उनले बाबुआमा गुमाएका बालबालिकालाई सहयोग गरेका थिए ।

भूकम्पलगत्तै नेपालमा आएका उनले २०७२ सालको भूकम्पमा घाइतेहरूको धुलिखेल अस्पतालमा शल्यक्रिया गरेका थिए । ‘भूकम्पलगत्तै नेपालमा आएर सेवा गरे, त्यही बेला हामीलाई भत्किएका विद्यालय बनाइदिन अनुरोध गरेका थिए,’ माथियासले भने, ‘सामान बेचेर, रेस्लिङलगायतका खेलकुद प्रतियोगिता गरेर र चन्दा मागेर जम्मा गरेको पैसाले विद्यालय भवन बनाएका हौं ।’

चन्दा संकलन गरेर जम्मा भएको रकमले हिमाली गाउँ संरक्षण नेपालमार्फत कालिगंगा र रोशी ५, सिसाखानीमा रहेको गणेश आधारभूत विद्यालय निर्माण भएका छन् ।

मिखाइल ३० वर्षअघि नै नेपाल आएका हुन् । नेपाली नागरिक शान्ति सुनुवार बिहे गरेका उनका ३ सन्तान छन् । ‘पहिलादेखि नै काम गर्दै आएका हाैं,’ उनले भने, ‘भूकम्पपछि भत्किएका विद्यालय भवन निर्माणमा सहयोग गरेका हौं ।’

उनको संस्था हिमालयन प्रोजेक्टले हिमाली गाउँ संरक्षण नेपालमार्फत तेमाल भोज्र्याङको जनज्योति मावि, रोशी ५ को विद्या विकास प्रावि, बेथानचोक ३ को कृष्णगोपाल माविको विद्यालय भवन र रोशी ५ को भुमेस्थान माविमा शिक्षकका लागि आवासीय भवन निर्माण गरेका छन् ।

प्रकाशित : पुस २०, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

१२ वर्षीया बनिन् आमा

काठमाडाैं थापाथलीस्थित प्रसूति गृहका चिकित्सकहरूले बुधबार शल्यक्रिया गरेर सुरक्षित ढंगले प्रसूति गराएका थिए
प्रताप विष्ट

हेटाैंडा) — बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङलले बुधबार छोरी जन्माएकी छन् ।

२०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा नै छोरीलाई जन्मदिएकी हुन् । पछिल्लो पटक जिल्ला अति कम उमेरमा सन्तान जन्माउने सम्भवत: उनी मात्र एक हुन् ।

२० वर्षमुनिका किशोरीहरूले सन्तान जन्माएको तथ्यांक स्वास्थ्य संस्थाहरूमा बाक्लै भेटिन्छन् तर साढे १२ वर्ष पनि नपुगीकन बच्चा जन्माएको उनी मात्र हुन राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक विजय कापडीले भने ।

२०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो । १२ वर्षकै उमेरमा उनी गर्भवती भएको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सुरक्षित सुत्केरी सेवाका लागि पहल गरेको थियो । काठमाडाैं थापाथलीस्थित प्रसूति गृहका चिकित्सकहरूले बुधबार शल्यक्रिया गरेर सुरक्षित ढंगले प्रसूति गराएका थिए ।

चिकित्सकले पुस २३ गते सुत्केरी हुने समय निर्धारण गरेको भए पनि गंगामायालाई व्यथा लागेपछि प्रसूति गृह लगिएका थियो । शल्यक्रिया गरी जन्म दिएको शिशु २ केजी ९ सय ग्रामको रहेको छ । करिब डेढ महिनाअघि काठमाडौं पुगेकी गंगामाया काठमाडाैं वनस्थलीमा आफन्तका बस्दै आएकी थिइन् ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत मंसिर ४ गते गंगामायालाई घरवाट हेटौडा अस्पतालमा ल्याएर चेकजाँच गरेर मंसिर ५ गते सुरक्षित ढंगले सुत्केरी गराउन काठमाडाैं लगिएको थियो । उनको प्रसूति सेवामा लाग्ने र खानपानको खर्च प्रधानमन्त्री कार्यालयले बेहोरेको छ । उनको साथमा आमा राममाया छिन् ।

चार कक्षामा अध्ययन गर्दागर्दै उनले छिमेकी गाउँको चेपाङ किशोरसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेकै महिनामा उनको रजश्वला भएको थियो । त्यसपछि उनी गर्भवती भइन् । विवाह गरे पनि उनी धेरै समय माइतमा बस्ने गरेकी थिइन् । ४८ वर्षीया राममायाको गंगा जुम्ल्याहा छोरी हुन् ।

गंगा र बहिनीको नाम जमुना हो । जमुना अहिले स्थानीय स्कुलमा ६ कक्षामा अध्ययन गरिरहेकी छन् । त्यसो त गंगाको आमाको पनि १३ वर्षमा विवाह भएको हो । १४ वर्ष पुग्नेबितिक्कै उनले छोरा जन्माएकी थिइन् । पातलो शरीरकी राममायाले ३ वटा छोरीसहित १२ वटा सन्तान जन्माएकी थिइन् । ३ वटा छोराको १ महिनादेखि ११ महिनाको बीच मृत्यु भयो । अहिले उनको साथमा ६ वटा छोरा र तीन छोरी छन् । सबैभन्दा कान्छो छोरा ३ वर्षको छ ।

सन्तान धेरै भो भनेर उनले अहिले नरप्लान्ट प्रयोग गरेकी छन् । ‘हाम्रो चाँडै विवाह गर्ने चलन छ,’ राममायाले भनिन्, ‘गाउँका धेरै केटीहरूको १२–१३ वर्षमा विवाह गर्छन् । विवाह गरेपछि अर्को वर्ष बच्चा भइहाल्छ,’ उनले भनिन् ।

उक्त गाउँपालिकाको स्वास्थ्य संस्थामा पहिलो चौमासिकमा ५१ जना सुत्केरी भए । तीमध्ये २१ जना २० वर्षमुनिका रहेको गाउँपालिकाको स्वास्थ्य प्रमुख विनय कापडीले बताए । ‘पहिलो पटक गर्भवती जाँच गर्न राक्सिराङ गाउँपालिकास्थित स्वास्थ्य चौकीमा १ सय ८ जना आएका थिए । तीमध्ये ६२ जना वर्षमुनिका थिए,’ उनले भने । ‘जिल्लाको चेपाङ बाहुल्य रहेको अर्को कैलाश गाउँपालिकाका चारवटा बर्थिङ सेन्टरमापहिलो चौमासिकमा ९१ जना सुत्केरी भएका छन् । तीमध्ये ३१ जना २० वर्षमुनिका छन् । सबैभन्दा कम उमेरकी १४ वर्षकी बालिका बच्चा जन्माएको तथ्यांक छ,’ कैलाश गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्याम महतोले बताए ।

सरकारी तथा गैरसरकारी संस्थाहरूले सहर बजारमा बालविवाहविरुद्ध गोष्ठी सेमिनार लामो समयदेखि गरिरहेका छन् तर मकवानपुरका चेपाङ बालिकाहरूलाई उक्त कार्यक्रमले छुन सकेको छैन । सत्र वर्षकी बालिका मकवानपुर मनहरी गापा ४ मुसेधापको जंगलमा सानो त्रिपालमुनि १५ महिनादेखि २ दुई छोरी र एक छोरा च्यापेर बसेकी छन् ।

११ वर्षमा गाउँकै १६ वर्ष उमेरका केटासँग विवाह गरेकी निशा चेपाङले १२ वर्षको उमेरमा जेठी छोरी जन्माइएकी थिइन् । उनकी जेठी छोरी ५ वर्षकी भइसकेकी छन् । त्योभन्दामुनि २ वर्षकी छोरी छिन् भने काखमा अहिले सात महिनाको छोरा । अधिकांश चेपाङ समुदायले चोया र हँसियाले बच्चाको नाभी (साल) काट्ने गर्छन् । त्यसकै इन्फेक्सनले अकालमा नै बच्चाको मृत्यु हुने गरेको छ ।

मकवानपुरको उत्तर–पश्चिमी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायमा बालविवाह व्याप्त भएका कारणले १४/१५ वर्षमा नै चेपाङ महिला आमा बन्ने गर्छन् । गंगा र निशा, चेपाङ मात्र होइनन्, ९० प्रतिशतभन्दा बढी चेपाङ महिलाहरू १२/१३ वर्षको उमेरमा नै आमा बन्ने गर्छन् । ‘चेपाङ समुदायमा महिलाहरूलाई खुला भएका कारणले पनि छिट्टै विवाह हुने गरेको छ,’ राक्सिराङ गाउँपालिकास्थित काँकडा स्वास्थ्य चौकीका प्रमुख सूर्यबहादुर थिङले भने, ‘गरिबी र अशिक्षाका कारणले पनि चेपाङ बालिका बाल्य अवस्थामा नै आमा बन्ने गरेका छन् ।’

किशोरी हुन नपाई आमा बन्न पुगेका अधिकांश चेपाङ महिलाहरू विभिन्न रोगबाट ग्रसित छन् भने त्यस्ता आमाबाट जन्मेका शिशुहरू शारीरिक र मानसिक रूपले कमजोर देखिन्छन् । ‘१२/१३ वर्षकी बालिकाले जन्माएका बच्चाहरू शारीरिक र मानसिक रूपले अत्यन्त कमजोर हुन्छन्,’ हेटांैडा अस्पतालका बाल विशेषज्ञ डा. हरिबहादुर खडकाले भने, ‘आमा पनि विभिन्न रोगबाट ग्रसित हुन्छिन्, कम उमरेमा नै बच्चा जन्माउने महिलाको पाठेघर खस्छ ।’

बालविवाह, परिवार नियोजनबारे भ्रम, प्रजनन स्वास्थ्यका बारे अनविज्ञता, अनिच्छित गर्भधारण र सरसरफाइ र स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव तथा खाद्य असुरक्षाका कारण चेपाङ समुदायका महिला र बालबालिकाको अवस्था अत्यन्त नाजुक रहेको छ । शैक्षिक एवं आर्थिक रूपले पछाडि परेको चेपाङ बाहुल्य बस्ती र गाउँपालिकाका अधिकांश बासिन्दा निरक्षर छन् ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने कैलाश र राक्सिराङ गाउँपालिकामा व्याप्त रूपमा बालविवाह हुने गरेको छ । अन्य ८ स्थानीय तहमा पनि बालविवाह गर्ने प्रचलन अझै कायम छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ ।

प्रकाशित : पुस २०, २०७५ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्