२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

गोरु महँगिए, ट्याक्टरै सजिलो

कृष्ण थापा

नुवाकोट — गोरु महँगो हुन थालेपछि कृषकहरूले खेतबारी जोत्न ट्याक्टर किन्न थालेका छन् । विदुर नगरपालिका ३ माझगाउँका ३८ वर्षीय श्रीकृष्ण अधिकारी खेत बाँझो रहन थालेपछि गोरुको सट्टा मिनी टिलर (सानो ट्याक्टर) किनेका छन् ।

गोरु महँगिए, ट्याक्टरै सजिलो

‘खेत बाँझो रह्यो,’ उनले भने, ‘गाउँमा गोरु पाउनै मुस्किल पर्‍यो ।’ उनको २३ रोपनी खेतमध्ये ४ रोपनीमा आलु, तोरी र जैघाँस लगाएका छन् । १९ रोपनी खेत बाँझै छ । चैत–वैशाखमा मात्रै मकै र त्यसपछि धानखेती गर्दै आएको उनले बताए ।


‘दिनभरि एक हल गोरुले १ रोपनी खेत जोत्छ,’ उनले भने, ‘एक हल गोरुको एक दिनको ज्याला २ हजार ५ सय रुपैयाँ पर्छ ।’ टोलभरिमा जम्मा ३ हल गोरुमात्र भएकाले पालो पर्खनुपर्ने उनले बताए । ‘ट्याक्टर भएपछि जुन बेला पनि जोतेर बाली लगाउन पाइयो,’ उनले भने । त्यसैगरी कल्याणपुर भेडीस्वाँराका ५५ वर्षीय टेकबहादुर सिन्टुङ मगरको १३ रोपनी जग्गा छ ।


उनले केही वर्ष अघि गोरु पालेर खेतीपाती गर्थे । अहिले उनले गोरु पाल्न छाडे । छिमेकको गोरु ल्याएर खेती गर्दै आएको उनले बताए । उनले ४ रोपनीमा साग, काउली खेती गरेका छन् । ५ रोपनी खेत र ८ रोपनी पाखोबारी छ । उनको ९ रोपनी जग्गा बाँझो छ ।’ उनको ठाउँमा एक हल गोरुले जोतेबापत १५ सय रुपैयाँ ज्याला तिर्नुपर्छ ।


‘ट्याक्टर भए बिहान–बेलुका जतिखेर चलाएर जोते पनि भयो,’ उनले हाँस्दै भने । उनी विनपा १३ का स्थानीय कृषक हुन् । उनी लगायत २६ जना कृषकलाई विदुर नगरपालिका कृषि शाखाले मिनी टेलर (सानो ट्याक्टर) वितरण गरेको छ । उनीहरूलाई विनपाले ५० प्रतिशत अनुदान छुटमा प्रदान गरेको हो ।


त्यसैगरी १५ जना कृषकलाई मकै छोडाउने मेसिन ५० प्रतिशत अनुदान छुटमा दिएको छ । उनीहरूलाई विनपा प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता दाहाल अर्याल र प्रशासकीय अधिकृत सुदेव पोखरेलले ट्याक्टर हस्तान्तरण गरेका थिए ।

प्रकाशित : पुस ९, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?