१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ठडिँदै विद्यालय

भूकम्पले विद्यालय भत्किएपछि छाप्रोमा पढ्न बाध्य विद्यार्थी मंसिरदेखि नयाँ भवनमा पढ्न पाउँदा दंग छन्

नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका–३ स्थित देउराली माध्यमिक विद्यालयको भवनले टाढैबाट सबैको ध्यान तान्छ ।

ठडिँदै विद्यालय

विद्यालय भत्किएपछि छाप्रोमा बसेर पढ्न बाध्य विद्यार्थी नयाँ भवन पाउँदा दंग छन् । ‘पहिला छाप्रोमा बसेर पढ्नुपथ्र्यो,’ देउराली माविमा कक्षा १० मा अध्ययनरत मुना तामाङले भनिन्, ‘हावाहुरी र पानी पर्दा पढ्न समस्या थियो ।’


टहरामा हल्लाका कारण पढाएको नबुझिने समस्या रहेको उनले बताइन् । एउटै बेन्चमा ५ जनाभन्दा बढी बस्नुपर्ने बाध्यता थियो । नयाँ भवनमा एउटा बेन्चमा २ जना मात्र बस्न मिल्छ । १३ कोठे दुईवटा भवन जापान सहयोग नियोग (जाइका) ले बनाइदिएको हो । मंसिरबाट नयाँ भवनमा विद्यार्थीले पढ्न पाएका हुन् ।


विद्यालय डाँडामा भएकाले खेल मैदानको भने समस्या छ । प्रअ आइसिंह तामाङका अनुसार २ सय ५७ जना विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । छात्रा र छात्रलाई छुट्टाछुट्टै ४ वटा शौचालय बनाइएको छ । दुईवटा शौचालय अपांगमैत्री छन् । गाउँपालिकाले १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।


म्यागङ–४ स्थित किम्ताङमा १ मावि र ३ वटा आधारभूत विद्यालय छन् । वडाध्यक्ष कमलबहादुर तामाङका अनुसार आधारभूत विद्यालयको ३ वटा भवनमध्ये २ वटा जिल्ला शिक्षा समन्वय समितिले बनाइसकेको छ । अर्को भवन जाइकाको सहयोगमा निर्माण भइरहेको छ । सानो किम्ताङ मावि पुस ५ गते बिहीबारबाट सञ्चालनमा आएको छ ।


वडाध्यक्ष तामाङका अनुसार आसपास निजी स्कुल छैनन् । यसले गर्दा पनि सार्वजनिक स्कुलमा विद्यार्थीको भीड छ । माविमा मात्र ४ सय ५० जना विद्यार्थी रहेको उनले सुनाए । चन्द्रदेवी आधारभूत विद्यालयमा ३ सय विद्यार्थी छन् । जिल्लामा रहेका ४ सय ५०

सामुदायिक विद्यालयमध्ये ३ सय ६४ भूकम्पले पूर्ण रूपमा ध्वस्त भए ।


जिल्ला आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी बोधराज पाठकका अनुसार १ सय २० वटा विद्यालयमा आंशिक क्षति भएको थियो ।सरकारी तबरबाट ७० वटा विद्यालय बनिसकेका छन् । १ सय ४८ वटा विद्यालयको पुनर्निर्माण जारी छ । निर्माण हुन बाँकी ४३ विद्यालय छन् । गैरसरकारी निकायबाट ५१ वटा विद्यालय पुनर्निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । १ सय ९ वटा विद्यालयको पुनर्निर्माण जारी छ ।


जिल्लामा जाइकाले मात्र ५७ वटा भवन पुनर्निर्माणको जिम्मा लिएको छ । जसमध्ये ४ वटा भवन बनाएर हस्तान्तरण गरिसकेको छ । रुम टु रिडले जिम्मा लिएको ५२ भवनमध्ये १० वटाको बनिसकेको छ ।


भारतीय दूतावासले १० वटा भवन निर्माणको जिम्मा लिएकोमा ५ वटामा काम गरेको छैन । पाँचवटा निर्माण क्रममा छन् । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सरकारी र गैससले धमाधम विद्यालय भवन बनाइरहेको बताए ।

प्रकाशित : पुस १०, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?