खोला फर्काउँदै संरचना

आफ्नो जग्गा जोगाउने बहानामा खोला अर्कातिर फर्काउने चलनले दुवै किनारमा विनाश

रामेछाप — रणजोर खोलाको बहाव परिवर्तन गरी गरी स्थानीयले मनलाग्दी पक्की संरचना निर्माण र सामग्री थुपार्ने थालेका छन् । नापीको बेला सानो क्षेत्रमा बग्ने उक्त खोला अहिले आसपासको खेतीयोग्य जमिन बगाएर क्षेत्र विस्तार गरेको छ ।

खोला फर्काउँदै संरचना

खोलाले बगाएर बगर बनाएको नाप नक्साबमोजिम आफ्नो जग्गा संरक्षण गर्ने नाममा रणजोरमा पछिल्लो समय बेथिति बढेको हो । कानुनबमोजिम खोला र नदीले उकासेको जग्गा व्यक्तिको हुँदैन । विगतदेखि नै रणजोरको बगरको ढुंगा उठाउँदा राज्यले कर लिएकाले पनि उक्त खोला क्षेत्र व्यक्तिको हकभोगमा नहरेको दाबी स्थानीय तहको छ ।


आसपासका जग्गा जोगाउनका लागि विगतमा रणजोर किनारमा तारजाली पर्खाल जथाभावी लगाउँदा खोलाले क्षेत्र विस्तार गर्दै गएको छ । आफ्नो जग्गा जोगाउने बहानामा खोला अर्कातिर फर्काउने चलनले दुवै किनारमा खोलाले विनाश गर्दै आएको हो ।


त्यसैगरी खोलाको बगरमा जथाभावी माटो थुपार्ने कार्यलाई नरोक्दा खोलाको सतह हरेक वर्षमाथि उकासिरहेको छ । दशकअघि स्थानीय प्रशासनले खोलाको बगर उकास्ने गरी माटो थुपार्ने कार्य निषेध गरेको थियो । प्रशासक फेरिएपछि फेरि माटो थुपार्न थालिएको हो ।


पछिल्लो पटक पुष्पलाल सडक र पुलसमेतलाई असर पुग्ने गरी रणजोर पुलभन्दा कही पूर्वतर्फ पक्की कंक्रिटको छेकाबार लगाउन थालिएको छ । यस प्रकारको पक्की संरचना बनेको पहिलो हो । खोलाको बहावलाई सिधै अवरोध गर्ने गरी बनाइएको उक्त संरचनाको निर्माण कार्य रोक्न सम्बन्धित निकायले चासो दिएका छैनन् ।


उक्त संरचना निर्माणका लागि कुनै निकायबाट स्वीकृत पनि लिइएको छैन । खोलाको बहाव अर्कोतिर जाने गरी बनाइएको उक्त संरचनाका कारण सबैभन्दा ठूलो असर जिल्ला सदरमुकाम जोड्ने पुल र सडकलाई पर्छ । भोलिका दिनमा बाढीले सडकमा क्षति पुग्ने र पुल खोलामा नभई दक्षिणतर्फ पर्ने भय बढेको स्थानीयको गुनासो छ ।


जल उत्पन्न प्रकोप विभागले रणजोर खोलालाई रणनैतिक रूपमा रोकथाम गर्नका लागि गुरुयोजना बनाएको थियो । तर उक्त योजना हालसम्म कार्यान्वयनमा आएको छैन । खोलाको दुवैतिर पक्की छेकाबार लगाई क्यानल बनाएर दोभानसम्म पुर्‍याउन सके रणजोरले गर्दै आएको विनाश कम हुन सक्ने स्थानीय राजकुमार श्रेष्ठले बताए ।


मन्थली नगरपालिकाले दुई वर्षदेखि रणजोर पुलभन्दा केही तलको भागमा खोलाको बहावलाई क्यानलमा हाल्ने गरी काम गरेको थियो । सानो स्केलमा भएकोले उक्त कार्यले सोचेको उपलब्धि आएको छैन । ‘रणजोरलाई विस्तृत योजना बनाएर काम गर्नुपर्ने देखियो,’ मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत भन्छन्, ‘सानो लगानीले प्रतिफल दिने कुरा असम्भवजस्तै छ ।’

प्रकाशित : पुस ६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?