मन्त्रीलाई माग नै माग

नगेन्द्र अधिकारी

काभ्रे — चौरीदेउरालीस्थित स्वर्णिम सरस्वती युवा क्लबको कार्यक्रममा पुगेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्थानीय सरस्वती माविले ज्ञापनपत्र बुझायो ।

ज्ञापनपत्रमा कक्षाकोठा भवन अपुग भएकाले १० कोठे भवन निर्माणमा सहयोग, विद्यार्थी र शिक्षकका लागि आवासको व्यवस्था, प्राविधिक शिक्षाको कक्षा सञ्चालनका लागि प्रयोगशालाको माग रहेका छन् । विद्यालयले एक सय वटा कम्प्युटर, हाइस्पिड इन्टरनेट र मन्त्रालयमार्फत प्रविधि तालिमको पनि माग गरेको छ ।

कार्यक्रममा आयोजकदेखि जनप्रतिनिधिसम्मले मन्त्री बाँस्कोटासँग विभिन्न मागहरू राखे । आयोजक क्लबका अध्यक्ष दीपक गौतमले बाटो दुरावस्था चित्रण गर्दै पिच गरिदिन अनुरोध गरे । ‘मन्त्रीहरू आउने भनेर २ दिनअघि मर्मत गरेको बाटोको अवस्था यहाँ आउने मन्त्री लगायतका अतिथिले देखिहाल्नुभयो होला,’ उनले भने, ‘गाउँपालिकाको कमान्डरलाई साक्षी राखेरभनेको छु, यहाँको बाटोका लागि संघीय सरकारले केही गरोस् ।’ ४ नं वडा अध्यक्ष सुरेश लामाले पनि बाटोको नै समस्या राख्दै समाधान गरिदिन मन्त्रीलाई अनुरोध गरे ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष दीनानाथ गौतमले आफ्नो पालिकाका सबै स्थानमा मोबाइल नेटवर्क नदिने भन्दै समस्या समधान गरिदिन अनुरोध गरे । ‘गाउँपालिकाका सबै होचोअग्लो स्थानमा मोबाइल टिप्दैन,’ उनले भने, ‘टावर थपेर सहज गराइदिन र विद्यालयहरूमा ई–क्लासको व्यवस्था गरिदिन अनुरोध गर्दछु ।’

सबै वक्ताले केही न केही अपेक्षा गरेपछि काभ्रे क्षेत्र नं २ का सांसदसमेत रहेका मन्त्री बाँस्कोटाले आफ्नो मन्तव्यमा तिनलाई सम्बोधन गरे ।

‘१ वर्षभित्रमा भवन बन्नेछ, २४ वटा कम्प्युटर यो विद्यालयले पाउँछ,’ मन्त्रीले आश्वासन दिए, ‘अरू स्थानमा पनि इन्टरनेट विस्तार गर्दा यो विद्यालयमा पनि पाउँछ ।’ उनले बाटोका लागि बजेट छुट्टिएको भन्दै क्रमश: विकास हुँदै जाने बताए । ‘काभ्रेका धेरै योजनामा बजेट छुट्टिएर आएका छन्,’ मन्त्री बाँस्कोटाले भने, ‘विकास एकैपटक फ्याट्ट हुने कुरा पनि हैन, यो विस्तारै हुने कुरा हो ।’

प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र प्रदेशसभा सदस्य रत्न ढकालले पनि बाटो, खानेपानी लगायका योजनामा संघ र प्रदेशबाट बजेट छुट्टिएको भन्दै क्रमश: विकास हुने दाबी गरे ।

प्रकाशित : पुस १, २०७५ ०९:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रशोधित महको माग बढ्यो

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी
प्रताप विष्ट

हेटौंडा — मकवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले उत्पादन गरेको अर्गानिक मह प्रशोधनसहित बजारमा बिक्री हुन थालेको छ । विगतमा प्रशोधन नगरी बिक्री गरेको थियो ।

सीसीडीएन नामक एक गैरसरकारी संंस्थाले करिब ६५ लाख मूल्य पर्ने मह प्रशोधन मेसिन उपलब्ध गराएपछि बजारमा अर्गानिक प्रशोधित मह बिक्री हुन थालेको हो ।

चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिका ६ र ७ अर्थात् साविकको काँकडा गाविसमा स्थापना गरेको जनचेतना साना किसान सहकारी संस्थालाई उक्त गैरसरकारी संस्थाले मह प्रशोधन मेसिन सहयोग गरेको हो । लोथरको महादेवटारमा रहेको उक्त मेसिनबाट चार हजार केजी मह प्रशोधन गरेर बिक्री गरिसकेको सहकारी अध्यक्ष दिनेश चेपाङले भने, ‘चिउरीको अर्गानिक प्रशोधित महको व्यापक छ ।’

चेपाङ गाउँमा उत्पादन गरेको प्रशोधित महको माग मात्र छैन, बढी मूल्यमा बिक्री पनि हुने गरेको छ । प्रशोधित मह अहिले प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । ‘गत वर्ष अप्रशोधित मह प्रतिकेजी ३ सय रुपैयाँमा बिक्री गरेका थियौँ,’ सहकारी अध्यक्ष एवं मह बिक्रेता दिनेश चेपाङले भने, ‘अहिले कृषकसँग प्रतिकेजी ३ सय साढे तीन सय रुपैयाँमा लिएर ५ सय रुपैयाँमा बिक्री गरेका छाैं ।’ मह बिक्री नगर्ने प्रशोधन गर्न आउने जोकोहीलाई पनि प्रतिकेजी १० रुपैयाँ शुल्क लिएर प्रशोधन गर्ने गरिएको छ ।

मकवानपुरको काँकडा क्षेत्रमा उत्पादित चिउरीको अप्रशोधित महको माग राम्रै थियो । प्रशोधित गरेपछि माग झन् बढेको छ । यहाँ प्रशोधित मह काठमाडौंस्थित हिमालयन हनी सप्लार्यस्ले खरिद गरेको छ । यहाँ उत्पादित महको विगतका वर्षदेखि नै हनी सप्लार्यस्ले गर्दैै आएको छ ।

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी गरिएको छ । ‘छिट्टै नै यो काम हुन्छ,’ वडाध्यक्ष सिंहबहादुर चेपाङले भने, ‘अर्गानिक मह उत्पादन क्षेत्र घोषणा गर्न मापदण्ड पुगिसकेको छ ।’ यो सरकारी निकायबाट नै घोषणा गर्ने तयारी भइरहेको उनले बताए ।

राक्सिराङ गाउँपालिका—६ साविकको काँकडा गाविस—१ सिलिङेका कृषकले खेतबारीमा विषादी र रासायनिक मल प्रयोग गर्दैनन् । खेतवारीमा हालेको विषादीका कारण स्थानीय मौरी मर्ने भएकाले विषादी प्रयोग गर्न रोक लगाएको वडाध्यक्ष सिंहबहादुर बताए । ‘मौरीको संरक्षण गर्न र अर्गानिक मह उत्पादन गर्ने उद्देश्यले फलफूल र तरकारीलगायत कुनै पनि बालीमा रासायनिक मल र विषादी प्रयोग गर्न रोक लागएका हौं,’ उनले भने ।

चिउरीको रसको मह गुणस्तरयुक्त हुँदाहुँदै पनि अर्गानिक मह उत्पादन गर्नका लागि स्थानीयबासीले विषादी प्रयोग गर्न छाडेका छन् । महको आम्दानीबाट हौसिएका उक्त क्षेत्रका बासिन्दाले गत वर्षदेखि बाहिरका मौरीपालकलाई मौरी चराउन ल्याउन रोक लगाएका छन् । गत वर्ष स्थानीयबासीले नै ५ हजार मौरीका घार राखेका थिए । अहिलेको वर्ष पनि त्यसकै हाराहारीमा राखेका छन् ।

‘अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा परिचय बनाउनका लागि यस क्षेत्रका बासिन्दाले फलफूल, तरकारीलगायत कुनै पनि बालीमा विषादी प्रयोग गर्दैनन्,’ प्रदेश ३ का भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका कृषिविज्ञ निर्मल गदालले भने, ‘विशेष गरी स्थानीयबासीले आफ्नै पहलमा विषादी छर्न रोक लगाएका हुन् ।’

