कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

४४ महिनापछि बन्ने भयो विद्यालय

प्रताप विष्ट

हेटौंडा — ४४ महिनादेखि शीत र सिरेटोसँग जुध्दै टहरामा पढिरहेका विद्यार्थी विद्यालय भवन बन्ने भएपछि खुसी भएका छन् ।

४४ महिनापछि बन्ने भयो विद्यालय

जाइकाको आर्थिक सहयोगमा थाहा नगरपालिका ११ नौखण्डेस्थित बागेश्वरी माविको भवन बन्ने भएको हो । प्रतिनिधि सभाका सांसद विरोध खतिवडाले एक समारोहबीच आइतबार भवनको शिलान्यास गरे ।


०७२ को भूकम्पले विद्यालय भवन पूर्ण क्षति गरेको थियो । विद्यालय भत्केपछि विद्यार्थीहरू पाँचवटा टहरामा बसेर पढिरहेका छन् । ८ करोड ९२ लाखको लागतमा निर्माण हुने उक्त विद्यालय भवनको निर्माण २२ महिनामा सम्पन्न गर्नु सम्झौतामा उल्लेख भएको छ ।


स्वच्छन्द निर्माण सेवाले भवन निर्माणको जिम्मेवारी पाएको छ । ३१ वटा कक्षा कोठा हुने उक्त विद्यालमा ६ सय ५६ विद्यार्थी छन् । २०२४ सालमा स्थापना भएको विद्यालयमा शतप्रतिशत आदिवासी जनजातिका छात्रछात्रा अध्ययन गर्छन् ।


जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत मकवानपुरमा ४१ वटा विद्यालय भवन निर्माण भइरहेका छन् । भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालय जाइकाले पुनर्निर्माण गर्न लागेको हो । तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न भइसकेको छ ।


जिल्लाको जेठो महेन्द्र माविको पुनर्निर्माणसहित जाइकाको सहयोगमा मकवानपुरका वाग्मती गापाको देवकी मावि, कैलाश गापाको तिलेश्वर प्रावि, हेटौंडा बसामाडीको गणेश प्रावि, कैलाश गापाको कमलादेवी माविलगायत ७ वटा स्कुलका भवन करिब २० करोडको लागतमा पुनर्निर्माण भइसकेको शिक्षा कार्यान्वयन इकाईका इन्जिनियर सञ्जीव पुडासैनीले बताए ।


जाइकाले थाहा नपा ११ को वागेश्वरीसहित थप ३४ वटा विद्यालय भवनको पुनर्निर्माण सुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहा नगरपालिकामा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, वाग्मती, मनहरी र राक्सिराङ गाउँपालिकाका गरी ३४ विद्यालय भवनको पुनर्निर्माण सुरु गरिरहेको छ ।


प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माणको थालनी गरेको छ । त्यसमध्ये २ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । तीनवटा निर्माणाधीन अवस्थामा छन् । एस्थर बेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालय भवन बनाउने जिम्मा लिएको थियो ।


त्यसमध्ये ७ वटा भवनको पुनर्निर्माण गरिसकेको छ । तीनवटा पनि निर्माणाधीन अवस्थामा छन । भारतीय राजदूतावासले ३ वटा विद्यालय भवनको पुनर्निर्माण गर्ने जिम्मा लिएको २ वटा स्कुलको भवनको निर्माण सम्पन्न भइसकेको छ । एउटाको पनि निर्माण अन्तिम चरणमा पुगेको छ ।


यही गतिमा निर्माण भए मकवानपुरका विद्यालयको पुनर्निर्माण आगामी ०७७ सालसम्म सम्पन्न हुने अनुमान गरिएको छ ।

प्रकाशित : पुस ९, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?