३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पानीघट्टले गाउँ झलमल

हेटौंडा — विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेको मकवानपुर सुदूरपूर्वी क्षेत्रका दुर्गम बस्तीलाई पानीघट्टबाट उत्पादित विद्युत्ले झलमल बनाएको छ । 

मकवानपुरको बकैया गाउँपालिका १० साविकको मन्थली गाविस २ अम्वासका बासिन्दाले पानीघट्टबाट विद्युत् उत्पादन गरेर गाउ‘लाई उज्यालो बनाएका हुन् । विद्युत् मात्र उत्पादन गरेका छैनन्, घट्टबाट निस्केको पानीबाट जमिनमा सिँचाइ पनि गरेका छन् ।


ललितपुरको गिम्दीस्थित देउता खोलाको पानीबाट घट्ट चलाएर विद्युत् उत्पादन गरेका छन् । २०६० सालमा मन्थली अम्वासका २७ घरधुरीले प्रतिघरधुरी १५ हजार उठाएर पानीघट्टमा टर्बाइन जडान गरेर विद्युत् उत्पादन गर्दै आएका छन् ।


गिम्दीका भरत सापकोटाले घट्ट सञ्चालन गरेका छन् । पानीघट्टबाट निस्केको ३ किलोवाटको विद्युत् ५० वटा पोल गाडेर मन्थलीको अम्वासको बस्तीमा पुर्‍याइएको छ । वाग्मतीको वल्लो किनारमा रहेको पानीघट्टबाट निस्केको विद्युत् वाग्मतीकै पल्लो किनारमा रहेको अम्वासको बस्तीमा पुर्‍याइएको छ ।


कहिलेकाहीँ लोडसेडिङले सहर र अन्य गाउँका बासिन्दाहरू पीडित भइरहेको अवस्थामा अम्वासका बासिन्दाहरू लोडसेडिङको अत्तोपत्तो छैन । ‘२४ सै घण्टा बिजुली वलिरहन्छ,’ अम्वासका बुद्धिलाल भ्लोनले भने, ‘लोडसेडिङ के हो गाउँलाई थाहा छैन ।’ पानीघट्टबाट निस्केको विद्युत्बाट अम्वासमा फर्निचर उद्योग र राइस मिल पनि सञ्चालन गरिएको छ । विद्युतबाट गाउँका टेलिभिजन पनि चलिरहेको छ ।


वाग्मती खोलाले मकवानपुरको मन्थली र ललितपुरको साविकको गिम्दी गाविस छुट्टयाएको छ । गिम्दीस्थित खोलाबाट विद्युत् उत्पादन गरे पनि मकवानपुरस्थित मन्थलीका बासिन्दाले मात्र विद्युत् खपत गरेका छन् ।


गिम्दीको बस्तीमा विद्युत्को केन्द्रीय प्रसारण लाइन नै पुगेकाले पानीघट्टबाट उत्पादित बिजुली सवै मकवानपुरको अम्वासका बासिन्दाले मात्र प्रयोग गरेका छन् । ललितपुरतर्फको वाग्मती किनारमा रहेका बस्तीहरूमा बिजुली, पानी, सडक लगायत सुविधाहरू पुगेका छन् भने मकवानपुरतर्फको वाग्मती किनार रहेका बस्तीहरूमा सडक त परको कुरा, गोरेटोबाटो पनि छैन । कुवाको पानीबाट तिर्खा मेट्न बाध्य छन् ।


कवानपुरको सुदूरपूर्वमा पर्ने वाग्मती किनारमा पर्ने बस्ती र ललितपुरको दक्षिणी भेगको वाग्मती किनारमा पर्ने बस्तीका भौतिक पूर्वाधारहरूको विकासमा व्यापक अन्तर छ । आर्थिक जीवनस्तर पनि फरक छ । ललितपुर जिल्लामा पर्ने वाग्मती किनारका गाउँका विकास देखेर मकवानपुरको सुदूरपूर्वी क्षेत्रका वाग्मती किनारामा जोडिएका बासिन्दा ललितपुरतर्फ लोभिने गरेका छन् ।

प्रकाशित : पुस १५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?