कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्ममै बनाउँछन् घर

टीकाप्रसाद भट्ट

रामेछाप — डडुवाको गढीगाउँमा बाक्लो थामी बस्ती छ । उक्त बस्तीका थामीहरू भूकम्पप्रतिरोधि सुरक्षित आवास बनाउन पोख्त छन् । अन्यत्रको भन्दा राम्रा घर थामी बस्तीमा निर्माण भइरहेका छन् ।

पर्ममै बनाउँछन् घर

रामेछाप जिल्लामा पुनर्निर्माणको काममा पश्चिमी पहाडबाट आएका डकर्मीले धेरै पैसा लगे । तर डडुवाको पैसा कतै नगएको वडा सदस्य मंगले थामीले बताए । अन्य रोजगारीमा नभएका थामीहरू एकै घरबाट २ देखि ३ जना काममा निस्कने गरेका छन् ।


काम गरेको पारिश्रमिक दिन्छु भन्दा लिन नमान्ने तर पर्ममा भने जति पनि गर्ने । रामेछापको डडुवाको थामी गाउँमा भने प्राय: त्यस्तै हुन्छ । ज्यालाबिनै काम गर्छन् उनीहरू । भूकम्प जानुअघि उनीहरू घर बनाउने काममा अन्यत्र ज्याला मजदुरी गर्न जान्थे । अन्त जाँदा भने उनीहरू ज्यालामा काम गर्छन् । गाउँमा पर्दा सित्तैमा ।


थामी बस्तीमा परस्पर अर्मपर्म चल्छ । यसलाई कसैले सरह भन्छन्, कसैले सहयोग । गाउँका केही घर मिलेर एकले अर्कोका परेको काम गर्ने चलन छ । खेती होस् या अरू निर्माण कार्य उनीहरू अर्मपर्ममै सक्छन् । ‘म खुवाउन सक्दिनँ । पैसा दिन्छु काम गर्देऊ भन्दा कोही मान्दैनन्,’ डडुवा तीनघरेका शिवुलाल थामी भन्छन्, ‘खुवाउँछु भनेपछि हौसिएर खुसी हुँदै आउँछन् ।’


भूकम्पबाट लडेका निजी आवास पुनर्निर्माणका लागि उनीहरूले कर्मीलाई पैसा दिनुपरेन । तर कर्मीलाई दिने ज्यालाको पैसाभन्दा खुवाउने खर्च बढी भयो । ‘ज्याला दिँदा तोकिएको हुन्छ, खुवाउने कुरा तोकिएको हुँदैन,’ थामी भन्छन्, ‘मागेको जति सबै कुराको व्यवस्था गर्दा महँगो पर्न गयो ।’


परस्पर सहयोग गर्दा काम गर्नेलाई तीन पटक खाजा खानाको व्यवस्था गर्नुपर्छ । गाउँमा जे काट्छन् त्यसको मासु त छँदै छ, काम गर्दागर्दै मदिरा पनि खुवाउनुपर्छ । भोलि यस्तो खाने भनेर कर्मीले भन्दा त्यो पुर्‍याउने चलन थामी परिवारमा छ ।


उनीहरू मकै छर्दा होस् या गोडदा, जंगलबाट दाउरा ल्याउने होस् या कोदो रोप्दा यसैगरी अर्मपर्म गर्दै आएका छन् । स्थानीय फूलबहादुर थामीका अनुसार, झन्डै ७ सय परिवारमा बसोबास रहेको थामी गाउँमा सदियौंदेखि अर्मपर्म चल्दै आएको छ । पारस्पारिक सहयोगले थाहै नपाई काम गर्ने चलन थामीहरूको छ । ‘अरू गाउँमा कर्मी पाइएन भन्ने चिन्ता भयो,’ थामी भन्छन्, ‘यहाँ कहिले घर सकियो थाहै भएन । घरघरै कर्मी अनि ज्यामी भएकाले पनि सजिलो भएको हो ।’


थामीहरूले घर बनाउने सम्बन्धी काम पहिलेदेखि नै गर्दै आएका थिए । भूकम्पले गाउँ स्वाहा भएप्छि आफ्नै गाउँमा काम पाए । ८/१० वटाको घर तिनै घरमूलीहरूले छिट्टै बनाए । ‘एउटा डीपीसी गर्‍यो अनि अर्कोमा सर्‍यो । त्यसै गरी एकै पटक ८/१० तयार बनायौंँ,’ स्थानीय सन्ते थामीले भने ।

प्रकाशित : पुस १५, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?