साततले दरबारको पुनर्निर्माण हुँदै

नुवाकोट — पुरातात्त्विक सम्पदा साततले दरबारको मार्चदेखि पुनर्निर्माण थालिने भएको छ । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको साततलेसहित आधा दर्जन पुरातात्त्विक सम्पदा छन् । 

ती सम्पदाहरूको पुनर्निर्माण फागुन तेस्रो साताबाट सुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली बताए । ‘फेब्रुअरीमा चिनियाँ नयाँ वर्ष पर्छ,’ उनले भने, ‘मार्चपछि पुनर्निर्माण सुरु हुन्छ ।’


पुनर्निर्माण प्राधिकरणको दुई वर्षको अवधिभित्रमा नुवाकोटका सबै पुरातात्त्विक सम्पदाहरूको पुरानै स्वरूपमा निर्माण भइसक्ने सीईओ ज्ञवालीले बताए । ‘प्राधिकरणको दुई वर्ष छ,’ उनले भने, ‘त्यस अवधिमा सबै बनिसक्छन् ।’


चीनले साततल्लेको विस्तृत सर्भे डिजाइन डीपीआर अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । यसअघि चीन सरकारले साउन, त्यसपछि भदौमा चिनियाँ प्राविधिक टोलीले द्रोण उडाएर प्राविधिक काम सकेको थियो । त्यसपछि चिनियाँ राजदूत यु होङको टोलीले दरबारको अवलोकन गरे । त्यति बेला कात्तिक–मंसिरसम्ममा काम थालनी गर्ने भनिए पनि कामको सुरुवात भएन ।


चीन सरकारले पुनर्निर्माण गर्ने सम्पदाहरूमा साततले दरबारलगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर छन् । गुरुयोजना बनाएर पुनर्निर्माणको काम थालिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


‘पुनर्निर्माणको काम र गुरुयोजनाको योजनासँगसँगै गरिनेछ,’ सीईओ ज्ञवालीले भने । गुरुयोजना बनाउँदैमा पुनर्निर्माणको काममा असर नपर्ने उनले बताए । पुनर्निर्माणको प्राथमिकता साततल्ले दरबार परेको छ । ‘पहिलो प्राथमिकता दरबार हो,’ सीईओ ज्ञवालीलले भने, ‘त्यसपछि एकैसाथ मन्दिर र अन्य बनाउँदै जान्छौँ ।’ पुरातात्त्विक महत्त्व बोकेको जिल्लाको ठूलो शक्तिपीठ नुवाकोट भैरवी मन्दिरमा भइरहेको ढिलाइप्रति उनले चासो लिए ।

प्रकाशित : पुस ३, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?