पढाएकै बुझ्दैनन् विद्यार्थी

भवन पुनर्निर्माणमा ढिलाइले सबै विद्यार्थी टहरामै
बलराम घिमिरे

रसुवा — कक्षाकोठामा धेरै कोचिएर पढदा होहल्ला बढी हुन्छ । हावाहुरी चल्दा पनि पढाइमा अवरोध हुन्छ । पानी पर्दा टहराबाट चुहिन्छ । जस्तामा पानीको आवाजले पढाएकै सुनिँदैन ।

अस्थायी टहरामा पठनपाठन गर्दै नीलकण्ठ नमुना माध्यमिक विद्यालय रसुवाका विद्यार्थी । तस्बिर : कान्तिपुर

नीलकण्ठ नमुना माध्यमिक विद्यालयका छात्रछात्राहरूले महाभूकम्पपछि नै यस्तो समस्या झेल्दै आएका छन् । यो स्कुलको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले लिएको छ ।
‘चिनियाँ टोली आएर विद्यालयको नापजाँच गर्‍यो । परीक्षणका लागि माटो नि लिएर गयो,’ विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले भने, ‘त्यसपछि चिनियाँहरू पनि फर्केर आएका छैनन् ।’ भूकम्प गएको ४४ महिना बितिसक्दा पनि विद्यार्थी अझै टहरामुनि पठनपाठन गरिरहेका छन् ।

कालिका गाउपालिका–५ पर्ने यो विद्यालयका छात्रछात्राहरू जीर्ण विद्यालय र अस्थायी टहरामै बसेर पढन बाध्य भएका हुन् । बालविकास केन्द्रका स–साना विद्यार्थीसमेत जीर्ण बनेको भवनमा पढिरहेका छन् । भूकम्पले विद्यालय भवन भत्किएपछि १० वटा जस्तापाताको अस्थायी टहरा निर्माण गरी कक्षा सञ्चालन हुँदै आएको छ ।

उक्त विद्यालयमा ५ सय १७ जना विद्यार्थी अध्ययनरत छन् । नीलकण्ठ नमुना माध्यमिक विद्यालय भवन चीन सरकारले निर्माण गर्ने भनेर जिम्मेवारी लिएको देवकोटाले जानकारी दिए । नेपाल सरकार र चीन सरकारबीच २०६८ सालमै चीनसँग सीमा जोडिएका १० जिल्लाका १० नमुना विद्यालय भवन निर्माण गर्ने सम्झौता भएको थियो ।

उक्त सम्झौतामा यो विद्यालय पनि परेको थियो । पहिलो पटक भने २०६८ सालमा चिनियाँ टोली आएर विद्यालयको नापजाँच र माटो परीक्षण गरेको थियो । ‘खै किन हो, टोलीले परीक्षण मात्र गरेका छन् । पुनर्निर्माण काम हुन सकेको छैन,’ उनको गुनासो छ ।

भूकम्पपछि पनि दोस्रो पटक चिनियाँ टोली आएर विद्यालयको नापजाँच र माटो परीक्षण गरेको हो । आफूले सरोकारवाला निकायसँग पटकपटक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको देवकोटाले गुनासो पोखे । जस्तापाताको अस्थायी टहरामा बसेर पठनपाठन गर्दा गाह्रो भएको कक्षा १० का विद्यार्थी वासुदेव पौडेलले बताए ।

‘एउटै कक्षा कोठामा धेरैजना विद्यार्थी हुँदा होहल्ला हुन्छ । पढाएको बुझिँदैन,’ उनले भने । ठूलो पानी पर्दा पढाइ नै बन्द गर्नुपर्ने अवस्था आउने शिक्षकको कथन छ ।

प्रकाशित : पुस १३, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशसभा अधिवेशन अन्त्य

नगेन्द्र अधिकारी

हेटौंडा — जेठ १ गतेबाट सुरु भएको प्रदेशसभा ३ को दोस्रो अधिवेशन बिहीबारबाट अन्त्य भएको छ ।

प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन अन्त्य भएको व्यहोराको प्रदेश प्रमुख कार्यलयको पत्र पढेर सुनाएका थिए । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

कार्यव्यवस्था परामर्श समितिका सचिवसमेत रहेका शाखा अधिकृत सुनीता गजुरेलका अनुसार, ४२ दिनमा ६६ घण्टा २० मिनेट बसेको प्रदेशसभा बैठकले २२ वटा कानुन पारित गरेको छ । दुवै अधिवेशन गरेर पारित विधेयकको संख्या २५ पुगेको छ । २०७४ माघ १८ गते सुरु भएको प्रदेशसभाको पहिलो अधिवेशन २०७५ वैशाख १४ गते अन्त्य भएको थियो ।
‘जनताका कुरा कहाँ राख्ने ?’

प्रदेशसभा सदस्यहरूले बैठक नियमित नहुनाका साथै शून्य र विशेष समयसमेत उपलब्ध नभएको भन्दै गुनासो गरेका छन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हँुदै विवेकशील साझा पार्टीका नेता रमेश पौड्यालले जनताको आवाज राख्ने स्थान नपाएको तर्क गरे ।

‘सैद्धान्तिक छलफलमा सहभागी हुन उभिँदा मैले निसास्सिएको महसुस गरेको छु, कसैले मेरो घाँटी थिचेको अनुभव भएको छ,’ पौड्यालले भने, ‘जनताको आवाज संसद्मा राख्न पाइएको छैन, जनताको समस्या सुनुवाइ भएन भने संसद्को के काम ?’

सांसदहरूले प्रदेशको स्थायी राजधानी र नामकरण टुंग्याउन माग गरेका छन् । कांग्रेस सांसद प्रभात तामाङले राजधानी र नामकरणको विषय पहिला टुंग्याएर मात्रै अन्य विकास निर्माणलगायतका काम अघि बढाउन सकिने तर्क गरे । सांसद पौड्यालले प्रदेश राजधानी नतोकी औद्योगिक राजधानी तोक्नुको अर्थ नहुने तर्क गरे ।

प्रदेशसभाको बिहीबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले पेस गरेको दफावार दलफलपछिको प्रतिवेदन सर्वसहमतिले पारित भएको हो ।

प्रकाशित : पुस १३, २०७५ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्