हात्तीको घम्साघम्सी

रमेशकुमार पौडेल

चितवन — हात्ती महोत्सवको तेस्रो दिन शुक्रबार सौराहामा हात्तीका तीन खेल भएका छन् । हात्ती पोलोमा एमई ट्राभल्सको टिम विजयी भएको छ ।

हात्तीको घम्साघम्सी

हात्तीको बच्चा (छावा) को फुटबल खेलमा एनआईसी एसिया बैंकको समूह विजयी भएको छ ।

हात्ती महोत्सवको छैटौं संस्करणबाट छावाको फुटबल सुरु भएको हो । एक समूहमा चार÷चारवटा छावा हुने फुटबल खेल हेर्दा रमाइलो देखिन्छ । माहुतेको इसारामा छावाले आफैं लात्ताले बल हुत्याउने गर्छन् । छावाको फुटबलको निर्णयका लागि टस गर्नुपरेको थियो । एनआईसी एसिया र कुमारी बैंकबीचको छावा फुटबलमा मध्यान्तरअघि १५ र पछि १५ मिनेट खेलाउ“दा समान दुई दुई गोल भएको थियो ।

कुमारी बैंकको छावा मारुतीकलीले आफ्नै पोस्टमा बल हिर्काउँदा खेलमा एनआईसी एसियाले सुरुवाती अग्रता लिएको थियो । तर तत्कालै रिमझिमकलीले कुमारी बैंकका लागि गोल गरेर खेल बराबरीमा ल्यायो । १० मिनेटको मध्यान्तर हुने खेलको निर्धारित समय सकिँदा कुमारी बैंकका लागि माडी गज र एनआईसीका लागि सौराहा गजले एक एक गोल गरेर खेलमा बराबरीकै अवस्था कायम राखे ।

त्यसपछि भएको पेनाल्टी प्रहारमा पनि दुवै टिमबाट समान दुई दुई गोल भए । थप भएको पेनाल्टी अवसरमा पनि दुवै टिमले समान एक एक गोल गरे । छावालाई खेलको धेरै तनावमा नपार्नका लागि आयोजकहरूले टसबाट जितको निक्र्यौल गर्ने निर्णय लिए । जसमा एनआईसी एसिया बैंक भाग्यमानी सावित भयो । शनिबार सीजी फुड्स र कोकाकोलाबीच छावा फुटबल हुनेछ ।

नेपालको पहिलो जंगल लज चितवन निकुञ्जभित्रको टाइगर टप्स होटलले मेघौलीमा आयोजना गर्ने हात्तीपोलो अहिले हुन छाडेको छ । तर तीन वर्षयता हात्ती महोत्सवमा यो खेललाई आयोजकहरूले राखेका छन् । हात्ती पोलोका लागि शुक्रबार भएको खेलमा एमई ट्राभल्सको समूहले मेगा बैंकलाई पराजित गरेको हो । एमईले पाँच गोल गर्दा मेगाले चार मात्रै फर्काउन सक्यो ।

पोलोमा माहुतेको पछाडि खेलाडी बसेको हुन्छ । लामो पोलो स्टिकको मद्दतले खेलाडीले क्रिकेट बल आकारको बललाई पोस्टतिर हुत्याउँदै जित्नका लागि गोल गर्नुपर्ने हुन्छ । छावा फुटबल र पोलोमा चार चार टोलीले भाग लिएका छन् । शनिबार पोलो खेलमा एनआरएन हङकङ र सौराहाको होटल सेभेन स्टारको टोली भिड्नेछ । दुवै प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

हात्ती दौडका नाममा १५ वर्षअघि कार्यक्रम सुरु भएको हो । पशु अधिकारकर्मीको विरोधपछि हात्तीलाई दौडाउने नभएर छिटो हिँडाउने भन्न थालिएको हो ।

यस्तो प्रतियोगिता अर्थात् इलाफेन्ट फास्ट वाकमा दोस्रो चरणका लागि छानिएका १२ हात्तीमा बिजुलीकली, जानकीकली, बम्बोजकली, एकताकली, अनारकली, चम्पाकली र आशाकली र सम्वृद्धकली छन् । पूजाकली, रानीमायाकली, गुलाबकली र लक्कीकली पनि छनोट भएका छन् । फास्ट वाकको फाइनल पनि आइतबार नै हुनेछ ।

प्रकाशित : पुस १४, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?