कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरमा आधुनिक शौचालय बन्दै

प्रशान्त माली

ललितपुर — काठमाडौं र ललितपुर महानगरपालिकाले विभिन्न ठाउँमा नयाँ शौचालय बनाउने भएका छन् । काठमाडौंमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर योजना बनाइरहेको छ । ललितपुरमा पनि कार्यपालिका बैठकमा छलफल सुरु गरिसकेको छ ।

महानगरमा आधुनिक शौचालय बन्दै

विज्ञहरूले ई–ट्वाइलेटको सम्भावना रहेको भन्दै बनाउन सुझाएका छन् । काठमाडौं महानगरले ४२ वटा शौचालय बनाउने योजना बनाएको छ । अब बन्ने शौचालय कस्तो हुनेछ भन्नेबारे सबैको चासोको विषय बनेको छ । काठमाडौंका पूर्वमेयर केशव स्थापितको पालामा पनि सार्वजनिक निजी साझेदारी मोडेलमा केही शौचालय बनेका थिए ।


शौचसम्बन्धी जानकार प्रकाश अमात्य भन्छन्, ‘तर, त्यति बेला शौचालयसम्बन्धी नीतिनियम नहुँदा योजना फेल खाए ।’


उनले अब बन्ने शौचालयको स्थिति पनि त्यस्तै हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘अहिलेको शौचालय उच्च प्रविधियुक्त बनाउन आवश्यक छ,’ उनले भने, ‘काठमाडौंमा स्र्माट ई–ट्वाइलेटको सम्भावना छ ।’ उनका अनुसार ई–ट्वाइलेटको व्यवस्था भएमा अपांगता भएका व्यक्तिले पनि सहजै प्रयोग गर्न सक्छन् ।


‘आधुनिक प्रविधिमा आधारित शौचालय एक सय १० किलोग्रामको हुनेछ । जुनसुकै सार्वजनिक स्थलमा समेत राख्न सकिनेछ,’ उनले भने, ‘शौचालयमा पानीको टयांकीको साथसाथै फोहोर संकलन गर्ने टयांकीसमेत हुनेछ । सौर्य ऊर्जाबाट चल्ने बत्ती तथा भेन्टिलेसन पनि जडान गरिएको हुन्छ ।’ उनले हात धुने, बेसिन ट्वाइलेट पेपर स्टयान्ड, ऐनालगायतका सामग्री हुने बताए । ‘आर्थिक परदर्शी र शौचालयको प्रयोगकर्ताको संख्या पनि पत्ता लगाउन सकिन्छ,’ उनले भने ।


काठमाडौं र ललितपुर महानगरको ई–ट्वाइलेट बनाउने योजना आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि व्यवस्था छ । जसमा काठमाडौंमा ५० वटा ई–ट्वाइलेट निर्माण गर्ने उल्लेख छ । काठमाडौं महानगरले प्रस्तावित गरेको आधुनिक शौचालय रोटोमोल्डिङ प्रविधिमा आधरित हुनेछ । शौचालय टिकाउ प्रणाली र मजबुत हुनुका साथै सूर्यबाट आउने हानिकार यूभी विकिरणबाट समेत सुरक्षित हुनेछ ।


काठमाडांै महानगरका प्रवक्ता ईश्वरमान डंगोलले शौचालय बनाउन सर्भे भइरहेको बताए । ‘उपयुक्त ठाउँको खोजी भइरहेको छ,’ उनले भने, ‘अटोमेटिक सञ्चालन हुने शौचालयको डिजाइन बारेमा छलफल भइरहेको छ ।’ उनले शौचालय नीति बनाउन गृहकार्य भइरहेको बताए ।

ललितपुर र काठमाडौंका सार्वजनिक तथा विश्व सम्पदामा सूचीकृत स्थानमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाहय पर्यटकले सास्ती खेप्दै आइरहेका छन् ।

खोइ अपांगमैत्री शौचालय ?

ललिपतुरमा ६ वटा सार्वजनिक शौचालय छन् । कुनै पनि शौचालयमा दृष्टिविहीनका लागि ध्वनि, श्रवणशक्ति नभएकाका लागि ब्रेललिपिमा अक्षर वा अन्य कुनै चिह्न राखिएको छैन । न त कुनै आधुनिक प्रविधि जडित गरिएको छ । ‘दृष्टिविहीन शौचालय पुग्नुअघि सडक किनारामा रोपिएका बिरुवा जोगाउन राखिएका ट्री गार्डमा ठोकिन्छन्,’ अपांगता भएका एमके ज्वाला भन्छन्, ‘शौचालयलाई सरकारले कमाइ खानो भाँडो बनाए । यहाँ गरिबको कुरा कसले सुन्ने ?’


जावलाखेलस्थित शौचालयमा १० वटा कोठा छन् । भूकम्पले क्षति पुर्‍याउनुअघि महिला र पुरुषका लागि ५/५ वटा कोठा छुटयाइएको थियो । अहिले दुवैका लागि साझा रूपमा सञ्चालनमा छ ।


लगनखेलस्थित शौचालयमा दैनिक ७ सय जनाले प्रयोग गर्छन् । धेरै मानिसले प्रयोग गर्ने भए तापनि अपांगता भएका व्यक्तिका लागि पहँुच छैन । २ वटा पुरुष र २ वटा महिलाका लागि कोठा भएको शौचालयमा ढल व्यवस्थापन छैन । मंगलबजारको शौचालयमा महिलाका लागि ४ वटा कोठा छन् । तीमध्ये एउटाको ढोका जाम छ । पुरुषका लागि ३ वटा र पिसाब फेर्ने ५ वटा स्थान छन् । पर्यटकका लागि छुट्टै व्यवस्था छ । प्रयोगमा छैनन् ।


शौचालयमा अपांगता भएका व्यक्तिका लागि र्‍याम बनाइएको छ । र्‍यामबाट शौचालयमा पुग्न व्हीलचेयर गुडाउने पर्याप्त स्थान नभएकाले प्रयोगमा आउन सकेको छैन । भूमिगत टयांकी चुहिएकाले पानीको पनि राम्रो व्यवस्था छैन ।


पाटन ढोकाको शौचालयमा जेनतेन चलिरहेको छ । भ्यान्टिलेसन नभएकाले अत्याधिक दुर्गन्ध फैलिएको छ । अपांगता भएका व्यक्ति शौचालयभित्र छिर्न सक्ने पूर्वाधार छैन । काठमाडौंको भृकुटीमण्डपस्थित अपांगमैत्री शौचालय अहिले चर्चामा छ । परिचयका आधारमा अपांगता भएका व्यक्तिले नि:शुल्क प्रयोग गर्न पाउने व्यवस्था छ । अमात्य भन्छन्, ‘शौचालय अपांगमैत्री र सरसफाइ छ/छैन भन्नेबारेमा बुझ्न नियमनकारी निकायले अनुगमन नगरीकन थाहा हुँदैन । तर, कसैले चासो दिएको छैन ।’


उनले जनप्रतिनिधिमा शौचालयसम्बन्धी न्यूनतम मापदण्डमा बारेमा जानकार नहुँदा पनि समस्या भएको बताए । ‘टेन्डर गर्दा शौचालय कुन अवस्थामा हुनुपर्छ भन्नेबारेमा सम्झौतामा उल्लेख भएको हँुदैन । त्यहाँ त रकमको बारेमा मात्र उल्लेख हुन्छ ।’


उनका अनुसार शौचालय व्यवस्थित नभईकन उपत्यकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुको कुनै औचित्य छैन । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले शौचालय व्यवस्थित गर्नेबारे छलफल भइरहेको बताए । ‘हामी नीतिनियम बनाउने तयारीमा छौ,’ उनले भने ।

प्रकाशित : पुस १८, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?