विषादी प्रयोग गरेर हुर्काइएको बालीनाली र तरकारीको फूलमा रस चुस्न आएका मौरी मरेको देखेर सिलिङेबासीले विषादी प्रयोग गर्न छाडेका हुन् । स्थानीयबासीले चिउरीका रूखको संरक्षण र जंगलमा चिउरीका बिरुवाहरू रोपिएका छन् । गत वर्षदेखि चिउरीको नर्सरी पनि राखिएको छ ।

नारायणघाट—हेटाैंडा सडक खण्डको लोथरबजारबाट ४ घण्टा हिँडेर पुगिने सिलिङेमा कात्तिकदेखि फागुन पहिलो सातासम्म मौरीको घार राख्ने गरिन्छ । चिउरीका फूललाई लक्ष्य गरेर पाँच हजारभन्दा बढी मौरीका घारहरू राख्ने गरिन्छ । चिउरीको जंगल नै रहेको सिलिङेका बासिन्दाहरूको आम्दानीको स्रोत नै मह र चिउरीको घ्यू हो ।

विगतमा मुढेघारमा स्थानीय सेरेना जातको मौरीपालन गरेर २/४ किलो मह बिक्री गर्दै आएका सिलिङेका चेपाङहरू अहिले ५० केजीदेखि २ हजार केजीसम्म मह बिक्री गर्ने भइसके । राक्सिराङ गापाको कृषि विकास शाखा संयोजक रामेश्वर राय यादवले भने, ‘उक्त क्षेत्रका चेपाङहरूले व्यावसायिक ढंगले मौरीपालन गर्न सुरु गरेका छन् ।’

विगतमा चिउरीका रसको मह उत्पादन गर्ने उद्देश्यले चितवन, हेटौंडा, काठमाडाैं र सर्लाहीबाट कृषकहरूले मौरी चराउन काँकडाको सिलिङेका विभिन्न बस्तीमा ल्याउने गर्थे । बर्सेनि मंसिरको पहिलो सातादेखि फागुनको पहिलो सातासम्म ३ हजारभन्दा बढी मौरीका घारहरू यहाँ ल्याउने गरिन्थ्यो ।

चिउरीको मह यहाँका चेपाङहरूले भरियाको रूपमा बोकेर लोथर पुर्‍याउने गर्थे । बाहिरबाट मौरी चराउन ल्याउने कृषकले बर्सेनि ५ लाखदेखि १५ लाख रुपैयाँसम्म मह बिक्री गरेर आम्दानी गर्थ्ये। तर गत वर्षदेखि यस क्षेत्रका विशेषगरी चेपाङ समुदायले बाहिर जिल्लाका मौरीपालक कृषकलाई यहाँ मौरी चराउन ल्याउन रोक लगाएर आफैंले नै मौरीपालन व्यवसाय सुरु गरेका हुन् ।

यस क्षेत्रका चेपाङ लगायत स्थानीयलाई तत्कालीन कृषि विकास कार्यालय मकवानपुरले आधुनिक ढंगले मौरीपालन गर्न सीप सिकाउनुको साथै आधुनिक घारहरू मौरीसहित उपलब्ध गराएपछि यहाँका बासिन्दाहरूले मुढेघारलाई विस्थापित गरेर आधुनिक घारमा मौरी पाल्न थालेका हुन् ।

बाहिरबाट मौरी चराउन ल्याउने कृषकलाई पूर्णरूपमा रोक लगाएका छन् । ‘गत वर्षदेखि बाहिरबाट मौरी चराउन ल्याउन पूर्ण रूपमा रोकेका छौं,’ वडाध्यक्ष चेपाङले भने, ‘स्थानीयबासीले व्यावसायिक रूपमा मौरीपालन सुरु गरेका मात्र छैनन्, मनग्ये आम्दानी लिन थालिसकेका छन् ।' चिउरीको रसबाट बनेको मह गुणस्तर र स्वास्थ्यवर्द्धक हुने भएकाले चिउरीको मह ग्राहकहरूले खोजीखोजी खरिद गर्ने गरेका छन् । राक्सिराङ गाउँपालिका ६, ७ र ८ नम्बर वडा अर्थात् साविक काँकडा गाविसमा १ लाखवटा भन्दाबढी चिउरीका रूख छन् ।

प्रकाशित : पुस १, २०७५ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT