कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ससुरालीमै पुगेर श्रीमतीमाथि एसिड

रमेशकुमार पौडेल

चितवन — पोखराका एक व्यक्तिले माइती बस्दै आएकी श्रीमतीमाथि ससुरालीमै पुगेर एसिड प्रहार गरेका छन् ।

ससुरालीमै पुगेर श्रीमतीमाथि एसिड

चितवन भरतपुर महानगरपालिका २४ जगतपुर ध्रुवस्थित माइतीघर बस्दै आएकी अस्मी भन्ने २० वर्षकी डोल्मा रुम्बालाई उनका श्रीमान् वीरेन गुरुङले एसिड आक्रमण गरेको चितवन जिल्ला प्रहरीले जनाएको छ । वीरेनले अन्य तीन साथीलाई पनि सँगै लिएर गएका थिए । वीरेनको घर पोखरा १ मा पर्छ ।


‘पोखराबाट अरू तीन साथीसहित पर्यटक बोक्ने गाडी रिजर्भ गरेर ससुराली पुगेका वीरेनले श्रीमतीमाथि एक्कासि एसिड हानेका थिए,’ चितवन जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दुर्गाराज रेग्मीले भने । घटना बुधबार दिउँसो भएको थियो । घटना घटेको एक घण्टापछि वीरेन र उनका साथी नारायणगढमा समातिएको रेग्मीले जानकारी दिए ।


डोल्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । ‘एसिड फाल्न खोज्दा जोगिएका कारण शरीरमा धेरै पर्न पाएन । अनुहारमै ताकेर हानिएको थियो,’ डीएसपी रेग्मीले भने । प्रहरीले एसिड राखेको बोतल र एसिडले प्वाल परेको डोल्माको ज्याकेट बरामद गरेको छ ।


मेडिकल कलेजका डा.दयाराम चापागाईंका अनुसार आँखा वरपर एसिड परेको देखिएको छ । तैपनि ठूलो असर परेको छैन । वीरेन ४७ वर्षको भएको चितवन प्रहरीको विवरणमा उल्लेख छ । डोल्माले भने उनको उमेर ४२ वर्ष भएको बताइन् । आजभन्दा पाँच वर्षअघि उनीहरूबीच बिहे भएको थियो । ‘खै के भयो भयो बाउको उमेरको व्यक्तिसँग बिहे गरेँ तर दुई वर्षपछि झगडा सुरु भयो,’ डोल्माले भनिन् ।


पोखरामा काम गर्न बसेका बेला वीरेनले नम्बर भेटेर बेलाबेला फोन गर्ने गरेको उनले बताइन् । ‘एक दिन फोन गरेर मुग्लिनमा भेट्ने भन्यो । भेटेकै दिन उसले बिहे गरौं भनेपछि धेरै कुरा नसोची बिहे गरें । तर दुई वर्षपछि रक्सी खाएर कुट्न थाल्यो,’ डोल्माले भनिन् । पछिल्लो पटक साउनमा उनी माइतै आएर बसिन् । त्यसपछि पुस १ गते पोखरा गएर ६ गते चितवन फर्केको उनले बताइन् ।


‘लेखनाथ महोत्सवको स्टलमा बस्ने जागिर पाएकी थिएँ । मेरो लोग्ने त्यहीं पुगेर झगडा गर्न थालेपछि माइतै फर्कें,’ डोल्माले भनिन् । वीरेनले फेसबुकमा आफू र आफ्नी बहिनीका बारेमा आपत्तिजनक आरोप लगाउने, फोन नम्बर राखेर अनावश्यक कुरा लेख्ने गरे पनि आफूले श्रीमान् हो भनेर कतै उजुरी नगरेको डोल्माले बताइन् । साथीहरू ल्याएर यसरी आक्रमण गर्ला भन्ने सोच्दै नसोचेको उनले बताइन् ।


प्रहरीले वीरेन, पोखरा १ का वीरेन्द्रमान गुरुङ, १० का विवेक गुरुङ र होम थापालाई नियन्त्रणमा लिएको छ । ‘घटनापछि उनीहरू गाडी चढेर भागेका थिए । भरतपुर चौबीसकोठीमा हामीले रोक्दा नरोकी लायन्स चोक पुगेका थिए । त्यहीं पक्राउ परे,’ रेग्मीले भने ।


घरमा आफूभन्दा साना चार जना बहिनी मात्रै भएका बेला यस्तो घटना भएको डोल्माले सुनाइन् । ‘उसको बुवा बित्नुभयो । भाइ भारतमा छ । म घाँस काट्न बारीमा गएका बेला घरमा तीन/चार जना बलिया मान्छे आएर यस्तो अत्याचार गरे,’ डोल्माकी आमा शान्तिले भनिन् ।

प्रकाशित : पुस १९, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?